संघीयताको विरोधमा लेखनाथमा स्थानीयकाे राँके जुलुस
लेखनाथ ।
पोखराको लेखनाथमा संघीयता खारेजी र मूल्यवृद्धिको विरोधमा राँके जुलुससहित प्रदर्शन गरिएको छ । पोखरा २६ बुढीबजारमा स्थानीयले राँके जुलुससहित प्रदर्शन गरेका हुन् ।
‘चर्को मूल्यवृद्धि फिर्ता गर’, ‘संघीयता खारेज गर’ ‘बढ्दो महंगी नियन्त्रण गर’, ‘राजनीतिमा परिवारवाद मुर्दावाद’ जस्ता नारा जुलुशका सहभागीले लगाएका थिए । राँके जुलुसपछि आयोजित कोणसभामा समन्त रानाभाटले मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको भन्दै संविधानमा रहेको संघीयताको व्यवस्था हटाउनुपर्ने माग गरे । देशले संघीयता धान्न नसक्ने भएकाले यो खारेज गरी स्थानीय तहलाई बलियो बनाउने गरी अधिकार प्रदान गर्नुपर्ने उनको भनाइ छ ।
रामहरि ढुंगानाले विगतमा संघीयताको पक्षमा देखिएकाहरु अहिले त्यसको बिरोधमा उत्रिएको भन्दै जनताको ढाड सेक्ने गरी संकलन गरिने करले संघीयतालाई बचाउन नसक्ने दाबी गरे । जुलुस कालिकाचोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरी राँको निभाएको थियो । त्यसपछि प्रर्दशनकारीले कोणसभा गरेका थिए ।
तपाईको प्रतिक्रिया