मणिपालद्वारा मधेसको शिक्षा र स्वास्थ्यमा अर्बौं लगानी

समाधान संवाददाता २०७९ साउन ३० गते १८:१८

पोखराको मणिपाल अस्पतालमा मुटु र मस्तिष्कको उपचार सुविधा उपलब्ध गराउने
जलेश्वरमा इन्जिनियरिङ प्राविधिक कलेज तथा जनकपुरमा ३०० शैंयाको अस्पताल
आफ्नै भवन मधेस स्वास्थ्य प्रतिष्ठानले खाली नगर्दा अस्पताल सञ्चालनमा ढिलाइ

पोखरा ।
मणिपाल मेडिकल एजुकेसन एन्ड मेडिकल ग्रुपले मधेस प्रदेशको शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गर्ने भएको छ । बतास अर्गनाइजेसन अन्तर्गतको बापो होल्डिङ्सले सञ्चालन गरिरहेको उक्त ग्रुपले मधेस प्रदेशको जलेश्वर नगरपालिकामा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रिय स्तरको प्राविधिक कलेज सञ्चालन गर्न र जनकपुरमा ३०० शैंयाको अस्पताल स्थापना गर्न लागेको ग्रुपका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।

Advertisement

जलेश्वरमा मणिपालको तत्कालीन सञ्चालक समूहले अढाई दशकअघि खरिद गरेको करिब ३५ बिघा जग्गामा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रिय स्तरको प्राविधिक कलेज सञ्चालनमा ल्याउनका लागि अघि बढिसकेको अध्यक्ष बतासले बताए । धनुषाको जनकपुरमा निर्माण भएको ३०० शैंयाको अस्पताललाई तत्काल सञ्चालनमा ल्याउन ग्रुप अघि बढेको अध्यक्ष बतासको भनाइ छ । यसअघि २७ करोड लगानी भएको अस्पताल संचालनमा आउन सकेको छैन ।

विगतमा माओवादी आन्दोलन र मधेश आन्दोलनले गर्दा मणिपालले निर्माण गरेको अस्पताल भवन भग्नावशेष स्थितिमा रहेको थियो । कोरोना कालमा मानवीयताका आधारमा मधेस स्वास्थ्य प्रतिष्ठानका नाममा काम चलाउ अस्पताल सञ्चालन गरिएको थियो । हाल प्रदेश सरकारले प्रतिष्ठानलाई भवन खालि गर्न आग्रह गरेसँगै उक्त अस्पताल भवनको नजिकै रहेको गुठी संस्थानको जग्गा भाडामा सञ्चालन गर्ने गरी करार सम्झौता भइसकेको अध्यक्ष बतासले जानकारी दिए । उक्त भवनमा मधेस स्वास्थ्य प्रतिष्ठानले कोभिड अस्पताल रुपमा संचालन गरिहेकाले भवन खाली गर्न असार २३ गते सामाजिक विकास मन्त्रालयलाई प्रतिष्ठानले पत्र लेखेको थियो ।

Advertisement

जनकपुरबासी तथा छिमेकी मुलुक भारतका सीमा क्षेत्रका जनताको स्वास्थ्य सुविधालाई समेत मध्यनजर गर्दै बतास अर्गनाइजेसनका भगिनी संस्था बापो होल्डिङ्स ग्रुपले अस्पताल सञ्चालन गर्ने तयारी गरेको हो । अस्पताल भवन केही महिनाभित्र खाली हुने जानकारी प्राप्त भए पनि यसमा भएको ढिलाइ तथा चलखेलमा केही समूह सक्रिय हुँदा स्थानीयबासी आक्रोसित छन् । मणिपाल ग्रुपले गुणस्तरीय र सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्ने स्थानीय स्तरमै स्वास्थ्य सेवा पाउन सक्ने भए पनि भवन खाली गर्न ढिलाइले स्थानीयमा आक्रोस पैदा गरेको हो ।

यता मणिपालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले जलेश्वर नगरपालिकामा लामो समय देखि निर्माण हुन नसकेको इन्जिनियरिङ कलेजको निर्माण कार्य तत्काल थालनी गर्ने प्रतिवद्धता जनाएका छन् । नगरपालिकालाई प्रमुख कार्यकारी अधिकृत ओडुभिलले लेखेको उक्त पत्रमा जलेश्वरमा इन्जिनियरिङ कलेज साथै अन्तर्राष्ट्रिय स्तरको प्राविधिक कलेजसमेत सञ्चालन गर्ने उल्लेख छ । भारतीय व्यवस्थापन रहँदा मणिपालको कलेज सञ्चालनका लागि ३५ बिघा जग्गा विगत २४ वर्ष अघि खरिद गरेकोमा इन्जिनियरिङ कलेज सञ्चालन हुने भनिए पनि कलेज सञ्चालनका लागि हालसम्म नक्सापास गर्ने कामबाहेक अरू कुनै थप कार्य भएको थिएन ।

कलेज सञ्चालनका लागि जलेश्वर नगरपालिकासँग सार्वजनिक निजी साझेदारी निति अन्र्तगत विभिन्न सिपमूलक तालिम समेत सञ्चालन गरिने जनाइएको छ । उक्त स्थानमा सञ्चालनमा आउने विभिन्न कलेजहरुमा स्थानीय जनतालाई रोजगारी र छात्रवृत्तिमा पहिलो प्राथमिकता समेत दिइने पत्रमा उल्लेख गरिएको छ ।

भारतीय व्यवस्थापनले २५ वर्ष देखि सञ्चालन गर्दै आएको पोखरास्थित मणिपाल मेडिकल कलेज ग्रुप (नेपाल) विभिन्न विवाद र विरोधका बाबजुत केही महिना अगाडि मात्र बतास अर्गनाइजेसन अन्तर्गतको बापो ओल्डिङ्स ग्रुपले खरिद गरेको हो । ग्रुपले सम्पूर्ण सरकारी प्रक्रिया र स्वीकृत पश्चात पूर्ण स्वामित्व खरिद गरेको जनाइएको छ । अर्गनाइजेसनका अध्यक्ष आनन्द बतासले पोखराको मणिपाल अस्पतालमै मुटु र मस्तिष्कको उपचार सुविधा उपलब्ध गराइने पनि बताएका छन् ।

अहिले मणिपालका श्रीलंका र भारत लगायत देशबाट पनि विद्यार्थी चिकित्साशास्त्र अध्ययनका लागि भर्ना भएका छन् । बतासले पोखरालाई मेडिकल गन्तव्यका रुपमा विकास गर्ने सुनाए ।

तपाईको प्रतिक्रिया