अरुले पर्खिदैनन्, हामी दौडौंः वाग्ले

पोखरा ।
नेपाल लिटरेचर फेस्टिभलको १० औं संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा जारी छ । करिब २ सय वक्ता र हजारौँ सहभागीको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिनको उद्घाटन सत्रमा काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्यूत वाग्लेले विद्वत् प्रवचन दिए ।
उनले नेपाल २०९० शीर्षकमा विशेषगरी नेपालले अपनाउनुपर्ने विकासको शैली र यहाँका सम्भावना एवं राजनीतिक/सामाजिक नेतृत्वले लिनुपर्ने बाटाबारे चर्चा गरे । ‘सरल रेखाको परिकल्पनामा अबको १ दशकपछिको नेपाल निःसन्देह आशावादी छ ।
यो मुलुक अहिलेभन्दा धेरै समृद्धिशाली र गौरवशाली हुनेछ,’ उनले भने, ‘जनताको भागमा पर्ने सुखको मात्रा र सुखानुभूति गर्ने आमजनताको संख्यामा बढोत्तरी हुनेछ । निश्चय नै आशाका किरणहरू पर्याप्त छन् ।’
नेपाललाई बराबरीको हैसियतमा उभ्याउनकै लागि कुनै पनि मुलुक कुरेर बस्ने छैनन्, हामी उनीहरूलाई भेट्टाउन दोहोरो गतिमा दौडिन सक्नुपर्छ ।
डा अच्यूत वाग्ले
अबको दशकमा मुलुकको शासकीय बागडोर दूरदृष्टियुक्त, सुपठित, योग्य र व्यवस्थापकीय सक्रियता भएका राजनेताको हातमा पर्ने उनको अपेक्षा छ । उनी भन्छन्, ‘तर, हामीले अपेक्षा गरेका सबै पक्षमा सोचेजस्तै उपलब्धि हासिल भए भने पनि त्यतिले मात्रै दशकपछिको नेपालको अनुहारलाई भविष्यको कुरा छोडौँ, वर्तमान विश्वकै औसत कोटीका विकसित मुलुकहरूको हाराहारीमा पनि उभ्याउन सकिँदैन ।’
संसार जुन गतिमा अगाडि बढिरहेको छ, त्यसको तुलनामा नेपाल धेरै सुस्त रहेको उनले बताए । उनी भन्छ्, ‘नेपाललाई बराबरीको हैसियतमा उभ्याउनकै लागि कुनै पनि मुलुक कुरेर बस्ने छैन, हामी आफैं उनीहरूलाई भेट्टाउन दोहोरो गतिमा दौडिन सक्नुपर्छ ।’
कार्यक्रममा नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले सन् २०११ मा सुरु भएको फेस्टिभलले एक दशक लामो यात्रा तय गरेको उल्ले गरे । उनले यस क्रममा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गरे ।
उनले गण्डकी प्रदेश, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानलगायत सरोकारवाला निकायले फेस्टिभल प्रति अपनत्व ग्रहण गरिदिए यस कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन सकिने जनाए ।
भारीले इंगित गरेको साथ तथा सहयोगप्रति सकारात्मक प्रतिक्रिया जनाए, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले । उनले फेस्टिभललाई पोखराको गौरवको संज्ञा दिए । आफूहरू सधैँ यसलाई साथ दिन तयार रहेको आचार्यको भनाइ छ ।
‘पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर पाएको छ । यसको निरन्तरता यहीँ हुनुपर्छ र सबै पोखरेलीले यसलाई सम्बोधन गर्नुपर्छ,’ आचार्यले भने। उनले यसअघिका फेस्टिभलमा प्रदीप गिरी जस्ता वक्ताले दिएको भाषण र संवादलाई पनि सम्झिए।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले यस साहित्यिक महोत्सवको महत्वबारे चर्चा गरे । उनले भने, ‘गण्डकीको प्रज्ञा प्रतिष्ठान यस कार्यक्रमसँग सधैँ हातेमालो गर्ने प्रतिबद्ध छ ।’
पहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग ‘घरबाट स्कुलसम्म’ शीर्षकमा फिसटेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले छलफल गरे । उनीहरूले बालबालिकाको विकासक्रममा अपनाउनुपर्ने संवेदनशीलतालगायत विविध पक्षबारे विमर्श गरे ।
एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्ग अनुसार फरक कक्षाकोठा, फरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था रहेको डा. दाहालको भनाइ छ । उनले एउटै विद्यालयमा फरक तरिकाले सिकाइ विधि अपनाउँदा विद्यालयबाटै वर्गीय उत्पादन भइरहेको बताइन् ।
‘सरकारी नियमन, मापदण्ड नबनाइदिँदा अहिले स्कुल नै वर्गीय उत्पादन हुने देखिन्छ । सिकाइको खाडल त्यहीबाट सुरु भएको देखिन्छ,’ डा दाहाल भन्छिन्, ‘निजी विद्यालयको सिको गरेर अंग्रेजी बनाउने, प्रवेश परीक्षा लिनुपर्ने गर्न थालेका छन् । यो एकदमै विभेद छ, वर्गीकरण छ ।’
कार्यक्रममा वरिष्ठ संगीतकार गोपाल योञ्जनका गीतहरूको सांगीतिक प्रस्तुतिसमेत भयो । उक्त कार्यक्रममा कवि नवराज पराजुलीले योञ्जनका कृति वाचन गरे । त्यस्तै उज्ज्वल सागर, बानिका प्रधानलगायतले उनका गीत गाए । फाइनप्रिन्टद्वारा प्रकाशित गोपाल योञ्जनका गीतहरूको संग्रह गोपालय समेत उक्त कार्यक्रममा लोकार्पण गरियो ।
तपाईको प्रतिक्रिया