अपांगलाई ह्विलचियर सहयाेग

समाधान संवाददाता २०७९ साउन ३ गते ११:१८

पोखरा ।
रोटरी क्लब अफ पोखरा मिडटाउनले सामाजिक सेवा अन्तर्गत शारीरिक अपांगलाई ह्विल चियर वितरण गरेको छ । समुदायमा आधारित पुनस्थापना सेवा (सिबिआरएस)नेपाल सँगको सहकार्यमा क्लबले २१ अपांगलाई ह्विलचियर प्रदान गरेको क्लब अध्यक्ष रवीन्द्रनाथ बांस्तोलाले जानकारी दिए ।

Advertisement

गण्डकी प्रदेशका कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले रोटरी लगायतका सामाजिक संघ, संस्थाले सभ्य र समुन्नत समाज निर्माणमा सहयोग गरेको बताए । ‘रोटरी समाज रुपान्तरण, शिक्षा, स्वास्थ्य खानेपानी तथा मानवीय सेवा क्षेत्रमा काम गरेको छ,’ मन्त्री थापाले भने, ‘भौतिक विकाससँगै मानवीय क्षेत्रको विकासमा हातेमालो र सहकार्य गर्ने प्रदेश सरकार तयार छ ।’ उनले सरकारले गर्नुपर्ने काम सामाजिक संघ, संस्थाले गरेको उल्लेख गरे ।

रोटरी क्लबका पूर्व डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले निस्वार्थ भावले रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य, खानेपानी तथा समुदायमा आधारित कार्यक्रम गरेको बताए । उनले सामाजिक सेवा अन्तर्गत अपांगलाई ३ हजार ह्विल चियर प्रदान गर्ने जानकारी दिए । क्लबका अध्यक्ष बांस्तोलाले लोक कल्याणकारी अवधारणा अन्तर्गत राज्य नचलेको खण्डमा सामाजिक संघ, संस्थाको दायित्व बढ्ने उल्लेख गरे ।

क्लबका पूर्व अध्यक्ष सन्तोष पोखरेलले क्लबले आम रोटरी क्लबको गरिमा र उचाइ बढाउने काम गरेको बताए । कार्यक्रममा सिबिआरएस नेपालका कार्यक्रम व्यवस्थापक कृष्ण लामिछानेले संस्थाले १० प्रकारका अपांगलाई विना भेदभाव घर, घरमा सेवा प्रदान गरेको जानकारी दिए । विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार काम गरेको उल्लेख गर्दै उनले कास्की तनहुँ र स्याङ्जाका गरी २ हजार ५ सय ९० जनालाई सेवा प्रदान गरेको बताए ।

समारोहमा कार्यक्रम संयोजक पुरन कुँवर, सिबिआरएस नेपालका उपाध्यक्ष चेतबहादुर गुरुङ, रोटरी क्लब अफ पोखरा मिडटाउनका सचिव विकास अधिकारी, पूर्व सचिव उपेन्द्र पौडेल लगायतले रोटरीले शिक्षा, सामाजिक र खानेपानीको क्षेत्रमा गरेका कामको बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया