भूमि आयोग मुस्ताङ समितिको कार्यालय उद्घाटनसहित शपथ ग्रहण ( तस्विरसहित )


जोमसोम—
राष्ट्रिय भूमि आयोग जिल्ला समिति मुस्ताङको सोमबार कार्यालय उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति मुस्ताङमा समितिको कार्यालय स्थापना गरिएको हो ।
सरकारबाट मुस्ताङका लागि नवनियूक्त भूमि आयोग जिल्ला समिति अध्यक्ष विशन पूर्जाले एक कार्यक्रमकाबीच समितिको कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटनपछि अध्यक्ष पूर्जाले भूमि आयोग जिल्ला समिति मुस्ताङको पदभार ग्रहण गरे । साथै उनले भूमि आयोग जिल्ला समितिमा हालै नियुक्त भएका एक जना विज्ञ सदस्य,एक जना महिला सदस्य र एक जना सदस्य गरी तीन जनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको नापी कार्यालय मुस्ताङका कार्यालय प्रमुख एवं समितिका सदस्य सचिव सुवोध यादवले जानकारी दिए ।

कार्यालय उद्घाटन तथा पदभार ग्रहणपछि समितिका अध्यक्ष पूर्जाले सबैको साथ ,सल्लाह र सहयोग लिएर आफु र आफ्नो टिमले पाएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाए ।अध्यक्ष पुर्जाले भूमि आयोग ऐन २०२१ को जगमा टेकेर त्यसभित्र रहेका कार्यविधिलाई पछ्याएर दलिय स्वार्थ भन्दा माथि उठेर निश्पक्ष भई कार्यसम्पादन गर्ने बताए ।कार्यक्रममा गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले भूमि आयोगले सुम्पिएको काम,कर्तव्य र दायित्वलाई सफलतापूर्वक निर्वाह गर्नुपर्ने बताए । जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले भूमि आयोगको नाममा पटक÷पटक जनतालाई दुःख दिन नहुने उल्लेख गरिन् । पटक÷पटक सरकार परिवर्तन हुँदा जनता समस्यामा पर्ने गरेको उनको भनाई छ ।

भूमि समस्या समाधान आयोगले २०७८ चैत्र १७ गते देशभरका ४३ जिल्लामा आयोगको जिल्ला समिति अध्यक्ष नियूक्त गरेको थियो ।आयोगले जिल्ला अध्यक्ष नियूक्त गरेको एकसातापछि समितिलाई पूर्णता दिएको थियो ।भूमि आयोग जिल्ला समितिको बिज्ञमा सोनाम धोर्जे गुरुङ,महिला सदस्यमा म्याउची घर्ती मगर र धिरेन्द्र ल्वागुन छन् । यसपटक सरकारले नियूक्त गरेको भूमि आयोगको जिल्ला समिति पदाधिकारीमा सबै यूवापुस्ता छन् ।

सरकारबाट नियुक्त भूमि आयोग जिल्ला समितिमा नियुक्त अध्यक्षसहित ४ जना र बिषयगत कार्यालयका ५ जना पदेन सदस्य रहन पाउने प्रावधान छ ।सरकारले भूमि आयोगको काम र जिम्मेवारीलाई सहयोग र आवश्यक समन्वय गर्न जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति,डिभिजन बन कार्यालयका प्रतिनिधिलाई पदेन सदस्यमा राख्ने व्यवस्था गरेको छ । यस्तै नापी कार्यालयका प्रतिनिधिलाई सदस्य सचिव तोकेको छ ।

भूमि आयोग जिल्ला समितिको कार्यालय उद्घाटन तथा शपथ ग्रहण कार्यक्रममा प्रदेश सांसद महेन्द्रबहादुर थकाली,जिसस प्रमुख ÷उपप्रमुख छिरिङ ल्हामो गुरुङ र राजेन्द्र शेरचन,बिषयगत कार्यालयका प्रतिनिधि,विभिन्न पार्टीका पार्टी प्रतिनिधि र पत्रकार लगायतको उपस्थिती रहेको थियो । समितिको पहिलो बैठक समेत भएको जनाईएको छ । बैठकले पछिल्लो कार्यविधि आउन साथ समितिको कामलाई तिब्रता दिने बताएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया