माछापुच्छ्रे गाउँका २ जनालाई ७८ र ६८ वर्षमा नागरिकता

रिखिराम जिसी
पोखरा ।
नेपालको कानुनमा १६ वर्ष पुगेपछि नागरिकता दिने प्रावधान छ । नेपालीले १६ वर्ष पूरा भएपछि वडा कार्यालयको सिफारिस साथ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउँछन् । असामान्य अवस्थाबाहेक अरु बेला १६ वर्ष पूरा भएपछि नागरिकता प्रदान गरिन्छ ।
तर कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का २ जनाले भने ७८ र ६८ वर्षसम्म नागरिकता पाएका थिएनन् । भुने गाउँका ७८ वर्षीय डमरबहादुर गुरुङ र घलेल गाउँका ६८ वर्षीय दानबहादुर गुरुङले मंगलबारमात्रै नागरिकता पाएका छन् ।
माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरुङका अनुसार उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकता दिएको हो । स्थानीयले २ वृद्धले नागरिकता नपाएको जानकारी दिएपछि नागरिकता बनाउन पहल गरेको वडाध्यक्ष गुरुङले सुनाए ।
‘दुवै एकल पुरुष हुन् । उनीहरु कहिले कता, कहिले कता बस्ने, काम गर्ने गर्थे । त्यसैले नागरिकता बनाउने वास्ता गरेनन्,’ वडाध्यक्ष गुरुङले भने, ‘वृद्ध भएपछि घरमै बस्न थाले । बल्ल थाहा भयो नागरिकता चाहिने रहेछ ।’ नागरिकता नहुँदा उनीहरु सरकारी सेवा, सुविधाबाट बञ्चित थिए ।
दानबहादुर प्यारालाइसिसका बिरामी पनि हुन् । दुवैको ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता लिने उमेर पुगेको छ । नागरिकता पाएसँगै सामाजिक सुरक्षा भत्तासँगै अन्य सरकारी सेवा, सुविधा लिने बाटो खुलेको छ । ‘नागरिकता नहुँदा सामाजिक सुरक्षा सुविधाबाट बञ्चित थिए । अब सम्पूर्ण सेवा, सुविधाका लागि प्रक्रिया सुरु गरेका छौँ,’ वडाध्यक्ष गुरुङले भने ।
वडाध्यक्ष गुरुङले नागरिकताको अभावका कोही ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकारबाट प्रदान गरिने सेवा, सुविधाबाट वञ्चित भए वडा कार्यालयमा जानकारी दिन आग्रह गरेका छन् । वृद्ध अवस्थामा नागरिकता पाएपछि डमरबहादुर र दानबहादुर दुवै खुसी छन् । अब सरकारी सेवा, सुविधा पाएपछि बुढेसकाल सहज रुपमा बित्ने उनीहरुको विश्वास छ ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया