महतगौंडामा फिस्टेल फनपार्क सञ्चालन

समाधान संवाददाता २०७९ साउन १५ गते ११:३४

पोखरा ।
सहरी क्षेत्रभित्रै शान्त र मनोरम ठाउँ, सबै उमेरकालाई मनोरञ्जन, विरलै सम्भव हुन्छ । आयु इन्टरटेनमेन्ट प्रालिले पोखरा १७ महतगौंडा, सीतापाइलामा यस्तै फरक काम थालेको छ । चर्चित ढुंगेसाँघु मेला लाग्ने ठाउँनजिकै शनिबारबाट फिस्टेल ड्रिमपार्क सञ्चालनमा आएको हो । ६५ रोपनीमा नेपालकै ठूलो र सुविधासम्पन्न फनपार्क बनेको छ ।

Advertisement

प्रालिका अध्यक्ष कदम केसीले बच्चादेखि वृद्धसम्म सबैलाई १ दिनभरि मनोरञ्जन दिन सक्ने फनपार्क अनौपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिए । ड्रिमपार्क पोखराकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने उनको दाबी छ । ०७५ वैशाख १ मा यसको शिलान्यास भएको थियो । कतिपय खेल नेपालमै पहिलो पटक सुरुवात गरिएको अध्यक्ष केसीले जानकारी दिए । ‘सुरक्षा, यहाँ प्रयोग भएका उपकरणहरु अन्तर्राष्ट्रिय स्तरका छन् । हामी पोखरेली, नेपाली र पर्यटकलाई समेत अन्तर्राष्ट्रिय स्तरको सेवा दिन तयार भएका छौं,’ उनले भने ।

पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउनसमेत पार्कले भूमिका खेल्ने उनको विश्वास छ । नेपालमा धेरै फनपार्क सञ्चालनमा भए पनि नयाँ प्रविधि र पूर्ण कर्पाेरेट तवरले पहिलो पटक आफूहरुले काम गरेको उनको दाबी छ ।
रोलर कोस्टर, वाटर स्पास, रक क्लाइम्बिङ, जिप फ्लायर जस्ता इभेन्टसमेत चाडै चलाउने प्रालिको योजना छ । विभिन्न उत्सव पार्कमै मनाउन चाहने र समूहमा आउनेलाई विशेष छुट दिइएको उनले जनाए ।

शनिबारबाटै वाटर जोन सञ्चालनमा आएको छ । वाटर जोनमा पनि बच्चा, युवा र वयस्कले फरक फरक तवरले मज्जा लिन मिल्ने ११ इभेन्ट छन् । लेजी रिभर, फेमिली स्लाइड पुल, बच्चाको पुल, वेभ पुल यहाँ रहने छन् । वेभ पुलमा समुद्रबाट निकै टाढा रहेको नेपालभित्रै नेपालीले समुद्रको झल्को आउने छालको मजा लिन पाउँछन् । २० मिटर अग्लो फ्रिफल, फेमिली रोलर कोस्टर ड्राइपार्कका मुख्य आकर्षण भएको फनपार्कका डाइरेक्टर भरत गौतमले बताए । फनपार्क परिसरमै बनिरहेको सुविधा सम्पन्न रेस्टुरेन्ट चाडै सञ्चालनमा आउनेछ ।

वयस्कका लागि बनेको स्लाइड पुल करिब १२ मिटर अग्लो छ । माथिसम्म हिडेर जाने र स्लाइडबाट तल आइपुगिन्छ । अर्काे आकर्षण हो टोर्नाडो पुल । भुमरी जस्तो यो पुलले अर्काे विशेष आनन्द दिन्छ । वाटर जोनमै पुलविहीन सोफा स्लाइड पनि बनेको छ । ३ देखि ७, ८ वर्षका बच्चाका लागि किड्स प्ले जोन तयार छ । ग्रान्ड ओपनिङ असोजमा गर्ने गरी पार्क अनौपचारिक रुपमा सञ्चालनमा आएको मार्केटिङ डाइरेक्ट हिरा केसीले बताए । उनले भने, ‘हाम्रा बच्चाहरु जेमा रमाउँछन्, त्यही खालका इभेन्ट यहाँ छन् ।’

Advertisement

पार्कभित्रै स्केटिङको मज्जा पनि लिन मिल्छ । वाटर जोन हिउँदमा कम चल्छ । हिउँद याममा पनि आगन्तुकलाई मनोरञ्जन दिन ड्राइ पार्कमा १२/१५ थरि इभेन्ट चल्नेछन् । पार्कमा आधा कास्की र आधा बाहिरका मानिस भित्र्याउने योजना छ । पार्कका डाइरेक्टर भरत गौतम भन्छन्, ‘रमाइलो पनि हुने, कोलाहल पनि नहुने गरी २ देखि ३ हजारलाई एकै पटक इङ्गेज गर्न सक्छौं । फनपार्क सस्टेन हुन दैनिक ५ सय र वर्षमा करिब २ लाख मानिसको यहाँ आवागमन हुनुपर्छ ।’ पार्क पूर्ण रुपमा सञ्चालनमा आएपछि करिब २ सयले प्रत्यक्ष रोजगारी पाउने छन् ।

तपाईको प्रतिक्रिया