करेन्ट लागेर गम्भिर घाईते प्रहरीलाई पोखरा रिफर गरियो

समाधान संवाददाता २०७९ साउन १३ गते २१:०२

जोमसोम– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक राम बहादुर थापा करेन्ट लागेर गम्भिर घाईते भएका छन् । पर्वत घर भई लामो समय मुस्ताङमा कार्यरत प्रहरी सहायक निरीक्षक थापालाई शुक्रबार साँझ लुप्रा–पान्डा खोला नजिक खोलाको डाईभर्सन हेर्ने क्रममा शुक्रबार साँझ करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
बर्खायामको मौसमसंगै बिहिबार राति परेको अविरल वर्षाका कारण मुस्ताङको लुप्रा–पान्डा खोलाले धार परिवर्तन गर्दा सवारी आवागमन अवरुद्ध भएको थियो । त्यहाँ कालिगण्डकी करिडोर सडकले निर्माण गरेको ५० मिटरको पक्की पुुल छोडेर खोलाले धार परिवर्तन गरेको थियो । शुक्रबार साझँ डोजरले खोला फर्काउने क्रममा गम्भिर घाईते प्रहरी निरीक्षक थापा खोला तर्काउने मार्ग खोज्न पुलको पूर्वतर्फ केही पर पुगेका थिए । उनी फर्किने क्रममा खोलाको उत्तरतर्फको किनारामा रहेको बिद्युत पोल छेउ करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । त्यहाको बिद्युत पोलमा नाङ्गो बिद्युत तार लत्रिएको त्यसमा टाँउको ठोक्किएर करेन्ट लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
बिद्युत पोल नजिक करेन्ट सट भएको वा नाङ्गो तार लत्रिएको अनुमान गरिएको छ । करेन्ट लागेर घाईते भएका कागबेनीका प्रहरी ईञ्चार्ज थापालाई उपचारका लागि जोमसोम अस्पतालमा ल्याएकोमा अहिले थप उपचारका लागि पोखरा लैजाने तयारी भईरहेको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।
यता ,मुस्ताङ जिल्ला अस्पतालले करेन्ट लागेर घाईते भएका प्रहरीको टाउँकोमा गम्भिर चोट लागेका कारण सिटी स्क्यान गर्नुपर्ने भन्दै पोखरा रिफर गरेको जनाएको छ । अस्पतालका एमडिजीपी डक्टर कुन्दन कर्णका अनुसार करेन्ट लागेर गम्भिर घाईत भएका प्रहरीको बिद्युत हाईटेन्सन लाईनका कारण टाउँकोमा गम्भिर चोट लागेको छ । घाईते प्रहरी बेहोस अवस्थामा छन् ।तर,उनको मुटुको गति भने सामान्य रहेको अस्पतालका डा. कर्णले बताए ।

तपाईको प्रतिक्रिया