तनहुँको दलित होमस्टे प्रवद्र्धन गर्न ‘काव्य यात्रा’

दमौली ।
तनहुँको व्यास नगरपालिका–१३, स्थित आँपस्वारामा रहेको दलित सामुदायिक होमस्टे प्रवद्र्धन गर्न ‘कन्सेप्ट नेपाल’ले मुलुकका स्थापित कवि, लेखक तथा पत्रकारहरूलाई घुमाएको छ । उसले असार १५ देखि १७ गतेसम्म ‘आँपस्वारा काव्य यात्रा–२०७९’ आयोजना गरि घुमाएको हो । आँपस्वारामा विश्वकर्मा समुदायका १८ घरमा होमस्टे सुविधा छ । यहाँ २०७२ सालदेखि होमस्टे सञ्चालन गरिएको हो । लेखकहरूले दुई दिन होमस्टेमा बसेर गाउँलेसँग अन्तरक्रिया गरे ।
आँपस्वारा गाउँका चारजना कलाकर्मीलाई कन्सेप्ट नेपालद्वारा जनही १० हजार रुपैयाँसहित सम्मान अर्पण
दमौली बजारबाट ६ किलोमिटर पूर्वको आँपस्वारा रमणीय गाउँ हो । ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना यहाँका विशेषता हुन् । गाउँबाट अन्नपूर्ण हिमशृंखला, दमौली बजार, छाब्दीबराह मन्दिर, मानहुँकोट, सेती हाइड्रो पावर र सुन्तला बगान देखिन्छ । छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुखदुःख बुझ्न, पर्यटनमा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्न मुलुकका २६ जना लेखकहरूलाई घुमाइएको हो ।
काव्य यात्रामा लेखकहरू ध्रुव मधिकर्मी, अभय श्रेष्ठ, सागर उदास, भूपिन, गनेस पौडेल, हेमन्त विवश, मनीषा गौचन, सुमन थापा ‘संगम’, उषा थपलिया, केशव सिग्देल, रमि प्रिया, लोकराज भट्ट, मेघराज आचार्य, सम्झना रसाइली, कृष्णगोपाल श्रेष्ठ, सुरेन्द्र राना, सुजिता कार्की, राजकुमार गजुरेल, भवानी शिलाकार, प्रकाश गुरुङ, घनश्याम पौडेल, सुरज उपाध्याय, कवि अमृत, सञ्जीव पौडेल, तारानाथ पहारी र अमृत भादगाउँले सहभागी थिए ।
कार्यक्रमको दोस्रो दिन विश्वकर्मा समाज भवन बाहिर चौतारीमा आयोजित कार्यक्रममा कवि तथा लेखकहरूले आआफ्ना अनुभूति र रचना सुनाए । उनीहरूले आँपस्वाराबाट फर्केर आआफ्ना अनुभव मिडियामा लेख्न सुरु गरिसकेका छन् । यसबाट आँपस्वाराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ । यात्राको प्रवद्र्धक पर्यटन बोर्ड थियो भने सहयोगीमा व्यास नगरपालिका थियो ।
यात्राका संयोजक पत्रकार अमृत भादगाउँलेका अनुसार काव्य यात्रा सफल भयो ।
अब आँपस्वारा गाउँको युट्युब भिडिओ, बुकलेट र ब्रोसरसहितका प्रचारात्मक सामग्री पनि उत्पादन गरिनेछ । ‘छुवाछुत मेटाउन आँपस्वाराबासीको होस्टेमा हैंसे गर्दै समग्र गाउँको पर्यटन प्रवद्र्धन गर्नु यात्राको मुख्य उद्देश्य हो’, भादगाउँलेले भने, ‘त्यतिमात्र होइन, हामीले जीवनमा जानेर वा नजानेर गरेका विभेदको आत्मआलोचना पनि गर्यौं ।’ कन्सेप्ट नेपालले विगतमा ‘खप्तड काव्य–यात्रा २०७५’ र ‘फोक्सुन्डो काव्य–यात्रा २०७६’ सफलतापूर्वक आयोजना गरेको थियो ।
शिल्पीहरूको सम्मान
‘आँपस्वारा काव्य यात्रा–२०७९’ का अवसरमा असार १६ गते आँपस्वारा गाउँका चारजना कलाकर्मीलाई आयोजक कन्सेप्ट नेपालले जनही १० हजार रुपैयाँसहित ‘आँपस्वारा काव्य सम्मान–२०७९’ अर्पण गर्यो ।
व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेलाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रममा माटोका गहना बनाउने मेनुका विक, आरनको काम गर्ने डिलबहादुर विक, मादल बजाउन सिपालु सुन्दर विक र बाँस तथा निगालोका सामान बनाउने कलाकार तुलसीबहादुर मगरलाई सम्मान गरिएको थियो ।
गाउँघरमा बसेर सनातनी सीप संरक्षण गरी गाउँलेको सेवा गर्दै आएका भुइँमान्छेको सम्मान गरिएको हो । जीवनमा पहिलोपटक सम्मान पाउँदा उनीहरू गद्गद् भए । ‘यस्तो सम्मान पाइएला भनेर सपनामा पनि चिताएकी थिइनँ’, ५९ वर्षीया कलाकार मेनुका विकले भनिन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया