बैंक र सरकारबाट पीडित भएको व्यवसायीको गुनासो

समाधान संवाददाता २०७९ कार्तिक २२ गते १४:१४

पोखरा ।
बैंक तथा वित्तीय संस्थाका कारण आफूहरुले निकै समस्या झेल्नुपरेको व्यवसायीले गुनासो गरेका छन् । रेडियो अन्नपूर्ण पोखरा र नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीले सोमबार आयोजना गरेको ‘आर्थिक अन्योल र समाधान’ बिषयक अन्तक्र्रियामा उनीहरुले कर्जा र ब्याजको समय सीमा बढाउन सरोकारवालासँग आग्रह गरेका हुन् ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अध्यक्ष एवं रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंंकर पालिखेले आफू अस्वस्थ भएर अस्पताल बेडमा हुँदासमेत बैंकको फोनले पीडा दिएको सुनाए ।

व्यवसायीलाई प्रताडित नबनाउनसमेत उनले बैंक तथा वित्तिय संस्थालाई आग्रह गरे । महानगरपालिकाले जग्गाको बर्गीकरण नगर्दा सम्पत्ति हुँदा पनि बेचबिखन गर्न समस्या भएको उनको भनाइ छ ।

पोखरा पर्र्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बैंकबाट लिएको कर्जा आफूहरुले पर्यटन क्षेत्रमा नै लगानी गरेको स्पष्ट पारे । ब्याजदरमा भएको वृद्धिका कारण पर्यटन व्यवसायी बढी मारमा परेको उनले बताए । नेपालको प्रमुख आयस्रोत पर्यटन क्षेत्र भएकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिडका समयमा राष्ट्रबैंंकले दिएको सुविधा समेत निजी बैंकले नदिएको गुनासो गरे । उनले पर्यटन व्यवसायीलाई व्यवसाय पुनरुत्थानका लागि दिएको रकम समेत पर्यटन व्यवसायीले नपाएको भन्दै असन्तुष्टि जनाए ।

Advertisement

नेपाल राष्ट्रबैंक गण्डकीका निर्देशक रामशरण खरेलले निर्यातमा कडाई, बढ्दो रेमिटयान्स तथा पर्यटकहरुको आगमनमा भएको वृद्धिका कारण केही सहजता आउने विश्वास व्यक्त गरे । राष्ट्रबैंकले विभिन्न बैंक तथा बित्तय संस्थाहरुमा नियमन गरिरहेको उनको भनाइ छ । बैंंकहरुले प्रिमियम बढाउन नहुने उनको भनाइ छ ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपाल राष्ट्रबैंक र अर्थमन्त्रालयलबीच नै सामञ्जस्यताको अभाव हुँदाको परिणाम उद्योगी व्यवसायीले पीडा भोग्नु परेको बताए ।

राष्ट्र बैंक दलहरुको भर्ती केन्द्र जस्तो भएको भन्दै उनले सुधारको खाँचो औंल्याए । राष्ट्र बैंकले पुँजी पलायनलाई रोक्न कुनै ध्यान नदिँदा वित्तिय क्षेत्रमा तरलता देखा परेको उनको भनाइ छ । व्यवसाय चलायमान नहुँदा कर्जा प्रवाहमा कठिनाइ हुने भएकाले संरचनामा नै सुधान हुनुपर्ने उनको जोड छ ।

नेपाल बित्त कम्पनी बैंकर्स एसोसिएसनका उपाध्यक्ष रवि गुरुङले बित्तीय पार्टनरबिना व्यवसायीलाई अगाडि बढ्न समस्या हुने बताए । उनले बैंकहरुले विभिन्न शीर्षकमा चार्ज नलिएको दाबी गरे ।

नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष गोबिन्द ढकालले ब्याजदर आन्दोलनले नभइ बजारको अवस्थाले घटबढ हुने बताए । राष्ट्रबैंकको नीतिलाई अवलम्बन गर्दै आफूहरु व्यवसायीकै पक्षमा रहेको उनको भनाइ छ । नेपाल बैंकर्श एसोसिएसन गण्डकीका कार्यवाहक संयोजक सूर्य रोकाले व्यवसायको नाममा लिएको कर्जा व्यवसायीले अन्य क्षेत्रमा लगानी गरेको दाबी गरे ।

नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बैंक तथा वित्तीय संस्थाहरु सामाजिक उत्तरदायित्व बहन गर्न चुकेकाले ब्जाजदर वृद्धिमात्र भन्दा पनि यसतर्फपनि ध्यान दिनुपर्ने बताए । गलत काम गर्नेलाई व्यवसायीले उजुरी नगरेप नि राष्ट्रबैंकले कारबाही गर्नुपर्ने उनको माग छ ।

नेपाल उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद शर्माले बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्दा सबै क्षेत्रमा समस्या उत्पन्न भएको बताए । निक्षेपमा ब्याजदर बढाउने प्रवृत्ति नरोकिँदा धेरै व्यवसायी पलायन हुनुपरेको उनले बताए ।

पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीको मर्काप्रति बैंक तथा बित्तीय संस्था अनुदार भएको र आफूहरुको आवाज सरकारले पनि नसुनेका कारण बाध्य भएर सडकमा उत्रनुपरेको बताए । यो समस्या व्यवसायीको मात्र नभएर सबैको साझा समस्या भएको उनको भनाइ छ । ब्याजदर वृद्धिको असर नागरिकको चुल्हो सम्म पुग्ने कार्कीले बताए ।

होटल संघ गण्डकीका अध्यक्ष एवं पर्यटन व्यवसायी हरी शर्मा गैह्रे, पोखरा हस्तकला संघका अध्यक्ष रामकली खड्का, उद्योगी टिकाराम सुवेदी र नविन श्रेष्ठले व्यवसाय उत्थानका लागि बैंकहरुले ध्यान दिनुपर्ने बताए ।

बैंक तथा बित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याजदर बढाएको भन्दै पछिल्लो समय व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया