एमालेबाट रुपाबाहेक कास्कीका अरु पालिकामा उम्मेदवार सिफारिस हुन सकेन

समाधान संवाददाता २०७८ चैत ३० गते २०:५२

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सहजीकरण समितिले अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार राखेर छलफल गरे पनि एमाले पार्टीभित्र ठोस निर्णय हुन सकेको छैन । सहजीकरण समितिका सदस्य आरएस शर्माले फेरि पनि सहमतिको प्रयास गरिने बताए ।
माछापुच्छ्रे मा अध्यक्षका लागि पार्टी अध्यक्ष विक्रम गुरुङ, लालबहादुर परियार, पूर्णबहादुर गुरुङ, राजेन्द्र गौतम, नन्दलाल अधिकारी, हरिश्चन्द्र ढुंगाना, पूर्णबहादुर शाही, यदुनाथ अधिकारी, कृष्णकुमारी दवाडी र भगवती गुरुङले पार्टीमा नाम दर्ता गरेका छन् । पालिका उपाध्यक्षमा विष्णुमाया तामाङ गुरुङ, पार्वती जिसी, सीता तिवारी, चन्द्रा ज्यु ठकुरी, हिरादेवी सुनार, विष्णुबहादुर केसी र शान्ति भुजेलले दाबी गरेका छन् ।


एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले बुधबार पोखरा र अन्नपूर्णको पार्टी कार्यालयमा अध्यक्ष तथा उपाध्यक्षका आकांक्षीसँग परामर्श गरी सर्वसम्मतको प्रयास गरेको छ । पालिका अध्यक्षमा सुरेन्द्र गुरुङ, सगुन गुरुङ, विष्णु केसी, भरतमान गुरुङ, विवेक देवकोटा, गौरी सुवेदी, रमेश भण्डारी, सोमनाथ पौडेल, हरिकृष्ण भट्टराई, चन्द्रबहादुर गुरुङ र हरि शर्माले दावी गरेका छन् । उपाध्यक्षमा चन्द्रा अधिकारी, कमला केसी, टंकदेवी सुवेदी र लक्ष्मी अधिकारीले पार्टीमा नाम दर्ता गराएका छन् ।

Advertisement


मादी गाउँपालिकामा अध्यक्षका लागि विष्णुमाया पौडेल आचार्य, बालकृष्ण गुरुङ, बुद्धिसागर सापकोटा, शिव गुरुङ (महेन्द्र), पसबहादुर बास्तोला (श्याम), जसबहादुर गुरुङ, सुदीप सापकोटाको दावी छ । उपाध्यक्षमा निर्मला सुवेदी, प्रतीक्षा पौडेल, राजु अधिकारी, सिर्जना अर्याल र कल्पना गुरुङले इच्छा जाहेर गरेको पार्टीका अध्यक्ष बालकृष्ण गुरुङले जानकारी दिए । पार्टीका सचिव सुवास सापकोटाले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य पदमप्रसाद पौडेलको नेतृत्वमा सहजीकरण समितिले वैशाख २ गतेपछि सहमतिको प्रयास गर्ने बताए ।

रुपा गाउँपालिकामा भने अहिलेकै अध्यक्ष र उपाध्यक्ष क्रमश: नवराज ओझा र लालसुबा गुरुङलाई उम्मेवार बनाउने निर्णय एमालेले गरेको छ ।

Advertisement


पोखरा महानगरपालिकाको मेयर तथा उपमेयर छान्न नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक चुनाव गर्न लागेको छ । सर्वसम्मतका लागि मेयर र उपमेरका आकांक्षीले बुधबार दिनभर छलफल गरे पनि सहमति जुटेन ।


सहमति नभएपछि आन्तरिक मतदानमा जान लागेको एमाले स्रोतले जनाएको छ । पोखराको मेयरमा एमालेबाट १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका छन् ।


एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङ लगायतका माथिल्लो कमिटीका नेताले मेयर र उपमेयरका आकांक्षीलाई बोलाएर सर्वसम्मतका लागि प्रयास गरेका थिए । अध्यक्ष गुरुङले मेयर र उपमेयरका आकांक्षीलाई दिनभर राखेर छलफल गरेको जानकारी दिए । उनले दिनभर दही मथे पनि घिउ निकाल्न नसकेको सुनाए । पार्टीको पोखरा महानगर कमिटी छलफल सकारात्मक नभएपछि आन्तरिक चुनावमा जाने निर्णयमा पुगेको हो ।


‘माथिल्लो कमिटीका नेतासँगले गरेको सहजीकरणको प्रयास टुंगोमा पुग्न सकेन,’ एमाले स्रोतले भन्यो, ‘छलफल सकारात्मक नभएपछि मेयर र उपमेयरका उम्मेदवार छान्न आन्तरिक मतदान गर्न लागिएको हो ।’ पार्टीको नगर कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार छान्न नसकेपछि मतदानबाट टुंग्याउन लागेको छ । अहिले पोखरा महानगर कमिटी १ सय १० सदस्यीय छ ।


२०७४ सालको स्थानीय चुनावमा समेत मेयर र उपमेयरमा सर्वसम्मत हुन नसकेपछि आन्तरिक मतदानबाट निर्णय गरिएको थियो । त्यति बेला तत्कालीन पोखरा उपमहानगरपालिका, लेखनाथ नगर पालिका कमिटीका ४ सय ७३ जनाले मतदान गरेका थिए । बिहीबार नयाँ वर्ष भएकाले वैशाख २ गते आन्तरिक मतदान हुने सम्भावना छ ।


मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका छन् ।


महानगर उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गरेका छन् ।


एमालेले महानगरपालिकाको उम्मेदवारको टुंगो पार्टी केन्द्रबाटै लगाउने व्यवस्था छ । महानगरपालिका कमिटीको सिफारिस जिल्ला हुँदै प्रदेश पुग्नेछ । प्रदेश कमिटीले मेयर र उपमेयरमा ३÷३ जनाको नाम सिफारिस गर्न सक्नेछ ।

तपाईको प्रतिक्रिया