
जोमसोम ।
हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथमा अहिले दुईथरी व्यक्तिले भक्तजनबाट चन्दा संकलन गरिरहेका छन् । समितिको स्थापना कालदेखि गतवर्षसम्म मुक्तिनाथ विकास समितिले खटाईएको कर्मचारीले मात्र मुक्तिनाथ मन्दिरमा रसिद काटेर चन्दा संकलन गर्ने गरेकोमा यसवषदेखि सीमित समयका लागि दोश्रो पक्षलाई समेत रसिद काटेर चन्दा संकलन गर्न पाउने अख्तियार मुक्तिनाथ विकास समितिले दिएको छ ।
मुक्तिनाथ विकास समितिले समितिको बैठकमा लिखित माईन्यूटिङ नगरी मौखिक सहमतीको भरमा दोश्रो पक्षलाई चन्दा संकलन गर्ने अनुमती दिइएको हो । मुक्तिनाथ विकास समितिका सदस्य सचिव हरिबहादुर भुजेलका अनुसार मुक्तिनाथ सिढी बाटोको रकम भुक्तानी तथा सिढी बाटो थप स्तरोन्नतिका लागि समितिको नाम र छाप प्रयोग गर्ने गरी नियन्त्रित खाता तयार गरी २०/२० दिनमा समितिलाई रिपोटिङ गर्ने सम्झौता गरी निकास तत्कालको निकास दिन चन्दा संकलन गर्न दिने अख्तियार दिइएको जानकारी दिए ।
‘तिर्थालुकै लागि बाटो बनाउने प्रयोजनका लागि चन्दा संकलन हो, सदस्य सचिव भुजेलले थपे, ‘हालसम्म काम भईरहेको बाटोमा रकम अपुग भएर भुक्तानी रोकियो, त्यसैलाई सुल्झाउन समितिले वैधानिक रुपले नै दोश्रो पक्षलाई चन्दा संकलन गर्न दिने अधिकार दिएको हो ।’
सिढी बाटो समस्या सुल्झाउन मुक्तिनाथ विकास समिति र स्थानीय संरक्षण समितिबीच मौखिक सहमती भएको सदस्य सचिव भुजेलले उल्लेख गरे । समितिको बैठकमा दोस्रो पक्षलाई लिखित चन्दा संकलन गर्ने दिने निर्णय नभएको उनले बताए । यस प्रकारका समस्या र बाधा फुकाउ समस्या अरु धार्मिक स्थलमा पनि रहेको उल्लेख गर्दै सदस्य सचिव भुजेलले भने समितिकै निगरानीमा चन्दा संकलन गरेको त्यसले समस्याको निकास दिने बताए ।
दोस्रो पक्षलाई चन्दा संकलन गर्ने अख्तियारी किन
२०७६/०७७ सालको जेठ महिनामा भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले १ करोड रुपैया बजेट मुक्तिनाथ मन्दिर जाने रेलिङ सिंढी बाटो बनाउन विनियोजन गर्यो । तर सडक डिभिजन, कालिगण्डकी करिडोर र मुक्तिनाथ विकास समितिले मुक्तिनाथ जाने सिंढी बाटोको डिपिआर गरेन । सडक डिभिजनले त्यससमय हचुवाको भरमा ठेक्का आह्वान गर्यो ।
ठेक्कापछि मुक्तिनाथ सिंढीबाटोको जिम्मा खिङ्गा कन्ट्रक्सनले ६८ लाखमा ठेक्का सम्झौता गर्यो । सुरुवाती चरणमा सिंढी बाटो कसरी निर्माण गर्ने बिषयमा स्थानीय र मुक्तिनाथ विकास समितिबीच विवाद उत्पन्न भयो । ठेक्का सम्झौताको केही महिनापछि सिंढी बाटो निर्माण बारे सहमती भयो । सहमतीमा मुक्तिनाथको तल्लो गेट देखि उपल्लो गेटसम्म सिधै सिंढी बाटो लैजाने निर्णय भयो । कुल ३०५ मिटर सिंढी बाटो सिधैं लैजादैँ गर्दा सम्झौता भन्दा बढी बाटोको परिमाण वृद्धि भई लागत बढ्यो तर, बाटोको परिणाम र लागत बढेपनि कन्ट्रक्सनले कामलाई निरन्तरता दियो ।
कन्ट्रक्सनलाई जिल्लाका सांसद, राजनितिक दल, स्थानीय संरक्षण समिति लगायतको आश्वासनमा कामको परिमाण बढेको रकम कुनै माध्यमबाट उपलब्ध गराउने गरी सिंढी बाटोको कामलाई जारी राख्ने विश्वाश दिलाए । मुक्तिनाथ सिंढी बाटोको पूर्व ठेक्का सम्झौता भन्दा बाहेक परिमाण र लागत वृद्धि भई अनुमानित ९० लाखको काम बढी खर्च देखियो । स्थानीय संरक्षण समिति, कन्ट्रक्सन, सांसद र राजनितिक दलका प्रतिनिधिले मुक्तिनाथ विकास समितिले बाटोको परिमाण बढी भई बढी भएको कामको रकम दिन माग गरे ।
तर,सिंढी बाटोको परिमाण बढेको भिओ सडक डिभिजन र मुक्तिनाथ विकास समितिसंग स्वीकृत नगरी काम गरेकाले खरिद नियमावली प्रक्रिया विपरित भएकाले समितिले कोषको रकम दिन ईन्कार गर्यो । कन्ट्रक्सनले बाटोको परिमाण र लागत बढेको भिओ दावी पेश सम्वन्धित निकायमा नगरेकाले सिंढी बाटो निर्माणको थप बजेट भुक्तानीमा समस्या आएको हो ।
मुक्तिनाथ विकास समितिले सिंढी बाटोको लागत भन्दा परिमाण बढ्न गई बढी काम भएको भएपनि खरिद नियमावलीको प्रक्रियामा नगएकाले समितिले रकम दिन ईन्कार गरेको हो । समितिले दोस्रो बाटो अपनाएर समितिकै नाम र छाप प्रयोग गर्ने परिणाम बढेको रकम उठाउने गरी सिंढी बाटो निर्माण सहयोग भनी चन्दा उठाउने अख्तियारी दियो । यता, निर्माण कन्ट्रक्सनले ठेक्का सम्झौता भन्दा बढी परिणाम बढेकाले करिव ९० लाखको बढी काम भएको र सोको भुक्तानी पाउनु पर्ने अडान राखेको छ ।
मुक्तिननाथ विकास समितिको खातामा करिव ६ करोड रकम मौज्याद छ । तर, समितिले उक्त रकम खरिद नियमावली विपरित सिंढी बाटोका लागि रकम दिन नमिल्ने अडान राखेको थियो तर, समितिकै नाममा मुक्तिनाथमा अहिले दुई थरी व्यक्तिले चन्दा संकलन रसिद काटेका छन् । समितिले भक्तजनले स्वेच्छ्याले चन्दा दान गर्नसक्ने र त्यो समितिकै आम्दानी भएको जनाएको छ । समितिकै खाताको रकम दिन नसकेको समितिले समितिकै नाममा काटेको रसिद संकलन रकमले सिंढी बाटोको समस्या समाधान गर्ने अख्तियारी मुक्तिनाथ विकास समितिले दिएको हो ।
मुक्तिनाथ विकास समिति भन्दा बाहिर मन्दिरमा चढ्ने र चढाईने नगद तथा जिन्सी भेटी त्यहा रहेका आनी झुमा लिन्छन् । पुजारीले पनि आफुलाई आएको भेटी व्यक्तिगत रुपमा आफैसंग राख्छन् । सिंढी बाटोको समस्यालाई सुल्झाउन त्यही मन्दिरमा रहने आनी, झुमा र पुजारीबाटै दिन सकिने एकथरीको बुझाई छ । कतिपय सरोकारवालाहरुले मुक्तिनाथमा चढ्ने चढाईने भेटीको पारदर्शीताको बिषयमा प्रश्न उठाउने गरेको पाईएको छ ।
पवित्र धार्मिक स्थलमा दुई ठाउँबाट रसिद काटेर चन्दा संकलन गर्ने परिपाटीले मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई मनोवैज्ञानिक असर परेको देखिन्छ । मुक्तिनाथमा ठाउँ ठाउँमा चन्दा संकलन गर्ने परिपाटीले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा मुक्तिनाथप्रति नकारात्मक सन्देश प्रवाह हुनसक्ने जानकारहरु बताउँछन् ।


सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया