कछुवा गतिको मतगणना

पोखरा ।
पोखरा महानगरपालिकाको मतगणना कछुवा गतिमा भइरहेको छ । शनिबार अपरान्ह ५ बजेबाट सुरु भएको गणनाबाट कुनै पनि वडाको नतिजा आइतबार साँझसम्म आउन सकेन । वडा नम्बर १ बाट गणना सुरु भएको थियो ।
वडा नम्बर १२, २३ र २४ को पनि गणना आइतबार सुरु भएको थियो । तर अघिल्लो दिनबाट सुरु भएको वडा नम्बर १ को नतिजा पनि आउन ढिला भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३ ठाउँमा ६ खाल बनाएर गणना गर्ने गरी व्यवस्था मिलाएको थियो । उपत्यका नगर विकास समितिका २ हल, जिल्ला समन्वय समितिका २ हल र एउटा कोठा गरी ३ ठाउँमा गन्ने व्यवस्था गरिएको छ । तर दलहरुबीच सहमति जुट्न नसक्दा सबैतिर मतगणना गर्न नसकिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले जनाएका छन् ।
पोखरामा आइतबार साँझसम्म ३६ सय मत गणना सकिएको थियो । शनिबार साँझ ५ बजेदेखिको समय हिसाब गर्दा २६ घन्टामा जम्मा त्यतिका मतमात्रै गनिएको छ । जब कि पोखरामा १ लाख ४३ हजार २ सय १३ मत खसेको छ । यति गतिमा गन्दा महिनौं लाग्ने देखिन्छ । किनभने एक घन्टामा सय मत पनि गणना हुन सकेको छैन । कास्कीका मादी, रुपा, माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिकामा पनि मतगणना जारी छ । ती पालिकाहरुका वडाहरुको नतिजा धमाधम आइरहेको छ ।
पोखरामा आइतबार रातिसम्मको मत परिणाम अनुसार मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य एमालेका कृष्ण थापाभन्दा अघि थिए । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट एमालेकी मञ्जुदेवी गुरुङभन्दा अगाडि छिन् ।
मतगणनाका लागि ३१ वैशाखमा सर्वदलीय बैठक बसेको थियो । बैठकको निर्णयानुसार नै गणना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
‘बैठकको निर्णय अनुसार मतगणना स्थलमा प्रवेश गर्दा प्रमुख तथा उपप्रमुख पदका उमेदवारहरु आफ्नो परिचय पत्रका आधारमा सबै स्थानमा प्रवेश गर्न सक्ने र प्रत्येक वडाका वडा अध्यक्ष तथा सदस्यहरुका उमेदवारहरु आफ्नो परिचयपत्रको आधारमा आफ्नो वडाको मतगणना भएको स्थलमा समय समयमा आएर हेर्न पाउने व्यवस्था गरिएको छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार जारी गरेको सूचनामा भनिएको छ ।
मतगणना स्थलमा प्रतिनिधिहरु राख्दा प्रमुख र उपप्रमुख उमेदवारका १÷१ जना प्रतिनिधि र मतगणना भएको स्थानमा उमेदवारी दर्ता भएका दलको तर्फबाट वा स्वतन्त्र उमेदवारको तर्फबाट प्रति मतगणना घेरा १ जना प्रतिनिधि राख्न पाउन व्यवस्था छ । सोही बमोजिम पास जारी गर्दा राजनीतिक दल वा स्वतन्त्र उमेदवाको उमेदवारी दर्ता भए अनुसार प्रत्येक मतगणना घेरामा रहने गरी राजनीतिक दल तथा स्वतन्त्र उमेदवारका प्रतिनिधिहरुलाई मात्र पास जारि गरिने र नेपाल सरकारका मन्त्रीहरु प्रदेश सरकारका मन्त्रीहरु, संघीय सांसदहरु प्रदेश सांसदहरु, उमेदवारी दर्ता भएका राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरीय प्रमुख वा पदाधिकारीलाई मात्र मतगणना स्थलमा पास जारी गरिएको छ ।
तपाईको प्रतिक्रिया