सेतो सिसामा कालो ब्यानर !

पोखरा ।
गाडी र मोटरसाइकलका सोरुमहरुमा प्राय प्रचार तथा छुटका ब्यानरहरु टासिँएका हुन्छन् । तर आचेल पोखराको धेरैजसो सोरुममा कालो ब्यानरहरु टाँसिएका छन् ।
सरकार तथा राष्ट्र बैंकको नीतिका विरोधमा पोखराका सवारी सोरुममा प्रचार र छुटका ब्यानर टासिँने ठाउँमा कालो ब्यानर टासिँएका हुन् ।
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसियसन गण्डकी प्रदेशमा आवद्ध व्यवसायीले सोरुममा कालो ब्यानर टाँसेर विरोध जनाएका हुन् ।
सरकार तथा राष्ट्र बैंकले ल्याएको अमैत्रीपूर्ण कर नीतिलाई पुनरावलोकन र सुधार गर्न सरकार र राष्ट्र बैंकलाई घच्घचाउने उद्देश्यले सोरुमहरुमा कालो ब्यानर टाँसेको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसियसन गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।
‘पहिले ७/८ प्रतिशतको ब्याजदर थियो, अहिले १४/१५ प्रतिशत पुगिसकेको छ,’ उनले भने, ‘यो अव्यावहारिक किसिमको भयो, किनभने बैंकको ब्याजदर बढिसकेपछि हरेक सामान पनि महँगो पर्छ र उपभोक्ता नै मारमा पर्छन् ।’
ब्याजदर वृद्धिले आयातमा समेत समस्या आएको अध्यक्ष श्रेष्ठले सुनाए । ‘ब्याजदर वृद्धिका कारण आयातमा पनि ठूलो समस्या आइरहेको छ, राष्ट्र बैंकले ल्याएको नीति व्यवसायी र उपभोक्ता मैत्री छैन, जसका कारण हामीले विरोध गरेका हौं,’ उनले भने ।
दोस्रो चरणअन्तर्गत सोरुममा कालो ब्यानर राखेर विरोध गरेको श्रेष्ठको भनाइ छ । ‘हामीले १६ गतेदेखि पहिलो चरणको विरोध प्रदर्शन गरेका थियौं, सरकारले नसुनेपछि दोस्रो चरणमा सोरुममा कालो ब्यानर राखेर विरोध जनाएका हौं । त्यसबाट पनि सरकारले सुनेन भने थप विरोधका कार्यक्रम गर्छौं,’ उनले भने ।
बैंकहरुको उच्च ब्याजदर, राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, सवारीसाधन आयात गर्दा पहिले नै नगद (मार्जिन) जम्मा गर्नुपर्ने व्यवस्था लगायत विषयमा विरोध जनाउँदै व्यवसायीले विरोध गरिरहेका छन् ।
हाल बैंकको ब्याज उच्च हुँदा सवारीसाधन किन्नेहरु घटेको र व्यवसायमा असर परेको व्यवसायीको गुनासो छ । त्यस्तै चालु पुँजी कर्जासम्बन्धी राष्ट्र बैंकको व्यवस्थाले बैंकबाट ऋण लिने व्यवसायीलाई असहज हुने र लगानीयोग्य रकमको अभावले व्यवसायमा असर परेको व्यवसायीको भनाइ छ ।
ब्याजदर वृद्धिमा सरकार र राष्ट्र बैंक मुख हेराहेर भएको यमाहा सोरुमका सञ्चालक सरोज श्रेष्ठले बताए । ‘यो समयमा सबै एकजुट भएर लाग्नुपर्छ, पार्टीको हिसाबले हेर्नुहुन्न, पहिले राज्यलाई हेर्नुपर्छ, सबै ठाउँमा राजनीति नै बढी चलेको सबै जनमानसलाई थाहा छ, राष्ट्रले यस्तो गर्नु अन्यायपूर्ण छ,’ उनले भने ।
ब्याजदर छिटोभन्दा छिटो राष्ट्र बैंक, सरकार र बैंकहरु सबै मिलेर चाहिँ यसलाई न्यूनीकरण गर्नुपर्ने श्रेष्ठको भनाइ छ । ‘छिटोभन्दा छिटो राष्ट्र बैंक, सरकार र बैंकहरु सबै मिलेर चाहिँ वृद्धि ब्याजदर न्यूनीकरण गर्नुपर्छ,’ उनले भने, ‘यो सबै न्यूनीकरण गर्ने भनेको जनताका लागि हो, जनता रहे त देश रहन्छ, जनता नै रहेनन् भने देश कसरी रहन्छ ?’
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल र त्यसको शाखाहरुले देशभर नै विरोध प्रदर्शन गर्दै आएको छ । हाल निजी सवारीसाधन खरिदका लागि बैंकहरूले कुल मूल्यको ५० प्रतिशत मात्रै कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । गाडी किन्न चाहनेले बाँकी ५० प्रतिशत रकम नगद जुटाउनुपर्छ ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया