लिटरेचर फेस्टिभलले पोखराको प्रर्वद्धनमा ठूलो भूमिका खेल्ने: मेयर आचार्य

पोखरा ।
बुकवर्म फाउन्डेसनले आयोजना गरेको नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण फेवातालको किनारमा सुरु भएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बिहीबार साहित्यिक महोत्सवको उद्घाटन गरेका छन् ।
मेयर धनराज आचार्यले लिटरेचर फेस्टिभलले पोखराको प्रर्वद्धनमा ठूलो भूमिका खेल्ने बताए । उनले फेस्टिभललाई सफल बनाउन पोखरेलीले पनि अपनत्व लिनुपर्ने सुझाव दिए ।
सन् २०११ मा काठमाडौंबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल सन् २०१६ देखि पोखरामा आयोजना हुन थालेको हो । महोत्सवलाई पोखरा ल्याउन तत्कालीन नेकपा एमाले तथा पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अगुवाइ गरेको मेयर आचार्यले सम्झिए ।
‘काठमाडौंमा हुने फेस्टिभलमा हामी पनि सहभागी हुन्थ्यौं । त्यति नै बेला पोखरा ल्याउन रवीन्द्रजीले झलक सुवेदी र मसँग पोखरा लैजाँदा कस्तो हुन्छ भनेर सोध्नुभएको थियो,’ मेयर आचार्यले सम्झिए, ‘पछि पोखरा आयो । बीचमा पोखराले कति आत्मसात गर्यौं, गरेनौं समीक्षा गर्नैपर्ला । पोखराले यो दुर्लभ अवसर पाएको छ । यसमा गर्व गर्नुपर्छ ।’
मेयर आचार्यले हाल नेपाली समाज विखण्डनको बाटोमा गइरहेको र त्यसलाई सही मार्गमा लैजान पनि महोत्सव सफल हुनुपर्ने बताए ।
बिहीबारदेखि औपचारिक उद्घाटन भए पनि बुधबार साँझ गायक तथा संगीतकार उज्ज्वल सागर र कवि नवराज पराजुलीले काव्यिक संगीत प्रस्तुति राखेका थिए । फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धक पोखरा महानगरपालिका छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले बुकवर्मसँग सहकार्य गरेर प्राज्ञिक बहसमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । उनले गण्डकी थुप्रै प्रतिभाको जन्म भएको ठाउँ भएकाले त्यसलाई अगाडि बढाउन हातेमालो गरेर अगाडि बढ्ने सुनाए ।
कुलपति बिखर्चीले स्रष्टालाई तेस्रो दर्जाको नागरिक सोच्नु नहुने बताए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानबारे नराम्रो कुराहरु बाहिर आइरहेकाले त्यसलाई सुधार्नुपर्ने सुझाव दिए ।
लेखक शिवानीसिंह थारुले संयोगवश २०११ मा पहिलो लिटरेचर फेस्टिभल उद्घाटन सहजीकरण गर्ने मौका पाएको बताइन् । ‘सुरुमा लिटरेचर फेस्टिभल हुँदा पुस्तक मेला हुन्थे, साहित्यिक महोत्सव हुन्थेनन् । तर, अहिले संस्कृतिको रुप लिएको छ । विस्तारै संस्कार बढाउँदैछ’, उनले भनिन् ।
कार्यक्रमका निर्देशक निरज भारीले फेस्टिभलको दशौं संस्करणसम्म पोखरा ल्याउन ठूलो भूमिका खेल्ने पूर्व पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीलाई सम्झिए । स्व. अधिकारीकै तारन्तार आग्रह पछि आफूहरु ठूलो चुनौती बोकेर पोखरा आएको बताउँदै उनले भने, ‘फर्केर हेर्दा त्यो निर्णय गल्ती गरेनौं भन्ने लाग्छ । सहरको विकासमा कुनै कुनै निर्णयले धेरै कुरा फरक पर्छ ।’
फेस्टिभलको ५५ वटा बढी छलफलमा सहभागी हुन देश विदेशबाट २ सय जनाभन्दा बढी पोखरा आएका छन् । उद्घाटनको पहिला दिन डा। अच्युत वाग्लेले विद्वत्प्रवचन दिएका छन् ।
पहिलो दिन घरबाट विद्यालयसम्म विषयक सेसनमा डा मीनाक्षी दाहाल, शिशिर खनाल र दिनकरले नेपाल बहस गर्नेछन् । त्यस्तै, पहिलो दिन नै स्व।गोपाल योञ्जनको स्मृतिमा गोपालयः सांगीतिक प्रस्तुति रहनेछ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया