बहादुरे माविमा डा. स्याली सम्मानित

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ स्थित बहादुरे माविले चन्दादाता अस्ट्रेलियन नागरिक डा स्याली नोम्सलाई सम्मान गरेको छ । बुधबार आयोजित कार्यक्रममा विन विल्डरनेस कम्युनिटी अस्ट्रेलियाका प्रमुख डा. नोम्सलाई विद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रमा योगदान गरेकोमा उम्मान गरिउको हो ।
कुसुदेवु जनस्वास्थ्य केन्द्रका अध्यक्ष आङछिरिङ शेर्पालाई पनि उक्त अवसरमा सम्मान गरिएको छ । डा नोम्स अध्यक्ष रहेको अस्ट्रेलियन संस्था विन विल्डरनेस कम्युनिटीले विद्यालयमा आर्थिक सहयोग, बहादुरे विद्यालय क्लिनिक, विभिन्न छात्रवृत्ति लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । संस्थाले विगत केही महिनादेखि सञ्चालन गरेको विद्यालय क्लिनिकमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयलाई निशुल्क स्वास्थ्यसम्बन्धी उपचार दिनका लागि एक जना हेल्थ असिस्टेन् सहितको सेवा सुरु गरेको छ ।
संस्थाले कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने अनिता विकलाई छात्रवृत्ति वितरण गर्नुका साथै ताम्रपत्रद्वारा सम्मान गरेको छ । गरिब तथा जेहेन्दार १२ जनालाई आवासीय सुविधासहितको पठनपाठनमा सहयोग पु¥याउँदै आएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले जानकारी दिए ।
डा स्याली नोम्सले विद्यालयसँग आफू जोडिन पाउँदा खुसी लागेको बताइन् । उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासको क्षेत्रमा आफू र आफ्नो संस्थाले सानो सहयोग मात्रै गरेको भन्दै यसलाई पछिसम्म पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष आइन्दल गुरुङले डा. नोम्सले आफ्नो विद्यालयमा गरेको योगदानका लागि धन्यवाद दिए । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष समेत रहेका गुरुङले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि पालिकासँगै अन्य सहयोगी संस्थासँग सहकार्य गरेर आगामी दिनमा अघि बढ्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ताइकाजी गुरुङ, अनिलकुमार गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष मानबहादुर केसी, पूर्व विद्यार्थी सोफिया गुरुङ, पूर्व शिक्षक आशबहादुर गुरुङ लगायतले बोलेका थिए ।
सोही क्रममा आफ्ना बुबाआमाको स्मृतिमा रुद्र पौडेल र शान्ति पौडेलले ५० हजार रुपैयाँको खेमलाल नन्दकली अक्षयकोष स्थापना गरेको विद्यालयका सहायक प्रधानाध्यापक सिद्धिराज सुवेदीले जानकारी दिए । कक्षा १२ सम्म अध्यापन हुने यो स्कुलमा १ सय ५० विद्यार्थी छन् ।
तपाईको प्रतिक्रिया