दसैंसँगै आयो महँगी

प्रमिला कुँवर २०७९ असोज १४ गते ११:२०

प्रमिला कुँवर
पोखरा ।
दसैं नजिकिएसँगै बजारमा महंगी ह्वात्तै बढेको छ । गत ६ महिनाको तुलनामा अहिले बजारमा कतिपय सामानको मूल्य झन्डै दोब्बर भएको छ । नयाँबजारकी करुणा शर्मा दसैं नजिकिएसँगै भान्सादेखि लगाउने कपडाको मूल्य ह्वात्तै बढेको गुनासो गर्छिन् । ‘पहिला ५ सय रुपैयाँले हप्ताभरलाई तरकारी किन्न पुग्थ्यो, अहिले ५ सयको तरकारी ३ दिनलाई पनि पुग्दैन, यस्तै रहे जीविको कसरी धान्नु ?,’ उनको प्रश्न छ ।

Advertisement

इन्धनको मूल्य बढेपछि आकासिएको बजार भाउले किनमेलदेखि भान्छासम्मै नराम्ररी प्रभावित भएका छन्

तरकारीमात्र नभएर भान्सामा दैनिक प्रयोग हुने हरेक सामग्री महंगो बनेको उनको भनाइ छ । ‘घरायसी वस्तुसँगै बच्चाहरुको विद्यालय शुल्क, यातायात खर्च, कोठा भाडा पनि ह्वात्तै बढेको छ । कोठा भाडा नै २५ प्रतिशत बढाइसके,’ उनले भनिन् । महंगी बढे पनि नियमन हुन नसकेको र बाहिरबाट सामान आयात हुँदा नै शुल्क बढी लागेकाले महंगी भएको हो कि, सर्वसाधारणले मात्रै बढी दिनुपरेको हो, उनले बुझेकी छैनन् । ‘बाहिरबाट नै सामान महंगिएर आउन लागेको हो कि हामी सर्वसाधारणलाई मात्र यत्रो महंगो परेको हो ?,’ उनको जिज्ञासा छ ।

Advertisement

किराना पसल सञ्चालन गर्दै आएकी सीता केसीले दैनिक उपभोग्य वस्तुको मूल्यले जनताको ढाड सेकिएको गुनासो गरिन् । पसलमै सामान झार्दा मूल्य दिनकै बढेर आउने गरेको उनको अनुभव छ । ‘६–७ महिनाकै अन्तरमा अधिकांश खाद्य वस्तुको मूल्य बढेर दोब्बर भएको छ,’ उनले भनिन्, ‘ग्याँस, खाने तेलदेखि साबुन लगायत सबैको मूल्य बढेको छ ।’

खुद्रा व्यावसायीका अनुसार बासमती चामलको मूल्य किलोको १ सय ५० देखि १ सय ६० रुपैयाँ छ । जिरा मन्सुली चामलको मूल्य किलोको ७० देखि ८० रुपैयाँसम्म पर्छ । सोना मन्सुली चामलको मूल्य किलोको ५० रुपैयाँ पर्छ । चामलको ब्रान्डका आधारमा प्रतिबोरा मूल्य १६ सय ५० देखि २ हजार ५० रुपैयाँ पर्छ ।

Advertisement

अहिले तोरीको तेलको भाउ ३ सय २० रुपैयाँसम्म पर्ने बिक्रेताहरु बताउँछन् । सूर्यमुखी तेल लिटरको २ सय ६० रुपैयाँ पर्छ भने भटमासको तेल लिटरको २ सय २० रुपैयाँ पुगेको छ । नेपाली घ्यू १ हजार २ सय रुपैयाँ र वनस्पती घ्यूको २ सय ५० रुपैयाँमा व्यापार भइरहेको छ । ग्यासको मूल्य १८ सय ५० छ ।

मुसुरो दाल किलोको १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । रहर दाल किलोको १ सय ८० तथा चना १ सय १० रुपैयाँ किलोको पर्छ । गहुँ र पीठोको मूल्य पनि बढेको छ । प्रशोधित गहुँको पीठोको मूल्य प्रतिकिलो २० रुपैयाँले बढेको छ । ६ महिनाअघि ५० रुपैयाँ प्रतिकिलो पाइने यसको मूल्य अहिले ७०/८० रुपैयाँसम्म पर्छ । मैदाको पीठो किलोको ६० रुपैयाँबाट बढेर ६ महिनाको अवधिमा ९० रुपैयाँ पुगेको छ ।

चिनी प्रतिकिलो ९० रुपैयाँमा बिक्री भइरहेको छ । जिरा मसलाको मूल्य ६ महिनाको अवधिमा दोब्बर भएको छ । गत वैशाखसम्म प्रतिकिलो ३ सय रुपैयाँ पर्ने जिरा अहिले ६ सय पुगेको छ । अहिले गोलभेडाको बजार भाउ १ सय ५० रुपैयाँ किलोसम्म छ । प्याज भने ६० रुपैयाँ किलोमा पाइन्छ । लसुनको भाउ प्रतिकिलो २ सय २० रुपैयाँ छ । सुकेको खुर्सानी ४ सय २० रुपैयाँ किलोमा बिक्री भइरहेको छ । काउलीको भाउ किलोको २ सय रुपैयाँ छ । आलु किलोको ६० रुपैयाँ छ । सिमी किलोको १ सय ६० रुपैयाँ पर्छ ।

मूल्य बढ्यो भन्नेबित्तिकै अस्वाभाविक रुपमा सञ्चय बढाएर राख्ने बानी व्यापारीको देखिन्छ । बजारमा भाउ बढ्यो भनेपछि साना व्यापारीमाथि दोष थुपारिन्छ । साँच्चै महंगी बढेको हो या आयातकर्ता र उत्पादनकर्ताले मात्रै बढाएको हुन्, अनुगमन हुनुपर्ने व्यावसायीको माग छ ।

भाउ बढेपछि सर्वसाधारणको घरमा चुलो बल्न गाह्रो पर्ने बताउँछन् किराना तथा खुद्रा व्यावसायी संघ अध्यक्ष लीलाधर चपाईं । ‘सबै क्षेत्रमा महंगी बढेको छ, यसको मुख्य कारण भनेको पेट्रोलियममा भएको मूल्यवृद्धि हो,’ उनले भने । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानी शुल्क बढेपछि दैनिक उपभोग्य सामानको भाउ आकासिएको हो ।’

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया