कास्कीका आगालागी पीडितलाई माइला कान्छा अभियानकाे सहयोग

समाधान संवाददाता २०७९ साउन १३ गते १६:५३

पोखरा ।
विदेशी भूमिमा (यूके) रहेर माइला कान्छा अभियान मार्फत सामाजिक सेवामा जुटिरहेका माया गुरुङ र पार्वती गुरुङले एक कन्सर्ट कार्यक्रममा चना चटपट र सेलरोटी बेचेर कास्कीका आगालागीबाट पीडितलाई सहयोग रकम जुटाएका छन् ।

विदेशी भूमिमा रहे पनि मन सधै नेपाली माटोमा नै हुने र मानवीयतालाई भूगोलले नछेक्ने जनाउँदै समस्यामा परेका नेपालीहरुलाई माइला कान्छा अभियान मार्फत माया गुरुङ (कान्छा दाइ ) पार्वती गुरुङ (माइला दाइ) सहयोगमा जुट्दै आएका हुन् । केही समय पहिले कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ८ कोलेली निवासी शोभाखर काफ्ले र लुम्रै निवासी गोलमान गुरुङको घरमा ग्याँसको सिलिण्डर पड्केर आगालागीबाट ठूलो क्षति भएको भन्ने खबर थाहापाए पछि सहयोगमा जुटेको अभियान्ता माया गुरुङले जानकारी दिइन् ।

उनले भनिन् ‘हामीले गाउँमा ग्यासँ पड्केको र क्षति भएको भन्ने थाहा पायौ, अनि मे २८ तारिखमा मगर संघ युकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टमा अभियानका पार्वती गुरुङ साथै परोपकारी मनका धनी कविता गुरुङ र लता चेम्जो गुरुङको विशेष सक्रियतामा नेपाली चिया, चटपट,काँक्रो, खरबुजा, सेलरोटी बचेर केही आर्थिक रकम संकलन गरेका हौ ।’ उनले संकलित रकममा केही थपथाप गरेर पीडित दुई परिवारलाई ५० हजारका दरले रु १ लाख रकम नेपाल पठाएको जानकारी दिइन् ।

Advertisement

विदेशबाट प्राप्त उक्त रकम गाउँका स्थानीय युवा शंकरमान गुरुङ र मिरमिरे आमा समूहका अध्यक्ष राजकुमारी गुरुङको समन्वयमा माछापुच्छ्रे गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष रामबहादुर गुरुङले पीडितद्धय शोभाखर काफ्ले र गोलमान गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष गुरुङले विदेशी भूमिमा रहेर पनि जन्मभूमिमा भएको समस्या र दुःख पीडालाई आत्मसात गरी सहयोग रकम जुटाएकोमा धन्यवाद व्यत्त गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा संगम बोडिङ स्कुका प्रिन्सिपल गगनसिंह गुरुङले कठिन अवस्थामा एक अर्काको सहयोगमा जुटेर अघि बढ्नु नै मानवीयता भएको धारणा राखे । स्थानीय युवा सन्तोष गुरुङले कोभिड १९ देखि नै माइला कान्छा अभियानको सामाजिक सेवा प्रतिको कार्य निकै सह्रानीय र प्रशंसनीय भएको बताए ।

माइला कान्छा अभियानले कोभिड १९ को समयमा कास्कीको पोखरा लगायत आसपासका थुप्रै बस्तीमा पुगेर राहतसँगै औषधि उपचारमा समस्या भएकाहरुलाई सहयोग रकम उपलब्ध गराएको अभियानका अर्का अभियन्ता पार्वती गुरुङले जानकारी दिए । ‘मानवीय सेवा नै धर्म हो भन्ने सोचेर हामी अभियानमा सक्रिय छौ,सहयोगी मनहरु थुप्रै भएको र आफूहरु माध्यम मात्र भएकाले यसको जस पनि सहयोगी मनहरुलाई दिन चाहान्छौ’, उनले भने । मानवीय सेवा नै धर्म भएकाले आफूहरुले समस्यामा रहेकाहरुको वास्तविक समस्या बुझेर सक्दो सहयोगमा जुट्ने र यस कार्यलाई निरन्तरता दिने उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया