भानुजयन्तीमा सार्वजनिक बिदा, कविता प्रतियोगिता हुने

तनहुँ ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय नवौँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुभक्तको जन्मजयन्तीका अवसरमा चुँदीरम्घामा आयोजना गर्न लागेको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको हो । कविता पठाउने अन्तिम दिन सोमबारसम्म सो कविता प्राप्त भएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए। उनका अनुसार प्रतियोगिताका लागि ८७ जनाको कविता प्राप्त भएको छ । उक्त कविताहरु असार २८ गते वाचन गरिनेछ । कविता वाचनका लागि प्रतियोगी स्वयं उपस्थित हुनुपर्ने रानाभाटले बताए । विकास समितिले भानुभक्तको जन्मजयन्ती तीन दिन विविध कार्यक्रमका साथ मनाउँदैछ ।
प्रतियोगितामा प्रथमलाई रु २० हजार, द्वितीयलाई रु १५ हजार, तृतीयलाई रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार वितरण गरिनेछ । कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने, युनिकोडमा टाइप गरेको हुनुपर्ने, कविता कसैको व्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनैतिक आक्षेप लगाउने किसिमको हुन नहुने जनाइएको छ ।
भानुजयन्तीका अवसरमा असार २७ गते स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दीपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरि, भानुभक्तको सालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम गरिनेछ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा आचार्यको जन्मेका थिए । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदा दिएको छ ।
मोतिराम भट्टले भानुभक्तलाई नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया