पोखरा स्पोर्टस् अवार्डमा ४ लाख बचत

समाधान संवाददाता २०७९ भदौ ८ गते १०:४७

पोखरा ।
पोखरामा गत असार १८ गते सञ्चालन भएको छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ बाट करिब ४ लाख बचत भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा कार्यक्रम गर्दै स्पोर्टस् अवार्डबाट ३ लाख ७४ हजार ८ सय ७६ रुपैयाँ बचत भएको जनाएको हो ।

Advertisement

अवार्डबाट २२ लाख ९ हजार १ सय ६३ रुपैयाँ आम्दानी भएको थियो । जसअन्तर्गत विभिन्न शीर्षकमा १८ लाख ३४ हजार २ सय ८७ रुपैयाँ खर्च भएको मञ्चकी कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्तीमगरले बताइन् । विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यक्तिबाट २ लाख ३९ हजार रुपैयाँ संकलन हुन बाँकी रहेको कोषाध्यक्ष घर्तीले बताइन् । १ लाख ३ हजार १ सय २३ रुपैयाँ मञ्चले भुक्तानी गर्न बाँकी छ ।

छैटौं सस्करणको अवार्डमा वर्ष पुरुष/महिला खेलाडी प्रदीप खड्का र अरुणा शाही घोषित भएका थिए । उनीहरुलाई एक–एक थान ईलेक्ट्रिक स्कुटर प्रदान गरिएको थियो । लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ गण्डकी प्रदेश र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड कान्तिपुरकर्मीे दीपक परियार प्रदान गरिएको थियो । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड गर्दै आएको छ ।

Advertisement

मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एवं सल्लाहकार एकराज गिरी, नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशिकुमार पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा मञ्च छैटौं संस्करणको अवार्डमा सहयोग गर्ने स्पोन्सर, विभिन्न समितिका सदस्यलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया