महिला उद्यमीलाई तालिम

समाधान संवाददाता २०७९ पुष ५ गते १५:२७

पोखरा ।
महिला उद्यमीलाई प्रविधिमैत्री बनाउन तथा नयाँ अवधारणाका साथ व्यवसाय गर्न सहयोग पुर्‍याउने उद्देश्यले पोखरा चेम्बर अफ कमर्स कास्कीले महिला सदस्यलाई डिजिटल साक्षरता तालिम दिएको छ ।

Advertisement

नेपाल टेलिकम, वमन इन्फरमेसन टेक्नोलोजीको सहयोगमा भएको कार्यशालामा चेम्बरमा आबद्ध ५० महिलाको सहभागिता रहेको चेम्बर अफ कमर्स कास्की महासचिव नवराज आचार्यले जानकारी दिए ।

कार्यशालामा रत्नतारा तुलाचन, पल्पसा तुलाचन, दिव्यश्वरी दली र कविता श्रेष्ठले सहजीकरण गरेका थिए । गण्डकी प्रदेश सभाका निवर्तमान उपसभामुख सिर्जना शर्माले अािर्थक रुपमा सक्षम नभएसम्म आम महिलाको सशक्तीकरण नहुने उल्लेख गरिन् ।

‘महिला उद्यमी प्रविधिमैत्री हुनुका साथै नयाँ अवधारणा अनुसार व्यवसाय गरे सफल उद्यमी बन्न सकिन्छ,’ उनले भनिन्, ‘राज्यले महिला उद्यमीलाई उद्योग व्यवसाय गर्दा सहुलियत तथा ऋण अनुदानको व्यवस्था गरे पनि पर्याप्त छैन ।

राज्यले महिला उद्यमीलाई थप सहयोग गरेर प्रोत्साहन गर्नुपर्छ ।’ उनले महिला उद्यमीलाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउनुपर्ने बताइन् ।

Advertisement

पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमनाथ पौडेलले चेम्बरले महिला चेम्बर गठन गरेर उद्यमी महिलालाई सचेत र संगठित गरेको जानकारी दिए । उनले राज्यले महिला उद्यमीलाई दिने सहुलियत तथा अनुदान प्राप्तिका लागि चेम्बरले सहजीकरण गर्ने बताए ।

तालिम कार्यशालामा चेम्बरका वस्तुगततर्फका उपाध्यक्ष उमराज बास्तोला, कार्यक्रम संयोजक सीमा कोइराला र सहसंयोजक दुर्गादत्त पोखरेलले चेम्बरका गतिविधि तथा महिला उद्यमीका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया