चुनावका लागि ३४ प्रकारका सामग्री

समाधान संवाददाता २०७८ चैत २९ गते १३:५८

२८ जिल्लाका लागि चाहिने ४५ लाख २२ हजार मतपत्र छापिइसकेको छ
काठमाडौं l
आगामी वैशाख ३० शुक्रबार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा हालसम्म २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको छ । निर्वाचन आयोगद्वारा सोमबार आयोजित नियमित पत्रकार भेटमा मुलुकका ७ सय ५३ निर्वाचन अधिकृतले पाउने गरी एक–एकप्रति मतदाता नामावली पठाउने कार्य भइसकेकोसमेत जानकारी दिइयो ।


निर्वाचन आयोगले केन्द्रबाट खरिद गर्नुपर्ने ३८ प्रकारका निर्वाचन सामग्रीमध्ये ३४ प्रकारका सामग्री प्राप्त भई भण्डारण भइसकेको तथा बाँकी सामग्री आउने क्रममा रहेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापना नभएसम्मका लागि स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्ने जिम्मेवारी गृह मन्त्रालयमार्फत सबै जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।


निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन विभिन्न १३ संघ, संस्थासँग निर्वाचन आयोगले प्रतिबद्धता लिएको छ । प्रतिबद्धता जनाउने संघ, संस्थाहरूमा नेपाल नगरपालिका संघ, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल प्राध्यापक संघ, नेपाल यातायात राष्ट्रिय महासंघ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, राष्ट्रिय सहकारी बैंक लि, राष्ट्रिय सहकारी महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, नेपाल विज्ञापन सङ्घ र नेपाल बार एसोसिएसन छन् ।

Advertisement


निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले निर्वाचन आचारसंहिता, २०७८ को प्रभावकारी कार्यान्वयनका लागि सञ्चार जगत र निर्वाचन आयोगबीच समन्वय र अन्तरसम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोगले ७ वटै प्रदेशमा मिडिया अभिमुखीकरण कार्यक्रम गर्ने तयारी भएको छ ।
अभिमुखीकरण कार्यक्रमबाट निर्वाचन आयोगले निर्वाचनसम्बन्धी व्यवस्थाबारेमा सहभागीबीच छलफल तथा अन्तक्र्रिया भई सुधारका लागि महत्वपूर्ण सुझाव प्राप्त हुने, निर्वाचन सञ्चालन तथा व्यवस्थापन पत्रकारको भूमिका, समस्या, अवसर र चुनौतीबारेमा छलफल भई साझा धारणाको विकास हुने विश्वास गरिएको छ । निर्वाचन आचारसंहिता, २०७८ को प्रभावकारी कार्यान्वयनका लागि सञ्चार जगत र निर्वाचन आयोगबीच समन्वय र अन्तरसम्बन्ध स्थापित हुने अपेक्षा आयोगले राखेको छ ।
सञ्चारमाध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्णपालना भए नभएकाबारे अनुगमन गर्न प्रेस काउन्सिल नेपालसँग आइतबार सम्झौता गरिएको छ । काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारले निर्वाचन आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमन गर्नेछ ।


चैत २९ आगामी वैशाख ३ गतेसम्म देशका ७ प्रदेशका ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७ सय ५३ जना निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यलयका प्रमुखका लागि अभिमुखीकरण तालिम÷प्रशिक्षण सञ्चालन हुनेछ । तालिमपश्चात सोही स्थानबाट निर्वाचन अधिकृतलाई नियुक्तिपत्र र आवश्यक सामग्री उपलब्ध हुनेछ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन आगामी वैशाख १ गतेदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ प्रकाशन गर्नेभएको छ । उक्त बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुनेछ ।

Advertisement

आयोगले मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापना नभएसम्मका लागि स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन भएनभएको अनुगमन गर्ने जिम्मेवारी गृह मन्त्रालयमार्फत सबै जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिएकोे छ ।

तपाईको प्रतिक्रिया