आगलागी पीडितलाई साढे २ लाख सहयाेग

समाधान संवाददाता २०७९ साउन ३० गते ११:४५

पोखरा ।
मर्दीखोला सेवा समिति कास्की हङकङ समाजले कास्कीका आगलागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । माछापुच्छ्रे गाउँपालिका ८ लुम्रेका गोलमान गुरुङको परिवारलाई वडाध्यक्ष रामबहादुर गुरुङको उपस्थितिमा समाजले २ लाख ५६ हजार ५ सय ६ रुपैयाँ सहयोग गरेको हो ।

Advertisement

मर्दीखोला सेवा समिति कास्की हङकङ समाज महिला समितिका सचिव बद्रीलक्ष्मी गुरुङ, आजीवन सदस्य दिलबहादुर गुरुङ र निशा पौडेलले उक्त रकम पीडित परिवारका सदस्य लक्ष्मी गुरुङलाई प्रदान गरे । गत जेठ ५ गते कास्कीको माछापुच्छ्रे गाँउपालिका ८ लुम्रे निवासी गोलमान गुरुङको घरमा ग्याँसको सिलिन्डर पड्केर आगलागी भएको थियो । आगलागीबाट करिब ३० लाखको क्षति भएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

‘ग्यास लिक भएर सबै आगलागी भएपछि निभाउने धेरै प्रयास भयो तर सकिएन,’ उनले भने, ‘लुगाफाटा, गरगहना सबै गर्दा करिब ३० लाख जतिको क्षति भयो होला ।’ विदेशी भूमिमा रहे पनि मानवतालाई भूगोलले नछेक्ने भएकाले नेपालीलाई सहयोग जुटाउँदै आएको समाजकी महिला संघ सचिव बद्रीलक्ष्मी गुरुङले जनाइन् । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उनको प्रतिवद्धता छ ।

कार्यक्रममा निशा पौडेलले मानवीय सेवा नै धर्म भएकाले आफूहरुले समस्यामा रहेकाको वास्तविक समस्या बुझेर सक्दो सहयोगमा जुट्ने बताईन् । हङकङमा रहेका मर्दीखोला सेवा समिति कास्की हङकङ समाजका पदाधिकारी, साधारण सदस्य तथा शुभचिन्तक र बिदामा नेपाल आएकाबाट उक्त रकम संकलन गरिएको गुरुङले जानकारी दिइन् ।

वडाध्यक्ष गुरुङले विदेशी भूमिमा रहेर पनि जन्मभूमिमा भएको समस्या र दुःख पीडालाई आत्मसात गरी सहयोग रकम जुटाएकोमा धन्यवाद दिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे ८ का वडा सदस्य रामहरि गुरुङले कठिन अवस्थामा एकअर्काको साथमा अघि बढ्नु नै मानवता भएको धारणा राखे । पीडित लक्ष्मी गुरुङ सहयोग रकमले घर निर्माण गर्ने बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया