मुस्ताङ अस्पताल ४ महिनादेखि नेतृत्वविहीन

समाधान संवाददाता २०७९ भदौ ४ गते १७:५५

जोमसोम ।
मुस्ताङको जोमसोममा रहेको जिल्ला अस्पताल विगत ४ महिनादेखि नेतृत्वविहीन छ । आर्थिक वर्ष २०७८÷०७९ को फागुन ११ गते गण्डकी प्रदेशको सिफारिसमा अध्यक्ष पदमा पदभार ग्रहण गरेकी घरपझोङ २ माफाकी कमला लालचनले राजीनामा दिएकी थिइन् । त्यसपछि मुस्ताङ अस्पतालको अध्यक्ष पद खाली छ ।

Advertisement


नेपाली कांग्रेसमा आवद्ध मार्फाकी समाजसेवी लालचनलाई गण्डकी प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त गरेको थियो । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार बन्ने भएपछि लालचनले समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन् । उनी नेपाली कांग्रेसको घरपझोङ गाउँपालिकाको कमिटी कोषाध्यक्ष थिइन् । स्थानीय निर्वाचनमा उनी कांग्रेस त्यागेर राप्रपामा पार्टी प्रवेश गरेकी थिइन् ।


यसअघि मुस्ताङ जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्ष संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङलेसम्हालेका थिए । उनको ३ वर्षीय कार्यकाल पूरा भएसँगै मार्फाकी लालचन अध्यक्ष बनेकी थिइन् । मार्फाकी लालचनले राजीनामा दिएको ४ महिना बितिसक्दा समेत मुस्ताङ जिल्ला अस्पतालले नेतृत्व गर्ने नयाँ अध्यक्ष पाउन सकेको छैन ।

Advertisement


अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन विशाल तिवारीले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष प्रदेशले चाँडै नियुक्त गर्ने गृहकार्य भइरहेको जानकारी दिए । ‘अस्पतालको नेतृत्व ४ महिनादेखि रिक्त छ, नयाँ नेतृत्व आओस् भन्ने हाम्रो सोच हो,’ निमित्त मेसु तिवारीले भने, ‘प्रदेशले अध्यक्ष तोकेपछि नयाँ वा पुरानै समितिलाई निरन्तरता दिने भन्ने अध्यक्षको सो विवेकमा भर पर्छ ।’
लामो समयदेखि मुस्ताङ जिल्ला अस्पताल नेतृत्वविहीन रहँदा अस्पताल दिने सेवा, सुविधा तथा महत्वपूर्ण निर्णय गर्न अप्ठेरो परेको छ । कुनै पनि अस्पतालको अध्यक्ष पदमा बहाल हुने व्यक्ति ३० वर्ष उमेर पूरा भएको र स्नातकोत्तर उत्तीर्ण हुनुपर्छ ।


संघीयतापछि मुस्ताङ जिल्ला अस्पताल गण्डकी प्रदेशको स्वामित्वमा छ । गण्डकी प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेश निर्देशिका २०७५ अनुसार प्रदेशको सिफारिसमा जिल्लामा रहेका अस्पतालको अध्यक्ष चयन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ ।

Advertisement


प्रदेश सरकारले स्वास्थ्य वा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका प्रतिष्ठित व्यक्तिलाई मन्त्रालयले अध्यक्ष नियुक्त गर्छ । कार्यविधिमा कुनै पनि जिल्ला अस्पतालको अध्यक्ष पदमा रहने व्यक्तिको शैक्षिक योग्यता अस्पताल व्यवस्थापन गठन आदेश कार्यविधिमा स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, उद्योग वाणिज्य संघ, जिल्लाका प्रतिष्ठित व्यक्ति सदस्यमा रहन पाउने प्रावधान छ । अस्पतालको सदस्य सचिवमा अस्पतालका मेसु हुन्छन् ।

तपाईको प्रतिक्रिया