प्रशिक्षण प्रतिष्ठानमा ६ हजार ८ सयलाई तालिम

पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले ६ हजार ८ सय ८७ जनालाई तालिम दिएको छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि लामो र छोटो अवधिका १ सय ६३ वटा तालिममा यी जनशक्ति सहभागी भएका हुन् । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले गण्डकी प्रदेश लोक सेवा आयोगद्वारा प्रदेश अन्तर्गतका कार्यालय र स्थानीय तहका लागि छनोट गरी सिफारिस भएका ८ सय २० जना प्राविधिक कर्मचारीलाई सेवा प्रवेशसम्बन्धी अभिमुखीकरण दिइएको बताए ।
प्रतिष्ठानले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक पाण्डेले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सोमबार मुख्यमन्त्रीलाई हस्तान्तन्तरण गरेका हुन् । प्रतिवेदन ग्रहणपछि मुख्यमन्त्री पोखरेलले जुन उद्देश्यले प्रतिष्ठान गठन गरिएको हो, त्यसै अनुरुप काम भएकामा सन्तोष व्यक्त गरे । नागरिकले पाउने सेवा प्रवाहको क्षेत्रमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई आवश्यकता अनुसारका तालिम प्रदान आगामी दिनमा प्रतिष्ठानले थप मेहनत गर्न मुख्यमन्त्री पोखरेलले निर्देशन दिए ।
संघीयतालाई संस्थागत गर्न र प्रदेश सरकारको औचित्य साबित गर्ने सवालमा अझ चिन्तशील भएर काम गर्न उनको निर्देशन थियो । मुख्यमन्त्री पोखरेलले अन्य प्रदेश र गण्डकीमा स्थापित प्रतिष्ठान र तिनका कार्यसम्पादनका बारेमा समेत जिज्ञासा राखेका थिए । प्रतिष्ठानले यसै वर्ष क्वालिटी अस्ट्रियाबाट आइएसओ मान्यता प्राप्त गरेको छ । कार्यकारी निर्देशक पाण्डेले गत वर्षलाई रणनीतिक योजना बमोजिम आर्थिक, संस्थागत विकासको वर्षका रुपमा लिएर काम गरिएको बताए ।
प्रदेश तथा स्थानीय तहको लागि तालिम आवश्यकताको पहिचान र सोको आधारमा वार्षिक कार्यक्रम र बजेट निर्माण गरिएको जानकारी उनले गराए । स्थानीय तहको प्राथमिकतामा रहेको स्थानीय आर्थिक विकाससम्बन्धी प्रशिक्षण सामग्री प्रकाशन गरी सबै स्थानीय तहमा वितरण गरिएको उनले बताए । गत आवमा तालिम प्राप्त गरेका कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ जिल्लाका १६ वटा पालिकाका ५३ जना कर्मचारीसँग प्रशिक्षण कार्यक्रमको प्रभावकारिताको अनुगमनसमेत प्रतिष्ठानले गरेको छ ।
प्रदेश र स्थानीय तहमा कार्यरत छैटौं, सातौं र आठौं तहका कर्मचारीको सेवाकालीन तालिम पाठ्यक्रम निर्माण गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति यसै आर्थिक वर्षमा प्राप्त भएको समेत उनले जानकारी गराए । प्रतिष्ठानले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत विभिन्न कार्यसमेत गर्दै आएको छ । जस अनुसार ८ स्थानीय तहको आवधिक योजना तर्जुमा, २९ वटा पालिकाको राजस्व सुधार कार्ययोजना निर्माण, २० वटा पालिकाको क्षमता विकास योजना निर्माण गरिएको छ ।
कार्यकारी निर्देश पाण्डेका अनुसार ४४ पालिकाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति निर्माण, ४९ पालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गरिएको छ । यसैगरी प्रदेशका सबै स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्यांकन, सबै स्थानीय तहमा लैंगिक संवेदनशील बजेट र लैंगिक समानता तथा सामाजिक समावेशीकरण अभिमुखीकरण गरिएको छ ।
उक्त अवसरमा प्रमुख सचिव रविराज पन्थ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्य र मनमाया पंगेनी भट्टराई लगायत सहभागी थिए ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया