मुस्ताङका वन्यजन्तु पीडितलाई राहत

सुन्दरकुमार थकाली २०७९ साउन १३ गते १४:१३

जोमसोम ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले मुस्ताङका वन्यजन्तु पीडित किसानलाई राहत वितरण गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा वन्यजन्तुको आक्रमणमा परी क्षति व्यवहोर्नु परेका मुस्ताङका ४ स्थानीय तहका पीडित किसानलाई एक्यापले २ लाख २९ हजार ६ सय रुपैयाँ वितरण गरेको हो ।

हिमाली कालो भालुको आक्रमण परी घाइते भएका थासाङ गाउँपालिका ३ धम्पु बस्ने रेशमबहादुर पुर्जालाई उपचार खर्चवापत २३ हजार ४ सय र भालुको आक्रमण परी घाइते भएकी थासाङ गाउँपालिका ४ की रविना थापामगरलाई उपचार खर्च १८ हजार २ सय ९० रुपैयाँ प्रदान गरिएको हो ।

क्षतिपूर्ति रकम थोरै हुने र प्रक्रिया पनि झन्झटिलो भएकाले राहतका लागि स्थानीय उदासिन

Advertisement

थासाङमा हिमाली कालो भालुलेस्थानीयको बालीनाली सखाप पार्ने गरेको छ भने स्थानीयलाई चरनक्षेत्र र गाउँ बाहिर हिडडुल गर्न समेत जोखिम छ । वन्यजन्तुका कारण हालसम्म स्थानीयको पशुचौपायामा क्षति पुर्‍याए पनि माननीय क्षति नभएको एक्यापले जनाएको छ ।

२०७८/०७९ मा हिमचितुवाको आक्रमण परी ६ घरधुरीका ३१ भेडा/च्यांग्रा मरेका थिए । घरपझोङ ४ जोमसोमका मनोज विश्वकर्माको गोठमा गत असोज गते ६ च्यांग्रा र १ भेडा हिमचितुवाले मारेको थियो । विश्वकर्मालाई एक्यापले ३६ हजार ६ सय राहत दिएको छ । घरपझोङ गाउँपालिका ४ जोमसोमका अर्का पशुपालक ङिमा साम्तु गुरुङको पनि गत मंसिर ७ गते हिमचितुवाले २ च्यांग्रा खाईदियो । ङिमालाई पनि एक्यापले १४ हजार क्षतिपूर्ति दिएको छ ।

Advertisement

घरपझोङ ४ का सुनील नेपालीका ३ च्यांग्रा हिमचितुवाले मार्‍यो । उनलाई पनि १७ हजार रुपैयाँ दिइएको छ । जोमसोमका पशुपालक पञ्चल विकको १ वटा झोपा हिमचितुवाले आक्रमण गरी घाइते बनायो । उनलाई राहत स्वरुप २४ हजार दिइएको छ ।
गतवर्ष लोघेकर दामोदरकुण्ड ४ याराका पशुपालक लाक्पा छुर्पे गुरुङका १३ च्यांग्रा हिमचितुवाले गोठमै पसेर मार्‍यो । यस्तै, लोमान्थाङ २ समजुङका पशुपालक रिची दोर्जे गुरुङको पनि हिमचितुवाको आक्रमणमा परी ५ वटा च्यांग्रा खाइदियो । याराका पशुपालक लाक्पालाई १ लाख ४ हजार र लोमान्थाङ २ समजुङका पशुपालक रिचि दोर्जे गुरुङलाई ३४ हजार क्षतिपूर्ति एक्यापले दिएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

२०७७/०७८ मा यहाँका वन्यजन्तु पीडित किसानलाई एक्यापले ३ लाख ४८ हजार २ सय राहत दिएको थियो । मुस्ताङमा संरक्षित हिमचितुवा, भालु लगायतका वन्यजन्तुले मानव र पशुचौपायामा क्षति गर्ने घटना बढ्दै गएको देखिन्छ । एक्याप कार्यालय प्रमुख सुवेदीका अनुसार वन्यजन्तुको आक्रमणले कुनै घटना वा पशुधनको क्षति पुग्न गएमा क्षतिपूर्ति र राहतका लागि निवेदन, घटना स्थलको मुचुल्का, क्षति पुग्न गएको पशुचौपायाको प्रमाणीकरणका लागि फोटो, स्थानीय संरक्षण समितिको सिफारिस र वडा कार्यालयको सिफारिस पेश गर्नुपर्छ । वन्यजन्तुले क्षति बनाएका पशुचौपायाको उमेर र पशुचौपायाको मूल्य सम्बन्धित गाउपालिकाको पशु शाखाले निर्धारण गर्ने गरेका छन् ।

क्षतिपूर्ति रकम थोरै हुने र प्रक्रिया पनि झन्झटिलो भएकाले राहतका लागि स्थानीयले चासो नदिएको देखिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भित्रका वन्यजन्तु पीडितलाई एक्यापले बर्सेनि राहत वितरण गर्ने गरेको छ । सरकारको वन्यजन्तु क्षतिको राहत सहयोग निर्देशिका २०६९ को तेस्रो संशोधन २०७५ बमोजिम हात्ती, गैंडा, बाघ ,भालु, लगायतका विभिन्न १४ वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा १० लाखसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ भने आक्रमणमा परी गम्भीर घाइते भएको अवस्थामा बढीमा २ लाखसम्म राहत दिने व्यवस्था रहेको कार्यालय प्रमुख सुवेदीले बताए ।

बाघ, चितुवा, हिँउ चितुवा लगायतका ७ वन्यजन्तुले पशुधनको क्षति गरेमा भेडा/च्यांग्रा, बाख्रालाई बढीमा १० हजार र वयस्क भैंसी, रागो वा गोरु र उन्तत जातको गाई क्षति भएमा बढीमा ३० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था निर्देशिकामा छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र हिमचितुवा र मानवबीचको द्वन्द्वले स्थानीय चिन्तित छन् । हिमचितुवा र हिमाली भालुको क्षति नियन्त्रण तथा व्यवस्थापनमा आवश्यक उपकरणको प्रयोग नभएको तथा वन्यजन्तुको जोखिमका लागि सावधानी अपनाउन नसक्दा बर्सेनि किसान मर्कामा पर्ने गरेको मुस्ताङ च्यांग्रा तथा पश्मिना कृषक संघका अध्यक्ष करन ताङ्वेले बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया