‘विकासको नाममा विनास ननिम्त्याऔं’

पोखरा ।
समग्र कास्कीको विकास निर्माणको कामलाई प्रभावकारी बनाउने क्रममा जिल्ला समन्वय समिति कास्कीको वार्षिक समीक्षा गोष्ठी शुक्रबार भएको छ । गोष्ठीमा संघ, गण्डकी प्रदेश, स्थानीय सरकार तथा सेवा प्रदायक विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिले चालु आर्थिक वर्षको प्रगतिविवरण प्रस्तुत गरेको समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले जानकारी दिए ।
प्रतिनिधि सभाका सदस्य जगत विश्वकर्माले समीक्षा गोष्ठीमा प्रस्तुत विषयवस्तुले समग्र कास्कीको विकास निर्माणको अवस्था झल्काउने बताए । ‘सुशासन, विकास र समृद्धिको नारालाई साकार सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक छ,’उनले भने, ‘जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारीले आम नागरिक भन्दा जिम्मेवार र जवाफदेही बनेर प्रभावकारी सेवा प्रवाह गर्नुपर्छ ।’ पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत रहेका विश्वकर्माले वातावरणमैत्री सन्तुलित विकास गरेर बिनासबाट जोगाउनुपर्ने उल्लेख गरे ।
प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले जनप्रतिनिधि तथा कर्मचारी इमान्दार र प्रतिवद्ध नभएसम्म बजेट कार्यान्वयन र समग्र विकास सम्भव नभएको बताइन् । उनले विगतका कमी, कमजोरीलाई सच्याउदै नयाँ योजनाको कार्यान्वयनमा खटिनुपर्ने उल्लेख गरिन् ।
प्रतिनिधि सभा सदस्य दुर्गा विकले मनसुनी वर्षात सुरुवात भएको अवस्थामा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरिन् । ‘धान फल्ने खेतलाई प्लटिङ गर्दा उत्पादन क्षेत्र घट्दो छ । कृषि क्षेत्रको जमिन बाँझो नराख्नको लागि योजनाबद्ध ढंगले काम गरौं,’उनले भनिन्, ‘उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा सबै सक्रियतापूर्वक लागौं ।’
समृद्धि र विकास सबैको साझा एजेन्डा भएको उल्लेख गर्दै उनले जनप्रतिनिधि सबैको साझा व्यक्ति भएकाले निश्चित दलीय राजनीतिभन्दा माथि उठेर काम गर्न आग्रह गरिन् ।
गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले गाउँपालिका स्तरमा राम्रा योजना निर्माण गरेर कार्यान्वयनमा ल्याए समग्र देशको विकास र समृद्धिमा सहयोग पुग्ने बताइन् । लामो समयदेखिका बेरुजु फस्यौट गर्दै बजेट फ्रिज हुन नदिने गरी प्रभावकारी कार्यक्रम गर्न सुझाव दिँदै उनले जनताको अपेक्षा अनुसार काम गरे मात्र जनप्रतिनिधि सफल हुने तर्क गरिन् ।
जिल्ला समन्वय समिति कास्की प्रमुख पौडेलले समग्र कास्कीलाई बेरुजुमुक्त बनाउने गरी काम गर्न आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका निवर्तमान प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, समन्वय समिति कास्की उपप्रमुख सरिता माल, रुपा गाउँपालिका प्रमुख नवराज ओझा, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले बोलेका थिए ।
गोष्ठीमा पोखरा महानगरपालिकालेभने प्रतिनिधित्व नभएको समन्वय प्रमुख पौडेलले जानकारी दिए । गोष्ठीमा माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल,अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना, मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा, डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बराल, घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख शेषकान्त पौडेल, जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीप्रसाद आचार्य लगायतले चालुआर्थिक वर्षको वार्षिक प्रगति विवरण पेस गरेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया