कास्की कांग्रेस टोलीलाई देउवाले भने-हतार नगरौं, गठबन्धन नबिच्क्याऊँ

समाधान संवाददाता २०७८ चैत ३० गते २०:४१

पोखरा ।
पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसकै उम्मेदवार बनाउनुपर्ने मागसहित कास्की कांग्रेस टोलीले सभापति शेरबहादुर देउवालाई बुधबार भेटेको छ । पूर्वमन्त्री यज्ञबहादुर थापा नेतृत्व टोलीले देउवालाई भेटेर तथ्य र तथ्यांकका आधारमा पोखराको मेयरमा गठबन्धनबाट कांग्रेसकै उम्मेदवार बनाउनुपर्ने सुझावसहितको माग गरेको हो ।


‘हामीसँग जनमत धेरै छ, धेरै जनमत अर्काे चुनाव चिह्नमा लैजान गाह्रो हुन्छ, बरु थोरै भएको जनमत हाम्रोमा ल्याउन सजिलो हुन्छ भनेर सभापतिज्यूलाई भन्यौं,’ थापाले भने, ‘तर गठबन्धनप्रति प्रतिबद्ध छौं, आकास खसे पनि, धर्ती फाटे पनि गठबन्धनकै पक्षमा हुन्छौं पनि भन्यौं ।’


सभापति देउवाले गठबन्धनलाई बिच्क्याउन नहुने कुरा आफूहरुलाई बताएको थापाले सुनाए । ‘पोखरा महानगर एल्ले लिने, एल्ले नलिने भन्ने नै बहस भएकै छैन, किन हतारिएको,’ देउवाको भनाइ उद्धृत गर्दै उनले भने ।

Advertisement


पूर्वमन्त्री थापा, कास्की सभापति किशोरदत्त बरालसहित नेता, कार्यकर्ता पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिन मंगलबार काठमाडौं गएका थिए । उनीहरुले बुधबार दिउसो सभापति देउवालाई भेट्न पाएका थिए ।


‘उम्मेदवार कांग्रेसभन्दा बाहिर गयो भने चुनाव जितिन्नँ भन्ने कुरा राख्यौंं,’ थापाले भने, ‘बरु उपमेयर र केही वडाध्यक्षहरुमा गठबन्धनका साथीहरुलाई दिन सकिन्छ भन्यौं ।’ कांग्रेसको जनमत धेरै भएको महानगरपालिका पोखरामा माओवादी वा नेकपा एसबाट मेयरको उम्मेदवार बनाएर कांग्रेसका मतदातालाई उनीहरुका चिह्नमा मतदान गर भन्नु अव्यावहारिक हुने कुरा सभापतिलाई राखेको थापाले सुनाए ।

Advertisement


कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा लगायत पार्टीको गठबन्धनले देशभरका ६ वटा महानगरपालिकामा भागबन्डा गरी उम्मेदवार उठाउने भएको छ । कांग्रेसले ३ वटा लिएर अरुलाई बाँकी महानगरपालिका दिँदा पोखरा माओवादी वा नेकपा एसलाई पर्ने भय कास्की कांग्रेसमा परेको हो । तर त्यस्तो हल्लाका पछि नलाग्न पनि सभापति देउवाले कास्की कांग्रेस टोलीलाई आवश्वस्त पारेका थिए ।


पोखरा महानगरपालिकाको मेयरमा कांग्रेसको उम्मेदवार नउठाई गठबन्धनका अरु दलबाट उठाइए अरु पालिकामा पनि त्यसको असर परेर कांग्रेसलाई अहित हुने कुरा आफूहरुले सभापति देउवासँग गरेको थापाले बताए । ‘त्यतिमात्रै होइन पोखरा हारियो भने त्यसको असर प्रदेश र प्रतिनिधि सभा चुनावमा पनि पर्छ भनेर सभापतिज्यूलाई भन्यौं,’ उनले भने ।
२०७४ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकामा एमाले उम्मेदवार मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई साढे १३ हजारभन्दा बढी मतले पराजित गरेका थिए । त्यो बेला पनि माओवादी र कांग्रेसको गठबन्धन थियो ।

माओवादी उम्मेदवार विश्वप्रकाश लामिछानेले दर्ता गरिसकेको उम्मेदवारी पार्टी निर्देशनपछि फिर्ता लिएका थिए । उपमेयरमा भने कांग्रेसबाट सरस्वती गुरुङ र माओवादीबाट गोमा ढकाल उम्मेदवार थिए । ढकालले झन्डै ८ हजार मत ल्याएकी थिइन् ।
माधव नेपाल नेतृत्वको नेकपा एसले पोखरामा आफूले मेयर उम्मेदवार पाउनुपर्ने दाबी गरेको छ । उक्त पार्टीबाट धनराज आचार्य आकांक्षी छन् । पोखरा महानगरमा २ लाख ७ हजार मतदाता छन् ।

तपाईको प्रतिक्रिया