अक्षरमा समेटिएको देश

उदीपराज ढुंगाना २०७८ माघ २३ गते १६:४१


उदीपराज ढुंगाना


जसले जेसुकै भने पनि संसारमा सबैभन्दा सुन्दर कुरा जन्म हो । जन्मपछि हुने अनेक उतारचढावको भकारी नै जीन्दगी हो । जीन्दगीका १९ सुन्दर वर्षको साधनापछि विशेषतः गलजकार तथा लघुकथाकारको रुपमा आफ्नो विशिष्ट छाप छोड्न सफल साहित्यकार दीपक समीपले अक्षर अक्षरमा देश मुक्तक सञ्चयन बजारमा ल्याएका छन् । कोरोना कहरले समग्र साहित्य नै सुस्ताएका बेला नेपाली साहित्यको छोटो एवं प्रसिद्ध विधा मुक्तकको पुस्तक प्रकाशन हुनु समग्र नेपाली साहित्यका लागि नै फलदायी कुरा हो । अझ मुक्तकको उर्वरभूमि पोखरामा यसले छुट्टै महत्व राख्छ ।


२ लाइनदेखि ७/८ लाइनका छोटा रचनालाई विगतमा मुक्तक भन्ने गरिन्थ्यो । भीमदर्शन रोक्काबाट आधिकारिक रुपमा सुरुवात भएको मानिएको चार लाइनका तुक मिलेका रचनालाई अधिक साहित्यकारले मुक्तक मान्दै आएका छन् । भीमदर्शन रोक्कासँगै सिद्धिचरण श्रेष्ठ, भूपी शेरचन, हरिभक्त कटुवाल साथै कृष्णप्रसाद पराजुलीको पछिल्लो बिरासतको रुपमा मुक्तककार यो सञ्चयनमा प्रस्तुत भएका छन् । उसो त पोखराका २, ४ जना साहित्कारलाई छोड्ने हो भने समग्र पोखराले चतुष्पदीय संरचनालाई मात्र मुक्तकका रुपमा स्वीकारेको छ । मुक्तक मञ्च पोखराले ०७० को सुरुमा गरेको मुक्तक सम्मेलनले सोही प्रकृतिको घोषणपत्र नै जारी गरेको छ ।

Advertisement

पोखराको गजलको मानक व्यक्तित्व बनेका दीपक समीपको मुक्तक संग्रह ढिलो आए पनि दुरुस्त आएको छ


अक्षर अक्षरमा देश मुक्तक सञ्चयनमा १ सय १ मुक्तक संगृहित छन् । प्रेम, घृणा, मिलन, बिछोडसँगै देश, माटो, राजनीतिक खिचातानी, निराशा, समाज, जीवनका आरोह अवरोह लगायतका विषयवस्तु मुक्तककारले रोजेका छन् । समग्र मुक्तक सञ्चयनलाई हरेक कोणमा राखेर विवेचना गर्दा एउटा सन्तुलित संग्रहको रुपमा पाउन सकिन्छ । लेखकले जिएको प्रेम र समाजलाई मुक्तकमार्फत सरल रुपमा प्रस्तुत गरेका छन् । अक्षर अक्षरमा देशमा मुक्तककार प्रेमका हरेक क्षेत्रमा छताछुल्ल छन् । एकादुई मुक्तकलाई छोड्ने हो भने प्रेम र जीवन दर्शनका बिषयमा लेखिएका मुक्तक विचार, संरचना, भाव र मुक्तकको न्यूनतम सिद्धान्तमा खरो रुपमा उत्रिएको देखिन्छ । प्रेमसँग सम्बन्धित मुक्तकको अन्त्य आल्हदित रुपमा गरिएको छ ।

Advertisement


पासो नै सही उनको प्रेममा अल्झिने रहर छ
छ न त यो जुनीभरि उनीसँगै जोडिने रहर छ
अरे कोही त आऊ मलाई सहिद बनाईदेऊ
उनकै घरअगाडि सालिक भई उभिने रहर छ ।


मुक्तकमा समय र समाज साथै सरल रुपमा मानवीय चरित्र, विकृति, विसंगतिलाई चित्रण गरिएको छ । सञ्चयनमा केही प्रणय भावका मुक्तक पनि छन्् । जिन्दगी र सम्बन्धदेखि भएका आशा, निराशा तथा घाप्रतिघात पनि मुक्तकको रुपमा आएका छन् । जुन मुक्तकमा प्रहारात्मक क्षमता स्तरीय छ ।


यहाँ मनका मानाहरु छन्, पाथी पनि छन्
सम्बन्ध तिनका तलदेखि माथि पनि छन्
कसलाई पो विश्वास गर्ने असमञ्जसमा छु
अंगालो मार्दै छुरा धस्ने साथी पनि छन्

न भेटियो केही खोजेको जस्तो
न पाइयो मनले रोजेको जस्तो
जीवन भन्नु पनि सम्झौतै रहेछ
न त भो जिन्दगी सोचेको जस्तो


मुक्तककारले कही मुक्तकमा सटिक र चोटिला बिम्बको प्रयोग छ । जसले आम पाठकलाई तरंगित बनाउँछन् । देशको वर्तमान परिपे्रक्ष्यमा यो र यी खालका मुक्तकको छुट्टै महत्व छ । देशको घटनाक्रम हेर्दा भविष्यमा पनि रहिरहनेछ भन्ने कुरामा दुई मत नरहला ।


कसैलाई जिन्दावाद, कसैलाई मुर्दावाद भन्नुपर्छ
आफ्नो विचार इतरकाहरुलाई झारपात गन्नुपर्छ
नेता जुट्दा जुट्नुपर्ने फेरि नेता फुट्दा फुट्नुपर्ने
टाउको भएकै कार्यकर्ता नि यहाँ मुर्कट्टा बन्नुपर्छ ।


मुक्तकमार्फत मुक्तककारले देश बोलेका छन् । देशप्रतिको चिन्ता अधिक रुपमा आएको छ । देशमा देखिएको विसंगति, विकृति पनि समेटिएको छ । देशमा व्यव्स्था परिवर्तन भएर पनि आम नेपालीको अवस्था परिवर्तन नभएका गुनासा पनि छन् ।


बाच्छो हुर्काउला र गोरु बनाउँला भन्थेँ बहरमै बित्यो
त्यसको कमाईले दुई छाक खाउँला भन्ने रहरमै बित्यो
देशमा गणतन्त्र आयो भनेर खुसी मनाउँदै थिएँँ
विडम्बना गाउँमा नआई गणतन्त्र सहरमै बित्यो


बा र छोरा हुनुको कर्तव्यबोध, सोह्र वर्षे आशक्ति, चालिस वर्षे प्रेम, बाँचेको जीन्दगी, लगायतका यावत कुरा पनि संग्रहमा समेटिएका छन् । मुक्तककार अनुप्रास प्रयोगको बिषयमा धेरै हदसम्म सर्तक छन् । मुक्तक कविताको छोटो रुप हो भनिने पुरानो कथन र गजलको छोटो रुप हो भनिने नयाँ कथनलाई मुक्तककारले मुक्तकमार्फत सहज रुपमा उच्च कोटिको जवाफ दिएका छन् ।


संग्रहमा रहेका केही मुक्तक सरसर्ती पढ्दा सन्तुलित लागे पनि खोटबाट मुक्त भने छैनन् । संरचनागत रुपमा कतै पनि कमजोरीको रुपमा लेखकले आफूलाई प्रस्तुत गरेका छैनन् । ४ हरफमा लेखिने मुक्तकमा पहिलोले बिषय उठान, दोस्रोले समर्थन, तेस्रो स्वतन्त्र हुने गर्दछ भने चौथो पंक्तिले मार हान्नुपर्ने उच्च बिषेशता हुनु पर्दछ भन्ने मान्यता रहिआएको छ । यद्यपि लेखक केहि मुक्तकमा सो मान्यताबाट चुकेको भान हुन्छ । अधिक राम्रा मुक्तक हुदाँहुँदै पनि किताबमा १ सय १ मुक्तक पुर्‍याउने ध्याउन्नले गर्दा केही कमसल भावका, अझ भनूँ मार कम हानेका मुक्तक पनि छन् ।


यो सामान्यतया हरेक लेखकमा हुने लेखकीय दोष हो । यसबाट मुक्तककार पनि अछुतो रहन सकेका छैनन् । केही मुक्तकहरुमा अनुप्रासको प्रयोगमा कमजोरी देखिन्छ । जुन हेर्दा मिलेको देखिए पनि वाचन गर्दा नमिलेको भान हुन्छ । लेखकले आधा दर्जन त्यस प्रकारका मुक्तकलाई उच्च माया नगरेको भए अक्षर अक्षरमा देश अझ सुन्दर संग्रह बन्न सक्नेमा दुविधा थिएन ।


पोखराको गजल विकासको एक मानक व्यक्तित्वमा आफ्नो नाम निर्विकल्प कोरेका दीपक समीपको मुक्तक संग्रह ढिलो आए पनि दुरुस्त आएको छ । पुस्तक मुक्तक बुझ्ने र नबुझेने दुबै पाठकका लागि पठनीय, सरल एव संग्रहणीय छ ।


केही रहरले बोलेको छ केही करले बोलेको छ
देशको हरेक अवस्थालाई हाम्रै घरले बोलेको छ
तपाईहरु निर्धक्क अनि निसंकोच भएर पढ्नुहोस्
यो संग्रहमा देश हरेक अक्षर अक्षरले बोलेको छ ।

उदीपराज ढुंगाना

गजलकार ढुंगाना सञ्चारकर्मीसमेत हुन् । 

तपाईको प्रतिक्रिया