
गण्डकी ।
तालै तालको सहर पोखराको उच्च भूभाग कास्कीकोटस्थित कस्यप तालबारे कतिपयलाई थाहा नहुन पनि सक्छ । स्वदेश तथा विदेशका विभिन्न स्थानबाट आएका अधिकांशः पर्यटक पोखराको फेवातालसहित लेखनाथका ताल हेरेर फर्कने गरेको वास्तविकतामा पोखरा महानगरपालिका वडा नं २४ मा पर्ने यस ताललाई पर्यटन बजारमा पु¥याउने चासो र चर्चा पछिल्ला समयमा बढ्दै गएको छ ।
झण्डै ६ हजार वर्षअघि कस्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्तीका कारण पनि यहाँको गरिमा र महत्व अझै बढाएको जनाइएको छ । चार वेद मध्येको एक यजुर्वेद लेखेको विश्वास गरिने कश्यप ऋषिले स्नान गर्ने गरेको यस ताललाई धार्मिक एवं संस्कृतिकरूपमा पनि उत्तिकै महत्वका साथ लिने गरिएको छ ।
शाहवंशीय राजाको उद्गमस्थल कास्कीकोट दरबार र यहाँबाट देखिने अन्नपूर्ण, धवलागिरी लगायतको दृश्यले यसलाई आकर्षक गन्तव्य बनाउन सकिने सम्भावना छ
कास्कीकोट गाउँको मध्यभागमा अवस्थित यहाँको धार्मिक एवं ऐतिहासिक महत्व रहेर पनि उजागर हुन नसकेको वास्तविकतामा पछिल्ला समयमा स्थानीय जनसमुदाय एवम् स्थानीय सरकारले चासो दिन थालेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष एवं पोखरा महानगरपालिकाको होमस्टे सञ्चालन तथा दर्ता नविकरण समितिका अध्यक्ष उदय सुवेदीले बताए ।
करिब ५ वर्ष अघिसम्म हिउँदको समयमा पनि पानी अडिने गरेको यस तालमा पछिल्ला वर्ष पानी सुक्न थालेपछि बढ्दै गएको चासो र चिन्ताका बीच वडा कार्यालयका तर्फबाट यसको संरक्षणमा पहल बढाइएको छ । वडाका तर्फबाट विभिन्न समयमा गरिएको प्राविधिक अध्ययनले यसको पूर्ण रुपमा संरक्षणका लागि साढे ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको वडा सचिव ईन्द्र जिसीले जानकारी दिए ।
विगतमा १ हजार ६ सयभन्दा बढी जनसंख्या बसोबास गर्ने गरेको यस क्षेत्रमा यहाँको पानी गाईवस्तुलाई खुवाउनुका साथै घरायसी प्रयोजन र यहाँको झण्डै ७ य रोपनी क्षेत्रफलमा सिँचाइ पनि उपलब्ध हुँदै आएको थियो । ताल करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
नेपालका शाहवंशीय राजाको पालामा यस तालको थप संरक्षण भई त्यस समयमा पनि यहाँको पानीको भरपुर उपयोग गर्ने गरेको बताइन्छ । तालमाथि रहेको नेपालका शाहवंशीय राजाको उद्गमस्थल कास्कीकोट दरबार र यहाँबाट देखिने अन्नपूर्ण, धवलागिरी लगायतको दृश्यले यसलाई एउटा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रचूर सम्भावना रहेको पोखरा महानगरपालिका वडा नं २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारी बताउँछन् ।
यसको संरक्षण र विकासका लागि पहल थालिएको बताउँदै उहनले ताल परिसरमा रेलिङ लगायतका संरचना निर्माणका लागि यस वर्ष पोखरा महानगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
समुद्री सतहबाट १ हजार ७ सय ७८ मिटरको उचाइमा रहेको कास्कीकोटमा पहिलो शाहवंशीय राजा कुलमण्डन खान(शाह) को दरबारका साथै तत्कालीन समयदेखि नै पूजाआजा गर्दै आइएको गुप्तकालिका मन्दिरले यहाँको गरिमा र महत्व अझै बढाएको छ ।
तत्कालीन समयमा यस स्थानमा कश्यप ऋषिले तपस्या गरेको कुटीको भग्नावशेष एवम् ऋषिले सत्सङ्ग तथा प्रवचन गर्ने गरेको धामको गह्रासमेत सुरक्षित रहेको स्थानीयवासी प्राध्यापक वेदहरि तिमल्सिना बताउँछन् ।
जैविक विविधताले भरिपूर्ण पर्यटकीय, धार्मिक, तथा शाहवंशीय इतिहासको साक्षी कास्कीकोटका धार्मिक एवं ऐतिहासिक सम्पदाको संरक्षण र विकास अपरिहार्य भएको उनले बताए । धार्मिक ईतिहासको साक्षी कश्यप तालसँगै यहाँका ऐतिहासिक दरबार तथा मन्दिर उचित संरक्षण गर्न सकेमा पोखरा आउने पर्यटकलाई एक दिन यस क्षेत्रको अवलोकन गराउँदै बसाई लम्ब्याउन सकिने तिमल्सिनाको भनाइ छ ।
पोखराबाट करीब ११ किमि पक्की बाटो पार गरेपछि यहाँ पुग्न सकिन्छ । त्यस्तै पोखरा–बाग्लुङ राजमार्गको नागडाँडाबाट पूर्वतर्फ करीब पाँच किमी दूरी पार गरेर पनि यहाँ आउन सकिन्छ । तालको संरक्षणसँगै यसले यहाँको इतिहास र पर्यटनलाई जोड्न सक्ने उनले बताए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
तपाईको प्रतिक्रिया