कांग्रेस गण्डकी प्रदेश निर्वाचनमा मतदान सकियो, खस्यो ११४६ मत

समाधान संवाददाता २०७८ मंसिर १८ गते १७:४१

पोखरा ।
नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा मतदान सकिएको छ । बिहान करिब १० बजे सुरु मतदान अपराह्न सकिएको हो ।
अधिवेशनमा १ हजार १६५ प्रतिनिधि मतदाता थिए । तीमध्ये १९ जना उपस्थित भएनन् । १ हजार १४६जनाले मात्रै मतदान गरेका छन् । केही बेरमा उमेदवारहरूसहितको बैठक बसी मतगणना प्रक्रिया अघि बढाइने भएको छ ।

Advertisement


प्रदेश सभापति पदका लागि अर्जुनप्रसाद जोशी र शुक्रराज शर्मा उम्मेदवार छन् । जोशीले संस्थापन र शर्माले संस्थापनइतर समूहबाट उमेदवारी दिएका हुन् ।

२ उपसभापतिमा मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीको उम्मेदवारी परेको छ । श्रेष्ठ प्रदेश सरकारका सामाजिक विकास मन्त्री हुन् । उपसभापति २ जना हुने कांग्रेस विधानको व्यवस्था छ । महत म्याग्दीका हुन् भने हरिप्रसाद श्रेष्ठ बागलुङका । तिवारी वालिङ नगरपालिकाकी उपमेयर हुन् ।


महामन्त्रीमा प्रदेशको भौतिक मन्त्रीसमेत रहेका कुमार खड्काले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । २ जना महामन्त्रीका लागि ४ जनाको उम्मेदवारी परेको हो । विष्णुप्रसाद लामिछाने, ईश्वर पाण्डे र किरणबाबु श्रेष्ठ पनि महामन्त्रीका उम्मेदवार छन् । महामन्त्री उम्मेदवार लामिछाने नवलपुर कांग्रेस सभापति हुन् । उनी गण्डकी प्रदेश सभा सदस्य छन् । ईश्वर पाण्डे गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष हुन् भने किरणबाबु श्रेष्ठ पनि गोरखाकै हुन् ।


अधिवेशनको दोस्रो दिन शुक्रबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो । शुक्रबार ३ बजेसम्ममा सबै पदका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सहमहामन्त्री महिला १ जनाका लागि ओमकला गौतम र कोपिला रानाभाटको उम्मेदवारी परेको छ । गौतम प्रदेश सभाकी सदस्य हुन् भने रानाभाट नेपाल महिला संघकी नेतृ हुन् । खुलाबाट सहमहामन्त्रीमा २ जनाका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । राजनराज पन्त, झुलबहादुर आले, युवराज बस्ताकोटी, रामचन्द्र जोशी, रमेशकुमार पाण्डे र गणेश सापकोटाको उम्मेदवारी सहमहामन्त्रीका लागि परेको छ ।
शुक्रबार साँझ अबेर सापकोटाले भने उम्मेदवारी फिर्ता लिई शुक्रराज शर्मा प्यानलका सहमहामन्त्रीलाई सघाउने बताएका छन् । शनिबार बिहान ८ देखि ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रदेश समिति निर्वाचनमा १ हजार २ सय हाराहारी मतदाता छन् ।

Advertisement


११ जिल्लाबाट महिलामा ११ जना निर्वाचित हुनुपर्नेमा १८ को उम्मेद्वारी छ भने ११ जना नै निर्वाचित हुने खुलामा १९ जनाको उम्मेद्वारी परेको छ । दुवै पदमा मनाङबाट कसैले पनि उम्मेद्वारी दिएनन् । मुस्ताङ र तनहुँका दुवै पदमा सर्वसम्मत भएका छन् ।


४ जना निर्वाचित हुने प्रत्यक्ष महिलामा ७ जनाको उम्मेद्वारी छ भने ८ जना निर्वाचित हुने खुला प्रत्यक्षमा २६ जनाले मनोनयन दर्ता गराएका छन् । ४ जना निर्वाचित हुने खस आर्य महिलामा ९, ४ जना नै निर्वाचित हुने खस आर्य खुलामा १५ जनाको मनोनयन परेको छ ।


५ जना निर्वाचित हुने आदिवासी जनजाति महिलामा १०, ५ जना नै निर्वाचित हुने आदिवासी जनजाति खुलामा १०, १ जना निर्वाचित हुने मधेसी कोटामा २, २ जना निर्वाचित हुने दलित महिला कोटामा ३, २ जना नै निर्वाचित हुने दलित खुलामा ४ जनाको मनोनयन परेको छ । १ जनाको कोटा रहेको थारूमा २ जना, १कोटा रहेको मुस्लिममा २ तथा १ जनाको कोटा रहेको अपांग अल्पसंख्यकमा ५ जनाले मनोनयन दर्ता गराए ।

पौडेल प्यानल
सभापतिः शुक्रराज शर्मा
उपसभापतिः हरिप्रसाद श्रेष्ठ
उपसभापतिः कल्पना तिवारी
महामन्त्री : विष्णुप्रसाद लामिछाने
महामन्त्री : किरणबाबु श्रेष्ठ
सहमहामन्त्री: कोपिला रानाभाट
सहमहामन्त्रीः रामचन्द्र जोशी
सहमहामन्त्रीः रमेश पाण्डे

देउवा प्यानल
सभापति : अर्जुन जोशी
उपसभापतिः मेखलाल श्रेष्ठ
उपसभापतिः नेत्रबहादुर महत
महामन्त्रीः कुमार खड्का
महामन्त्रीः ईश्वर पाण्डे
सहमहामन्त्रीः ओमकला गौतम
सहमहामन्त्रीः झुलबहादुर आले
सहमहामन्त्रीः राजनराज पन्त

तपाईको प्रतिक्रिया