सराङकोटमा तीज मेला सुरु

पोखरा ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले संस्कृतिमा नेपालीपन हराउँदै गएमा राष्ट्रियतासमेत संकटमा पर्नसक्ने खतरा औंल्याएका छन् । सराङकोटमा आइतबारदेखि सुरु भएको प्रथम तीज मेलामा मन्त्री बरालले राष्ट्रियता भनेको भूगोलमात्र नभई संस्कृतिसँग समेत जोडिने बताए ।
उनले कुनै देशको संस्कृति हराउँदा राष्ट्रियता नै हराउन सक्ने खतरा हुने जनाए । तीजले नेपाली भाषा, समाजको यथार्थ झल्काउन सक्नुपर्ने उनको भनाइ छ । इतिहास हेर्दा कृषि पर्वको रुपमा तीज पर्वलाई मनाइने गरेको उनको भनाइ छ ।
नेपाली संस्कृतिलाई संरक्षण गर्नुपर्ने औंल्याउँदै मन्त्री बरालले पछिल्लो समय तीजमा विकृति बढ्दै गएको दाबी गरे । तीजमा हुने गरेका विकृति अन्त्य गर्न नसके तीज नेपाली परम्पराको पर्व नभई अन्य कसैको पर्वको रुपमा स्थापित हुन सक्ने खतरा उनले औंल्याए ।
एक महिनादेखि विभिन्न वहानामा दर खादै हिड्नु, विभिन्न प्रकारका नृत्य प्रदर्शन गर्नु उचित नहुने उनको भनाइ छ ।
अधिकार प्राप्तिसँगै आम नागरिकलाई अब कर्तव्य पालना गराउन उत्प्रेरणा जगाउनुपर्ने समय आएको उनले जनाए । निर्वाचनका बेलाको प्रतिवद्धता बमोजिम सराङकोटमा करिब ९५ प्रतिशत जनतामा खानेपानीको व्यवस्था भएको मन्त्री बरालको भनाइ छ ।
कांग्रेस नेतृ शारदा पौडेलले सराङकोटबासीलाई विकास र समृद्धिको लागि एक हुन आग्रह गरिन् । मञ्चका अध्यक्ष महेशकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १८ का अध्यक्ष शिव तिमिल्सिना, राष्ट्रिय भूमि आयोग कास्की प्रवक्ता आसबहादुर गुरुङ, कांग्रेस नेता डिल्लीराम तिमिल्सिना, नेकपा माओवादी केन्द्रका नेता राजु शर्मा तिमिल्सिना, पूर्णाखर तिमिल्सिना, नेकपा एकीकृत समाजवादीका नेता गंगाधर तिमिल्सिना, मञ्चका पूर्व अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना जोशी लगायतले बोलेका थिए ।
सराङकोटको अन्नपूर्ण सामुदायिक विकास मञ्च, महिला साना किसान कृषि सहकारी, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब अफ पोखरा सराङकोटको संयुक्त आयोजनामा भएको मेला भदौ १४ गतेसम्म चल्नेछ । मेलामा हुने तीजगीत प्रतियोगिताका विजेतालाई ६६ हजार ६ सय ६६, उपविजेतालाई ३३ हजार ३ सय ३३ र तेस्रो हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरिने भएको छ ।
तपाईको प्रतिक्रिया