कास्कीका सबै क्षेत्रमा कांग्रेसको दाबी
माओवादी र एसले पनि १/१ क्षेत्र नछाड्ने

पोखरा ।
सत्ता गठबन्धनमा जारी भागबन्डाको घनिभूत छलफल केही दिन मत्थर हुने भएको छ । २ र ३ असोजमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् ।
बुधबारसम्म संघतर्फका १ सय १० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ । गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार दलहरुले लिने कुल सिट संख्यामा भने कुरा मिलेको छैन । सत्ता गठबन्धनमा संघतर्फ अधिकांश सिट बाँडफाँटमा सहभागी भएको छ । प्रदेश राजधानी रहेको कास्कीका ३ क्षेत्रमा सत्ता गठबन्धनका तीन दलबीच कुरा मिल्न बाँकी छ । कांग्रेसले कास्कीको तीन वटै क्षेत्र आफूले पाउनुपर्ने दाबी गरेको छ । क्षेत्र नम्बर १ कांग्रेसले पाउने पक्काजस्तै भएको छ । कास्की २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रले पनि दाबेदारी गरेका छन् ।
कास्कीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक क्षेत्र लिने गरी सहमति हुने सम्भावना रहेको कार्यदलका एक सदस्य बताउँछन् । अघिल्लो निर्वाचनमा कास्कीका सबै संघीय क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका थिए । त्यस बेला माओवादी–एमाले गठबन्धन हुँदा प्रदेशतर्फ ३ दिन माओवादीले पाएको थियो ।
मुस्ताङ, मनाङ, म्याग्दी र पर्वत कांग्रेसले पाउने भएको छ भने लमजुङ माओवादी केन्द्रले पाउने पक्का भएको छ । त्यहाँबाट माओवादी महासचिव देव गुरुङ उम्मेदवार हुने छन् । तनहुँ र स्याङ्जाका दुबै क्षेत्रबाट कांग्रेसका उम्मेदवार उठ्ने छन् ।
बागलुङ क्षेत्र नं. १ सत्ता गठबन्धनको अर्काे घटक राष्ट्रिय जनमोर्चाले पाउनेछ । क्षेत्र नं. २ भने माओवादीले लिने भएको छ । स्थानीय निर्वाचन ९ स्थानीय तह जितेको माओवादीले गोरखाका दुवै क्षेत्र दाबी गरेको छ । यहाँ कांग्रेसले एउटा क्षेत्र आफूले पाउनुपर्ने जिकिर गरेको छ भने माओवादी केन्द्रकै चुनाव चिन्हबाट उम्मेदवारी दिने सहमति गरेका नेसपा अध्यक्ष डा बाबुराम भट्टराई क्षेत्र नं. २ बाट चुनाव लड्न चाहन्छन् । नवलपरासी पूर्वको क्षेत्र नं. १ मा विवाद छैन । यहाँ कांग्रेसको मात्र दाबी छ भने २ मा कांग्रेससँग एकीकृत समाजवादी र माओवादी केन्द्रले दाबी गरेका छन् ।
बुधबारसम्म भएको सहमति हेर्दा कांग्रेसको भागमा करिब ७० सिट परिसकेको छ । माओवादीलाई २६, एकीकृत समाजवादीलाई ७ र जसपालाई ९ सिट दिन सहमति भइसकेको छ । अघिल्लो पटक बाम गठबन्धनमा आवद्ध भई १ सिट पाएको जनमोर्चाले यसपालि २ सिट पाउने करिब पक्का भएको छ ।
सिट बाँडफाँटमा सबभन्दा किचलो प्रदेश २ का मा देखिएको छ । कतिपय क्षेत्रमा तीन दलकै दाबी छ । रौतहटको क्षेत्र नम्बर १ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छाड्न सबै दल सहमत छन् । बाग्मती प्रदेशका धेरै जिल्लामा गठबन्धनबीच सहमति भएको छ । चितवन क्षेत्र नम्बर ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्न सबै दल एकमत देखिएका छन् । अघिललो पटक प्युठानमा जितेकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई सोही क्षेत्र छाड्न गठबन्धनमा दल एकमत छन् ।
कर्णाली प्रदेशका अधिकांश सिट बाँडफाँट भएका छन् । डडेलधुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्न सबै दल सहमत छन् । कैलालीको क्षेत्र नम्बर ५ प्रधानमन्त्री पत्नी आरजु देउवालाई दिने सहमति बनेको छ ।
अधिकांश सिट बाँडफाँटमा सहमति भए पनि कुल सिटमा भने दलहरुबीच कुरा मिल्न बाँकी देखिएको छ ।
कांग्रेस ९०, माओवादी ५०, एकीकृत समाजवादी र जनता समाजवादीले २०÷२० सिटमा दाबेदारी गरेका छन् । सबै दल गठबन्धनलाई निरन्तरता दिन सहमत रहेको र विवाद १५÷२० सिटमा मात्र रहेको स्रोतले जनाएको छ । समानुपातिक सूचीका उम्मेदवारको नाम टुंग्याउनुपर्ने भएकाले विवादित क्षेत्रको भागबन्डाको टुंगो असोज ३ गतेपछि मात्र लाग्दे देखिएको छ ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया