श्यामलाललाई संगीत पुरस्कार

समाधान संवाददाता २०७९ जेठ २० गते १६:५८

पोखरा ।
सोम बज्राचार्य स्मृति संगीत पुरस्कार २०७८ यस वर्ष संगीतकार श्यामलाल श्रेष्ठलाई प्रदान गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले गीत संगीतमा क्रियाशील स्रष्टालाई हरेक २ वर्षमा यो पुरस्कार प्रदान गर्ने गरेको छ ।

पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाई गीत संगीतका क्षेत्रमा ४ दशकदेखि क्रियाशील श्यामलालले २०५१ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थिए । निरन्तर लगाव र महत्वपूर्ण योगदान दिएका उनले थुप्रै अवार्ड र पुरस्कार पाइसकेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा उनले दिएको योगदानको कदर स्वरुप सोम बज्राचार्य स्मृति सङ्गीत पुरस्कार प्रदान गर्न लागिएको प्रतिभा छनोट समिति संयोजक अनन्द श्रेष्ठले जानकारी दिए ।

गायक तथा संगीतकार सोम बज्राचार्यको स्मृतिमा उनकी पत्नी शान्तिले अक्षयकोष खडा गरी सञ्चालन गरेको यो पुरस्कारबाट यसअघि बिमाकुमारी दुरा, श्यामसुङ तामाङ, नवराज बराल, रुपेनबाबु थापा, सुनील थापा र कर्ण दास पुरस्कृत भइसकेका छन् ।
यही असार ४ गते शनिबार नगद ११ हजार १ सय ११, ताम्रपत्र र दोसल्लासहित उनलाई पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया