किताब र कुचीमा धनराजको डोजर

अवैध संरचनामा डोजर चलाउनुको सट्टा आफ्नै स्वामित्वका संरचनामा डोजर चलाउनु ‘स्टन्ट’ भएको कला, साहित्य क्षेत्रका व्यक्तिहरुको तर्क

सञ्जय रानाभाट २०७९ भदौ २४ गते १०:१५

सञ्जय रानाभाट ।
पोखरा
सहरी विकासको सूचक भौतिक संरचनामात्र होइन, त्यहाँका मानिसको चेतनास्तर र सिर्जनशीलता पनि हो । भौतिक संरचना जति आवश्यक छन्, त्यति नै आवश्यक हुन्छ चेतनास्तर । स्थानीय अचेत भए विकासको अर्थ रहँदैन । तर, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य भने भौतिक संरचना गैरकानुनी भएको भन्दै सिर्जनशीलता र बौद्धिकताको थलो पुस्तकालय र आर्ट ग्यालरीमा बिहीबार डोजर लगाउन पुगे ।


पोखरा ८ महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पोखरा पुस्तकालय हटाएर त्यहाँ पार्क बनाउन ठाउँ खाली गर्नुपरेको भन्दै मेयर आचार्य डोजरसहित त्यहाँ पुगे । ३५ दिने सूचना दिएको र व्यवसायीले तल्लो तलामा रहेका सटर खाली नगरेको भन्दै त्यहाँ डोजर चलाइएको हो । पोखरा आर्ट ग्यालरीमा भदौ १० देखि सुरु सामूहिक कला प्रदर्शनी ‘अनन्त रेखाहरू’ भदौ २५ सम्म भएकाले त्यतिन्जेल प्रदर्शनी गर्न दिनुपर्ने माग कलाकारको भए पनि ग्यालरीकै रेखा मेट्न मेयर आचार्य पुगे ।


डोजर चलाएपछि मेयर आचार्यको कदमलाई पोखराको कला साहित्य र शैक्षिक क्षेत्रका व्यक्तिले भने ‘स्टन्ट’को संज्ञा दिएका छन् । महानगरमा रहेका अन्य अवैध संरचनामा डोजर चलाउनुको सट्टा आफ्नै स्वामित्वका संरचनामा डोजर चलाउनु ‘स्टन्ट’ भएको उनीहरुको तर्क छ ।

Advertisement


स्थानीय तहको चुुनावमा मेयरका उम्मेदवार बनेका लेखक गनेस पौडेलले महानगरको चर्कै आलोचना गरेका छन् । महानगरले कला, साहित्य, संस्कृतिलाई ध्यान नदिएको उनको आरोप छ । ‘सहरको एकमात्र सुचारू सार्वजनिक पुस्तकालय । एकमात्र आर्ट ग्यालरी । अब हुने छैनन् । मृत सहरले भेन्टिलेटरको तस्बिर देखाएर जोडिइराखिएको अक्सिजन माक्स पनि थुत्ने काम ग¥यो । थाहा छ, बेठिक ठाउँमा थियो । भत्काउनु पथ्र्याे । तर त्यसभन्दा अगावै तिनीहरूलाई स्थानान्तरण गर्न सकिन्थ्यो,’ पौडेलले लेखेका छन्, ‘आफ्नो बुद्धि र बुताले होइन अर्काको देखासिखीबाट हुने विकास यस्तै हुन्छ । अतिक्रमित जमिन फिर्ता ल्याउने र संरचना भत्काउने जोस नै पलाएको भए ५ हजार रोपनी सार्वजनिक जग्गा देखाइदिन्छु जसलाई व्यक्तिले ओगटेका छन् ।’


पौडेलले महानगरको आफ्नै जमिनमा भएको र नागरिकले सिर्जनशील सुविधा पाएको पुस्तकालय र आर्ट ग्यालरी भत्काउन हतारो गरेको आरोप लगाए । सुजन बास्तोलाले फेसबुकमा कमेन्ट गरेर महानगरको कदमप्रति चर्को आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘काम गर्न भन्दा पनि काम देखाउनको लागि गरिएको काम हो । यो डोजर लागाउनु नै काम देखाउने एउटामात्रै उपाय महानगरले ठानेको हो भने, पोखरामा यति धेरै संरचना छन् । जसलाई बरु दृष्टिविहीनहरुले देखेका छन् तर महानगर आँखा चिम्लेर बसेको छ ।’

Advertisement


पोखरा महानगरपालिका ८ महेन्द्रपुलमा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका दुई संरचनामा बिहीबार डोजर चलाएको थियो । महानगरले दुईपटक सात दिने र साउन १२ मा ३५ दिने सूचना निकालेर सटरमा पसल तथा कार्यालय चलाइरहेकालाई खाली गर्न भनेको थियो । म्याद सकिएपछि पनि व्यवसायले अटेर गरेको भन्दै बिहीबार बिहान मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मरासिनी लगायतको टोली डोजरसहित महेन्द्रपुल पुगेको थियो । उक्त टोलीले त्यहाँ भित्ता खोस्रिएर ठाउँ खाली गर्न अल्टिमेटम दिएर फर्केको छ ।


महानगरको उक्त भवन ४० वर्षअघि निर्माण गरिएका हुन् । त्यहाँ ३० सटर छन् । तर, भवन निर्माण गरेर भाडामा लगाएपनि महानगरले अहिलेसम्म भाडा बापतको बक्यौता उठाउन सकेको छैन । व्यवसायीलाई १ वर्षको भाडा छुट दिएर बाँकी बुझाउन पटकपटक ताकेता गर्दा समेत अहिलेसम्म ९ लाख ९२ हजार भाडा बापतको रकम महानगरले पाएको छ । अझै १ करोड ८७ लाख बढी भाडा असुल उपर गर्न बाँकी रहेको मेयर आचार्यले बताए ।


उक्त ठाउँमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना महानगर रहेको मेयर धनराज आचार्यले बताए । पोखराको सौन्दर्यलाई ध्यान राख्दै पार्क र सार्वजनिक शौचालय निर्माण गरिने उनको भनाइ छ । ‘महानगरले पृथ्वीचोकस्थित ट्राफिक प्रहरीको भवनमा ‘पोखरा घर’ बनाएर त्यहाँ पुस्तकालय र आर्ट ग्यालरी सार्छौं । त्यो भवनमा घण्टाघर हुन्छ ।

यस हिसाबले त्यो भवन नबन्दासम्म पुस्तकालय र आर्ट ग्यालरीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने महागरको योजना छ,’ मेयर आचार्यले भने । वडाध्यक्ष मर्सानीका अनुसार ट्राफिक जाम नहुने गरी अब संरचना भत्काइने जानकारी दिए । ‘अब यो नियमित प्रक्रिया हो । हामी ट्राफिक जामलाई ख्याल गरेर रातिमा संरचना भत्काउँछौं । केही सटरलाई समय दिएका छौं । अब यो निरन्तर जान्छ,’ वडाध्यक्ष मर्सानी भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया