तमु धिं नेपाल आमा समितिको सभा

समाधान संवाददाता २०७९ भदौ १२ गते १४:५३

पोखरा ।
तमु धिं नेपाल केन्द्रीय आमा समितिको शुक्रबार नवौं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले संस्था, समाज र मुलुक नै हाक्ने गरी महिलाले नेतृत्व विकास गर्नुपर्ने बताइए ।

Advertisement

उनले मुलुक पितृसत्तात्मक भए पनि तमु समुदायमा मातृसत्ता रहेकाले अब आमा दिदिबहिनीले परिवारबाट माथि उठेर नेतृत्व विकासमा जोड दिए । पैयूँखोला तमु समाजका सचिव रनबहादुर गुरुङले तमु आमाहरुको क्रियाशीलता र तमु धिं नेपालको ट्होटें पर्वमा राष्ट्र प्रमुखकै आगमनले तमुहरुको छाती फराकिलो भएको बताए ।

कार्यक्रममा सम्मानितहरु हिमाली गुरुङ परिवारकी शान्ति घले, बाँझापाटन तमु समाजकी युमाया गुरुङ र आमा समिति संस्थापक उपाध्यक्ष मिश्री गुरुङले बोलेका थिए । कार्यक्रममा तमु धिं नेपाल कार्यसमिति सदस्य एवम प्रचार विभाग प्रमुख सुरेन्द्र गुरुङ तमु कलाकार संघ गण्डकी प्रदेश समितिको पुनः अध्यक्ष बनेको सम्मानित भए । तमु धिं नेपाल युवा समिति संयोजक रमेश गुरुङ अन्नपूर्ण गाउँपालिका वडा नंं.९ को वडाध्यक्षमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरियो ।

आमा समितिले वर्षभरमा हिमाली गुरुङ परिवारकी शान्ति घलेलाई उत्कृष्ट सदस्य, बाँझापाटन तमु समाज आमा समितिलाई उत्कृष्ट आमा समिति, आमा समितिकी संस्थापक उपाध्यक्ष मिश्री गुरुङलाई सक्रिय ज्येष्ठ आमाबाट सम्मान गरिएको थियो । सभामा समितिकी सचिव बालकुमारी गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बालकुमारी गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।

कार्यक्रममा याङ्जाकोट तमु समाज आमा समितिले स्वागत गीत, गायिका प्रिया गुरुङले गीत र सिद्धार्थ तमु समाज आमा समितिबाट नृत्य प्रस्तुति गरेका थिए । तमु धिं नेपाल केन्द्रीय आमा समिति अध्यक्ष पञ्चकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष ऐनशोभा गुरुङ र सञ्चालन सहसचिव बालकुमारी गुरुङले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया