रुद्र कर्म–कर्ण पुरस्कार सम्मानित

पोखरा ।
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार रुद्रबहादुर श्रीषमगरलाई बुधबार सम्मान गरिएको छ । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र कर्णबहादुर गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा प्रदान गर्ने उद्देश्यले स्थापित तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनीज) कास्कीद्वारा सञ्चालित पुरस्कारको राशि नगद १५ हजार, दोसल्ला र सम्मानपत्र छ ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पत्रकार श्रीषमगरलाई भांग्रा, फेता, प्रमाणपत्र र नगदसहितसम्मान गरे । समारोहमा स्थानीय तहको चुनाव २०७९ मा निर्वाचित फोनीजकर्मीलाई समेत सम्मान गरिएको अध्यक्ष दिलप्रसाद गुरुङले जानकारी दिए । कार्यक्रममा फोनीज कास्कीका संस्थापक कोषाध्यक्ष तथा पोखरा महानगरपालिकाका उपमेर मञ्जुदेवी गुरुङ, संस्थाका कार्यसमितिका पूर्व सदस्य तथा मादी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष देवीजंग गुरुङ र संस्थाका कोषाध्यक्ष तथा अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष रमेश गुरुङलाई सम्मान गरियो ।
कार्यक्रममा प्रदेश प्रमुख गुरुङले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गरेका गलत कामलाई जनतासमक्ष ल्याउने काम पत्रकार तथा सञ्चार माध्यमको भएको बताए । ‘लोकतन्त्रमा राज्यका तीन अंगले गरेका काम गोप्य हँुदैन । आम जनता तथा सेवाग्राही समक्ष ती निकायले गरेका काम जस्ताको तस्तै पुग्नु पर्छ,’ प्रदेश प्रमुख गुरुङले भने, ‘राज्यका तीन अंगको काम क्रियाकलापको खबरदारी र निगरानी बढाएर सही मार्गमा ल्याउनु पर्छ । पत्रकारले सही सूचना प्रवाह गरेर जनतालाई सचेत बनाउने दायित्व हुन्छ ।’
उनले जथाभावी तथा मनपरी ढंगले लेख्ने नभई राज्य र जनताप्रति जिम्मेवार भएर कलम चलाउन पत्रकारलाई सुझाव दिए । उनले आवाजविहीनको पक्षमा समाचार लेख्न पत्रकारलाई अनुरोध गरे । समानुपातिक तथा समावेशी नीति अन्तर्गत राज्यका निकायमा सिमान्तकृत, अल्पसंख्यक, दुर्गम तथा आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि ध्यान दिन आग्रह गर्दै प्रदेश प्रमुख गुरुङले कला, संस्कृति, भाषाको संरक्षणको क्षेत्रमा काम गर्न आग्रह गरे । उनले सबै आदिवासी जनजातिको भावनालाई समेटेर उनीहरुको मुद्दालाई स्थापित गर्न सुझाव दिए ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले पत्रकारिता गरेर राजनीतिमा लाग्नेहरु धेरै सफल भएको बताइन् । उनले आदिवासी जनजातिका मुद्दाले मिडियामा उचित स्थान पाए उनीहरुको उत्थान तथा विकासमा सहयोग पुग्ने चर्चा गरिन् । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङले विगतको समयमा आदिवासी जनजातिका मुद्दाले मिडियामा उचित स्थान पाउन नसकेको उल्लेख गरिन् । उनले आदिवासी जनजातिको सवालमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन प्रदान गर्न पुरस्कार स्थापना गरेको जानकारी दिइन् ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले सञ्चार माध्यमले समावेशितालाई मुल एजेन्डा बनाउनुपर्ने बताए । उनले आदिवासी जनजातिका हक हित र मुद्दालाई समेट्दै क्रियाशील भएर मुलधारको नेतृत्वमा पुग्न फोनिजका सदस्यलाई सुझाव दिए ।
कार्यक्रममा प्र्रतिभा छनोट समितिका संयोजक तथा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, फोनीज गण्डकी अध्यक्ष रुद्रबहादुर श्रीषमगर, फोनीज कास्की अध्यक्ष दिलप्रसाद गुरुङ, उपाध्यक्ष विनु थापामगर, सचिव सुशील श्रेष्ठ लगायतले आदिवासी जनजातिका सवाल र सञ्चार माध्यमले खेल्नुपर्ने भूमिकाबारे बोलेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया