१५ कृषि समूह सम्मानित

पोखरा ।
पोखरा महानगरले १५ वटा कृषि समूहलाई सम्मान गरेको छ । महानगरको कृषि महाशाखाले मंगलबार पोखरा २१ मा आयोजना गरेको सुन्तला बगैंचा व्यवस्थापन प्रोत्साहन सहयोग, पावर स्प्रे, किसान परिचय पत्र वितरण तथा सक्रिय कृषक संस्था सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
महानगरका मेयर धनराज आचार्यले प्रमाणपत्र र प्रोत्साहन स्वरुप नगद प्रदान गरी कृषक समूहलाई सम्मान गरेका हुन् । मेयर आचार्यले कृषक र कृषि पेशा सम्मानित नहुँदासम्म मुलुक समृद्ध बन्न नसक्ने बताए । उनले उत्पादनमा प्रोत्साहन गर्नुपर्ने र उत्पादित कृषि उपजले उचित बजार पाउनुपर्ने धारणा राखे ।
महानगरले २३ वटा कृषि उपजको समर्थन मूल्य तोकेको जानकारी दिँदै समर्थन तोकिएका कृषि उपजको बजार ग्यारेन्टीसमेत महानगरको तर्फबाट भएको उल्लेख गरे । पोखरा महानगरपालिका भूगोलका हिसाबले देशभरमै सबैभन्दा ठूलो रहेको चर्चा गर्दै उनले यहाँ उत्पादित कृषि उपजले यहाँको आवश्यकता थेग्नेगरी योजना बनाएर काम गरिने प्रतिवद्धता जनाए ।
पोखराको कृषि उपज बजारमा देशमा उत्पादितमात्र नभई करोडौं मूल्यको तरकारी आउने गरेको टिप्पणी गर्दै ५ वर्षमा पोखरामै र नभए यस वरपरको तरकारीले त्यसलाई विस्थापित गर्नेगरी कृषि क्षेत्रमा सुधार ल्याउन जरुरी रहेका उनले औंल्याए । खासगरी तरकारी, यहाँ उत्पादन हुने फलफूल, मासु र अण्डामा ५ वर्षभित्र आत्मनिर्भर बन्ने गरी काम गरिने उनको भनाई छ । कृषि र पशुपालनलाई सँगसँगै जोडेर लैजान सके उत्पादन र उत्पादकत्व बढ्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले लक्षित किसानलाई महानगरले प्रोत्साहित गर्दै आएको जानकारी दिए । उनले बाँदरको आतंक र रोगको प्रकोपले किसान समस्यामा रहेको भन्दै यसको निधानका लागि उपाय खोज्न कृषि महाशाखा र सिंगो महानगरपालिका लागिपरेको बताए । कृषक टेकमाया पौडेलले आफूले ७ हजार रुपैयाँ ऋण लिएर थालेको सुन्तला खेती विस्तार गरेर अहिले ७ करोडमा परिणत गरेको सुनाइन् । कृषि पेशामा दत्तचित्त भएर लागेमा आम्दानी लिन सकिन्छ भन्ने गतिलो उदाहारणको रुपमा आँफैलाई लिन उनको आग्रह थियो ।
कृषक उमनाथ सुवेदीले कर्मचारीले तलब र पेन्सन पाएजस्तै आफूहरुको सम्पूर्ण आम्दानी भनेकै आफूहरुले लगाएका फलफूलका विरुवा रहेको बताए । तर, पछिल्ला दिनमा सुन्तलामा विभिन्न खालका समस्या देखिएकाले खिन्न हुनुपरेको उनले गुनासो गरे । कृषि महाशाखा प्रमुख मनहर कडरियाले वडा नम्बर २१, २२ र ३३ राम्रो सुन्तला हुने क्षेत्र रहेको जानकारी दिए । उनले महानगरले सुन्तलाका उत्पादन दिइरहेका २० हजार बोटको प्रति बोट किसानलाई १ सय रुपैयाँका दरले प्रोत्साहन स्वरुप प्रदान गरिएको जानकारी दिए । यो कार्यक्रममा अझै उत्पादन दिइरहेको १० हजार बोट समावेश हुन नै बाँकी रहेको उनले बताए ।
सो अवसरमा २ सय ५० रोपनीमा सामूहक गहुँखेती गर्ने पोखरा १८ को भावना समुदायिक कृषि सहकारी संस्था, १० रोपनी क्षेत्रफलमा आलुको बीउ उत्पादन गर्ने पोखरा २३ को ठूलाखेत कृषक समूह, सुन्तला खेती बंगैचा व्यवस्थापनमा अभियानमा उत्कृष्ट पोखरा २१ के फेदीपाटन फलफूल उत्पादन कृषि समूह, सदस्य तरकारी उत्पादन गरी दैनिक बिक्री गर्ने, किसान बजारमा नियमित ल्याउने पोखरा ३३ को महाकाली कृषिक समूह, आलु तथा धानको बीउ उत्पादन र चैते धान सुरुवात गर्ने पोखरा २६ को ढले पीपल कृषक समूह सम्मानित भए ।
यसैगरी प्रारम्भिक कृषि उत्पादनमा विगत ३ वर्षदेखि सक्रिय पोखरा २८ को ओख्ले प्रांगारिक कृषि तथा पशु कृषक समूह, विगत ५ वर्षदेखि आलु बीउ उत्पादन गर्दै आएको पोखरा १६ को महेन्द्रगुफा कृषक समूह, कृषि उत्पादन सामग्री वितरण गर्ने पोखरा २५ को देवीस्थान कृषि सहकारी संस्था, स्थानीय बीउ संकलन तथा संरक्षण, मालेपाटन बोडी बीउ उत्पादान र प्रांगारिक खेती गर्ने पोखरा १३ को नमुना प्रांगारिक कृषि सहकारी संस्था, फापर खेती, अदुवा पकेट सञ्चालन केन्द्र स्थापना गर्ने पोखरा ३१ को कोट देउराली बहुउद्देस्यीय सहकारी संस्था, उखु खोती र खुदो उत्पादन गर्ने पोखरा ३२ को मालेपाटन कृषि सहकारी सम्मानित भए ।
समारोहमा नियमित किसान बजार सञ्चालन गर्ने पोखरा १७ को किसान बजार सञ्चालक समिति, नियमित बैठक सञ्चालन, अनुगमन र कृषि कार्यक्रम सञ्चालन तथा समन्वय गर्ने पोखरा २२ को वडास्तरीय कृषि सञ्जाल, ४ सय रोपनीमा उवा उत्पादन गर्ने पोखरा १९ को युवा लक्षित कृषि तथा दुग्ध उत्पादक कृषक समूह, तरकारी कृषि उत्पषदन तथा संकलन केन्द्र सञ्चालन गर्ने पोखरा २० को सफल महिला कृषक समूहलाई उक्त अवसरमा नगद र प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया