पोखराका ‘फादर अफ एलोपेथिक मेडिसिन’

सञ्जय रानाभाट २०७९ भदौ २५ गते १२:२७

सञ्जय रानाभाट
पोखरा ।

पोखरामा विसं २०२६ देखि बिरामीको उपचार गरेका कुमार शमशेर राणाले अब बिरामीको उपचार गर्ने छैनन् । असंख्य बिरामीलाई निको पारेका राणाले अब कसैलाई निको पार्न सक्दैनन् । उनले शुक्रबार ८५ वर्षको उमेरमा अन्तिम सास फेरे ।

५ दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । राणा लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र दमका बिरामी थिए । तर, पछिल्लोपटक राणालाई निमोनिया देखिएको उपचारमा संलग्न डाक्टहरुले बताएका छन् ।
राणा १९९४ मा पाल्पा दरबारमा जन्मिएका थिए । उनी त्यहीँ हुर्के, बढे । डाक्टरी शिक्षाका लागि लखनउ गए । उनका ठूलो बुबा धनशमशेर राणाकालीन समयमा पोखराको अन्तिम बडाहाकिम थिए । उनी टोपकुमारी देवीको जेठो सन्तान हुन् । आधा शताब्दीदेखि पोखरामा स्वास्थ्य क्षेत्रमा खर्चेका उनलाई पोखरेलीले ‘फादर अफ एलोपेथिक मेडिसिन’को उपमा दिएका छन् ।

राणा पोखराका अग्रणी चिकित्सक हुन् । पोखराको स्वास्थ्य क्षेत्रको उन्नयनमा राणाको महत्वपूर्ण योगदान रहेको डा. बृद्धिबहादुर थापा बताउँछन् । ‘उहाँ मेरा सहकर्मी र छिमेकी हुनुहुन्छ । उहाँले पोखराको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान र हामीलाई सिकाएका ज्ञान उहाँ नरहे पनि जीवित रहन्छन्,’ डाक्टर थापा भन्छन् ।

Advertisement


डा थापा राणालाई पोखराको ‘फादर अफ एलोपेथिक मेडिसिन’ मान्छन् । विसं २०१९ मा स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका उनले नेपाल मेडिकल काउन्सिलमा २९ औं नम्बरमा लाइसेन्स लिएका थिए । उनको लाइसेन्स नम्बरबाट उनी पोखराको मात्रै नभई मुलुकै पहिलो पुस्ताको चिकित्सक भएको देखिन्छ ।

डाक्टरी शिक्षा २०१९ सालमा पूरा गरेपछि भक्तपुरबाट राणाले स्वास्थ्य क्षेत्रमा काम सुरु गरेका हुन् । भक्तपुर बुढो मावली भएकाले उनले पाटन अस्पतालमा काम गरे । ४/५ वर्ष काम गरेपछि २०२६ मा पोखरा आएका उनी पोखरेलीले सम्झने अग्रणी डाक्टर हुन् । भौतिक शरीर नरहे पनि पोखरेलीले लामो समयसम्म सम्झने गरी उनले योगदान दिएका छन् । उनी नियमित कामका बेला पोखरेलीहरु सकभर डाक्टर कुमार शमशेरसँग उपचार गराउन चाहन्थे ।

Advertisement

पोखरामा प्राइभेट नर्सिङ होम खोल्ने राणा पहिलो हुन् । भक्तपुरबाट पोखरा आएर लामो समय उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा काम गरे । तर, सरकारी अस्पतालको सेवा सुविधा मन नपरेपछि बिरामीलाई निजी अस्पतालबाट उपचार हुने गरी पद्म नर्सिङ सुरुवात गरे । यद्यपि उनी सस्तो शुल्कमा बिरामीले उपचार पाउनुपर्छ, उपचार गर्न नसके राज्यले निशुल्क रुपमा गराइदिनुपर्छ भन्ने पक्षमा थिए । निधनको १५ दिन अघिसम्म पनि उनले पद्म नर्सिङको ओपिडी वार्ड हेर्थे ।

पद्म नर्सिङमा उनले ५ सय रुपैयाँ टिकट शुल्क लिएर बिरामी हेर्थे । जब कि, अहिले पोखरामा टिकट खर्च बापत् डाक्टरहरुले ८ सय देखि १ हजार रुपैयाँसम्म लिन्छन् । स्वास्थ्यकर्मी कृष्ण आचार्य रचितका अनुसार उनले उपचारको खोजीमा अस्पताल पुगेका तर आर्थिक अवस्था कमजोर भएका थुपै्र बिरामीलाई निशुल्क उपचार गराइदिएको बताए । ‘हामी स्वास्थ्यकर्मी भएपछि पैसामात्रै हेर्नुहुँदैन । सेवाको भावले हामीहरु बिरामीको हेरचाह गर्नुपर्छ भन्नुहुन्थ्यो । सिनियर डाक्टर भएपनि शालीन स्वभाव थियो,’ आचार्यले भने, ‘मेडिकल माफियाहरु उहाँको अगाडि पर्ने सक्दैनथे । जसरी हुन्छ, प्राइभेट अस्पतालमा सस्तो शुल्कमा सेवा दिनुपर्छ भन्ने उहाँको ध्येय थियो ।’

उनको स्वर्गारोहणले पोखराको चिकित्सा इतिहासको मेरुदण्ड नै भाँचिएको आचार्यको भनाइ छ । ‘उहाँलाई पोखरेलीहरुले सदैव सम्झिरहने छन् । उहाँ पोखरेली सम्पति हो ।’ उनका अनुसार राणाले प्राइभेट अस्पताल खोल्नुको उद्देश्य बिरामीलाई २४ सै घण्टा सेवा सुविधा दिनुपर्छ भन्ने थियो । उनले भने, ‘उहाँले मलाई एकचोटि भन्नुभएको थियो, बिरामीलाई २४ सै घण्टा सेवा दिन निजी अस्पताल खोलेको हुँ भनेर । सरकारी अस्पताल १० बजेदेखि ५ बजेसम्म खोलेर बिरामीले सेवा सुविधा पाउँदैन । यसकारण मैले प्राइभेट अस्पताल खोलेको उहाँले बताउनुहुन्थ्यो ।’ राणाका छोरा र श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ । उनका बुहारी छोरी र नातिनातिना छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया