
सञ्जय रानाभाट, पोखरा ।
नागरिक उडड्यान प्राधिकरणले पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । बिहीबार प्रधिकरणको सहयोगमा यति र वुद्ध एयरलाइन्सका विमानले गरेका डेमो उडान सफल भएका छन् ।
दुवै कम्पनीका विमान पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थल पुगे । पुरानो विमानस्थलबाट उडेको ५ मिनेटमै पोखरा १४ स्थित रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवरतण गरेको विमानमा सवार पत्रकार अनिष भट्टराई बताउँछन् ।
२ बजे तय भएको उडान २५ मिनेट ढिला भयो । ‘डेमो उडान भनेपछि हामी १ बजेट नै पुरानो विमानस्थल पुगेका थियौं । हामी पुग्दा यती एयरलायन्सको विमान उड्ने तयारी गरेको थियो । म बुद्ध एयरलायन्समा चढेको थिएँ,’ उनले भने, ‘वुद्ध एयरले टेक अफ गरेको ५ मिनेटमै सफलताका साथ ल्यान्ड गर्यो,’ भट्टराईले भने ।
बुद्ध एयरले टेक अफ भएको ५ मिनेटमा पश्चिम तर्फबाट सफल अवतरण भयो । दुवै विमानमा पोखरेली पत्रकार, पर्यटन व्यवसायी र सरोकारवाला सवार थिए । विमानस्थलका प्रमुख बिक्रम गौतमले दुवै जहाजमा गरी १ सय ७० यात्रु रहेको बताए ।
‘हामीले दिल्ली, दोहा उडाउन चाहेका छौं । यसका लागि रुटको समस्या छ । भारतको अनुमति कुरिरहेका छौं,’ विक्रम गौतम प्रमुख पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
‘डकुमेन्टेसन, यन्त्र उपकरण र मानव संसाधनका सम्पूर्ण कामको हामी अन्तिम चरणमा छौं । मेन कुरा हाम्रो सेफ्टी, सेक्युरिटी र फ्यासिलिटी हो । यसमध्ये मुख्य समस्या चराको देखिएको छ,’ प्रमुख गौतमले भने ।
अन्तर्राष्ट्रिय विमानस्थल आसपास अझै पनि चराचुरुंगीको आवतजावत् घटेको छैन । डेमो उडानका क्रममा विमानस्थल आसपासमा उडिरहेका चरा देखिए । विमानस्थलबाट २ किलोमिटरमा रहेको ल्यान्डफिल साइट नहट्दा जहाजमा पन्छी ठोक्किने खतरा छ ।
अझै चराचुरुंगी आउजाउ गरिरहने र उनीहरुले बासस्थान सार्न समय लाग्ने विज्ञहरू बताउँछन् । चराले फूल पार्नेदेखि बच्चा हुर्काउने चक्र सक्न समय लाग्छ । चराचुरुंगीलाई अन्यत्र गएर घुलमिल हुनसेमत समय लाग्छ ।
तर, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अब पोखरामा फोहोर व्यवस्थापनको समस्या नरहेको दाबी गरे । उनले पोखरा १४ मा व्यवस्थापन हुँदै आएको फाहोर अहिले ६ ठाउँमा अल्पकालीन व्यवस्थापन गरिएको सुनाए ।
‘अहिल पोखराको फोहोरमैला ६ ठाउँमा व्यवस्थापन गरिसक्यौं । त्योमध्ये एउटा ठाउँमा अलि लामो समयसम्म व्यवस्थापन गर्ने सम्झौता भएको छ,’ उनले भने, ‘जनावरी १ मा ठूलो जहाज अवतरण गर्छ । फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने कुरा हामी शुक्रबारबाहिर ल्याउँछौं ।’
अन्तर्राष्ट्रिय बजारका लागि नयाँ एयरपोर्ट राम्रो प्रोडक्ट भएको गौतम सुनाउँछन् । ‘इन्टरनेसनल कम्युनिटीले यहाँको बिजनेस के हो ? कसरी अगाडि बढ्न सकिन्छ । यहाँको लोड र कार्गोको कुरा अध्ययान गरेर बिजनेस अगाडि बढाउँछ,’ उनले भने, ‘हामीले यहाँ यात्रुको लोड छ भनेर अन्तर्राष्ट्रिय मार्केटमा देखाउनुपर्यो ।
यसका लागि नेपालमा आएका पर्यटकको ४० प्रतिशत पर्यटक पोखरा आउँछन् । त्यो ४० प्रतिशतलाई डाइरेक्ट पोखरा ल्याएर बिजनेस दिनसक्नु पर्छ । यसका लागि सबैको सहयोग आवश्यक पर्छ ।’
जजिरा, कतार, थाइ स्माइल, हिमालयन, फ्लाइ दुबई एयरलायन्सले चासो देखाएको गौतमले सुनाए । बुद्ध एयरलाइन्सले भारतसम्म उडन भर्ने यसअघि नै जानकारी गराइसकेको छ ।
पुस १७ गते पहिलो दिन स्टाइल टाइपको उडान, अल्ट्रालाइट र हेलिकोप्टर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको भनाइ छ । गौतमले भने, ‘पोखराबाट हुने सम्पूर्ण उडान पनि यही विमानस्थलबाट हुन्छ ।’ भारतका धेरै ठाउँमा रुटको समस्या छ । ‘हामीले दिल्ली, दोहा उडाउन चाहेका छौं । यसका लागि रुटको समस्या छ । भारतको अनुमति कुरिरहेका छौं,’ उनले भने ।
बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रुपेश जोशीले पुस १७ गते पोखरा बनारसको उडान गर्न पत्र पठाइसकेको बताए । त्यसका लागि भारतको अनुमति दिने पत्र कुरिरहेको उनको भनाइ छ । ‘हामी पहिलो दिन नै डेमो फ्लाइट गर्ने प्लानमा छौं । यसका लागि भारतको अनुमति पत्र कुरिरहेका छौं,’ उनले भने, ‘पोखरा बनारसलाई रुटको समस्या छैन । देहरादुनमा रुटको समस्या छ ।’
जोशीले बुद्ध एयरले अब पोखराबाट दैनिक काठमाडौं १५ वटा फ्लाइट गर्ने सुनाए । उनले पुरानो एरपोर्ट र नयाँ एयरपोर्टमा भाडादरमा फरक नपर्ने उल्लेख गरे । पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनमा आएपछि थपिने पर्यटकका लागि पोखरामा पूर्वाधार र सुविधा रहेको उल्लेख गरे ।
उनले भने, ‘पोखरामा दैनिक २० हजार पर्यटक राख्न सक्ने होटल छन् । सरोकारवाला निकायले समन्वय गरेर जति सक्दो अन्तर्राष्ट्रिय फ्लाइट गराएर पर्यटकको फ्लो बढाउन सहयोग गर्नुपर्छ । यो विमानस्थल हामी सबैको गौरबको कुरा हो ।’
विमानस्थल सञ्चालनमा आएपछि १ सय ५० देखि १ सय ८० यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले यहाँ उडान भर्न सक्छन् । विमानस्थल फोर डी श्रेणीको भएकाले रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ । अन्तर्राष्ट्रिय जहाजले पूर्वपट्टिबाट मात्रै उडान र अवतरण गर्ने छन् ।
यो विमानस्थलबाट दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुन सक्ने प्राधिकरणले जनाएको हो । चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा विमानस्थल बनेको हो । गत चैत १२ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनबाट नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ ।
चीन सरकारका विदेश मन्त्री वाङ यीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी दिएर विमानस्थल हस्तान्तरण गरेका थिए । भर्चुअल माध्यमबाटै चीनका विदेश मन्त्री यीले चाबी हस्तान्तरण गरे पनि पोखरामा तामझामका साथ कार्यक्रम भएको थियो ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।







पोखरेली ट्याक्सी सेवाको सातौँ साधारणसभा
बोट मर्न थालेपछि कागती किसानलाई सुर्ता
लिटिल स्टेप माविमा खेलकुद
पोखरा आदर्श स्कुलमा सामान्य ज्ञान प्रतियोगिता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया