‘जहाँ विपद्, त्यहाँ रेडक्रस’

पोखरा ।
दसैं तिहार, नेपाल संवत, छठ तथा ल्होसारको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी कास्कीले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले प्राकृतिक प्रकोप र मानवीय उद्वारको क्षेत्रमा रेडक्रसले काम गर्ने बताए ।
‘रेडक्रसले प्राकृतिक प्रकोप र मानव सिर्जित विपद्को व्यवस्थापनमा काम गर्दै आएको छ,’ सभापति पाण्डेले भने, ‘देशभरीमा ११ लाख स्वयंसेवी विपद् व्यवस्थापन तथा मानवीय सेवाको क्षेत्रमा खटिएका छन् ।’ उनले रेडक्रसले ‘जहाँ विपद्, त्यहाँ रेडक्रस’ भनेर विश्वव्यापी रुपमा पहिचान बनाएको जानकारी दिए ।
उनले २०२२ सालमा स्थापना भएको रेडक्रसले मानवीय सेवाको क्षेत्रमा सगौरव ५९ वर्षे इतिहास पूरा गरेको बताए । रेडक्रसको विगतको इतिहासलाई बिर्सन नहुने उल्लेख गर्दै उनले इतिहासलाई किताबको पानामा सीमित गर्न नहुने तर्क गरे । अग्रजको सम्मान र उर्जाबाट रेडक्रस कास्कीले राम्रो काम गरेर ७७ जिल्लामध्ये धेरै पटक सर्वोत्कृष्ट बनेको उनले उल्लेख गरे ।
नेपाल रेडक्रस सोसाइटी कास्कीमा मन्त्री धर्मराज अधिकारीले गण्डकी प्रदेश स्तरको अत्याधुनिक रक्त सञ्चार सेवा (ब्लड बैंक)सहितको बहुउद्देश्यीय भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले अहिलेको रेडक्रस भवनसँगै सिर्जनाचोकमा अन्डरग्राउन्ड पार्किङसहित ३ तले ब्लड बैंकको मुल भवनबाट प्रदेश स्तरको सेवा प्रदान गरिने बताए ।
तपाईको प्रतिक्रिया