तनहुँका जनप्रतिनिधिले बुझाएनन् खर्च विवरण

राष्ट्रिय समाचार समिति (रासस) २०७९ साउन १३ गते १४:४९

तनहुँ ।
स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधिले २ महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनको मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण ब्झाइसक्नुपर्ने कानुनी प्रावधान भए पनि उनीहरूले हालसम्म विवरण बुझाएका छैनन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तनहुँबाट १ हजार ६ सय ३७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । हालसम्म ४ सय एक जनप्रतिनिधिले चुनावी खर्चको विवरण बुझाएका छन् भने १ हजार २ सय ३६ ले अझै बुझाएका छैनन् ।
कार्यालयले गत जेठ मसान्तसम्म निर्वाचन खर्चको विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धीरेन्द्र शाहीका अनुसार खर्च विवरण नबुझाउनेमा अधिकांश पराजित र केही निर्वाचित उम्मेदवार छन् । भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित तथा पराजित उम्मेदवारले पनि खर्च विवरण बुझाएका छैनन् ।

भानु नगरपालिकाका प्रमुख उपप्रमुखमा निर्वाचित, वडाध्यक्ष र वडासदस्य कसैले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । अधिकांश निर्वाचित उम्मेदवारले नै खर्चको विवरण बुझाउन अटेर गर्दै आएको पाइएको छ । आँबुखैरेनी गाँउपालिकामा निर्वाचित उम्मेदवारले खर्च विवरण बुझाए पनि अन्य पालिकाका उम्मेदवारले भने आलटाल गर्दैआएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Advertisement

निर्वाचन आयोगले खर्चको विवरण बुझाउने उम्मेदवारको तथ्याङ्क पठाउन पटक पटक ताकेता गरेपछि प्राप्त भएकाको मात्रै तथ्याङ्क पठाइएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया