एउटै वडाका ७ सहित १० फरार पक्राउ

समाधान संवाददाता २०७९ कार्तिक १७ गते ११:३७

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दाका फरार १० जनालाई पक्राउ गरेको छ । बुधबार कास्की प्रहरीले विज्ञप्ति निकाल्दै फरक फरक मुद्दाका १० जना फरारलाई सार्वजनिक गरेको हो । कास्की जिल्ला अदालत विभिन्न मितिमा कैद तथा जरिवाना फैसला भई हालसम्म फरार रहेकालाई पक्राउ गरेको डिएसपी सुन्दर तिवारीले बताए ।

Advertisement

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दादेखि चलनचलाई मुद्दाका छन् । पक्राउ परकामध्ये ७ जना चलनचलाई मुद्दाका फरार हुन् । उनीहरु सबैलाई जिल्ला अदालतले ५ हजार जरिवाना तोकेको थियो । पक्राउ पर्नेमा पोखरा २९ का ७२ वर्षीय टेकबहादुर गुरुङ, सोही ठाउँका ७१ वर्षीय रनमाया गुरुङ, ४० वर्षीय शेरमान गुरुङ ३९ वर्षीय निरमान गुरुङ, ३६ वर्षीय बेलकुमार गुरुङ, ३१ वर्षीय जमुना गुरुङ र २६ वर्षीय विपना गुरुङ छन् ।

सवारी ज्यान मुद्दाका २ जना पक्राउ परेका छन् । जिल्ला अदालतले २ महिना १० दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकी फरार रहेका तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ कोत्रे बस्ने ३६ वर्षीय सन्तोष पुन र सोही मुद्दामा जिल्ला अदालतले ११ महिना ५ दिन कैद तोकेर फरार रहेका धादिङ स्थायी घर भई हाल पोखरा ३२ मजुवा बस्ने ४० वर्षीय चक्रबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै, लागुऔषध मुद्दामा जिल्ला अदालतले १० महिना १६ दिन कैद तोकेर फरार रहेका पोखरा ३१ मोहरिया बस्ने १९ वर्षीय सुनील विकलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया