जर्ज जोन प्रतिष्ठानमा सम्मान

समाधान संवाददाता २०७९ साउन २२ गते ११:००

पोखरा ।
शिक्षासेवी जर्ज जोनको नाममा स्थापित जर्ज जोन प्रतिष्ठानको शिक्षासेवी सम्मान, छात्रवृत्ति वितरण एवं २४ औं वार्षिकोत्सव शुक्रबार भएको छ । कार्यक्रममा बेनी क्याम्पस म्याग्दीका पूर्व अध्यक्ष बालकृष्ण सुवेदी, पृथ्वीनारायण क्याम्पसका प्राडा विकास केसी, प्राडा मीन पुन, शितलादेवी सामुदायिक विद्यालय पोखराका अध्यक्ष टीकाबहादुर कार्की, महेन्द्र मावि घार्मीका पूर्व अध्यक्ष हुतराज शर्मा पौडेल र पृथ्वीनारायण क्याम्पसकी कार्यालय सहायक मनसुबा थापा सम्मानित भए ।

Advertisement

उनीहरुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दोसल्ला र सम्मानपत्रले सम्मान गरे । विश्वविद्यालय तथा विद्यालय तहमा अध्ययनरत विपन्न एवं जेहेन्दार विद्यार्थीलाई कार्यक्रममा छात्रवृत्ति वितरण गरियो । पोखराको पृथ्वीनारायण क्याम्पसको विज्ञान संकाय तेस्रो र दोस्रो वर्षमा अध्ययनरत सरिता सुनार र लीलाधर भट्ट तथा भद्रकाली मावि कक्षा ५ मा अध्ययनरत कर्ण बोहोराले छात्रवृत्ति पाएका छन् ।

कार्यक्रममा प्रदेश प्रमुख गुरुङले जर्ज जोनलाई भगवानको उपमा दिँदै समग्र गण्डकी प्रदेशमा शिक्षाको ज्योति फैलाउन उनको अतुलनीय योगदान रहेको जनाए । प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रश्वर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य अरुणा शेरचन, सचिव राजीव पहारी, सम्मानित व्यक्तित्वको तर्फबाट बालकृष्ण सुवेदी, प्राडा विकास केसी, पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा सरोज कोइराला, पोखराका मेयर धनराज आचार्य, प्रतिष्ठानका उपाध्यक्ष रामगोपाल ढेवाजु, प्रतिष्ठानका सदस्य अर्जुन अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया