आत्मविश्वासको जगमा अब्बल

समाधान संवाददाता २०७९ पुष १० गते १०:३७

पोखरा ।
२०६४ मा दुर्घटना १ खुट्टा गुमाएपछि नीलम ढुंगानाको आत्मविश्वास पनि भाँच्चिसकेको थियो । दुर्घटना हुनुअगाडि शौखले नृत्य गर्दै आएकी उनलाई उभिने खुट्टा नै गुमाएपछि धेरै थोक गुमाएझैं लाग्यो ।

Advertisement

तर, उनको जीवनमा यस्तो पनि मोड आयो, जुन मोडबाट उभिनमात्रै सिकिनन्, एउटै खुट्टाको बलमा उभिएर फनफनी नृत्य गर्न सकिन् । आज देशमा मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरका मञ्चमा पनि उनको माग बढ्दो छ ।

त्यो नीलमले देखाएको आँट थियो । ‘म अरुभन्दा फरक देखिन्छु भनेर नृत्य गरेको पनि होइन । दुर्घटनापछि मलाई आत्मविश्वास पनि थिएन । यसरी बोल्न पनि सक्दिनँ थिएँ । कहीं कन्फिडेन्स थिएन, सेल्फडाउट थियो,’ ढुंगाना सुनाउँछिन् ।

पोखरामा जारी नवौं नेपाल लिटरेचर फेस्टिबलको तेस्रो दिन भएको ‘फरक, अब्बल’ सत्रमा ढुंगानाले कलाकार सुजल बम र अमीर बोम्जनसँग आफ्नो भोगाइ साटिन् । सत्रको सहजीकरण पत्रकार गजेन्द्र बुढाथोकीले गरेका थिए ।

नीलमले एउटै खुट्टाको बलमा नाच्न थालेको २०१३ देखि हो । त्यति बेला पनि आफ्नो कमजोरी लुकाउन ‘आफ्नै बिजोग देखाएर किन नाच्ने ?’ भन्ने लाग्ने गरेको उनको अनुभव छ । ‘सायद ममा पनि चेतना थिए । डर, लाज मलाई पनि लाग्थ्यो,’ उनले भनिन्, ‘कसैले केही भन्ने हुन् कि मन नपराइदिने हुन् कि भन्ने लाग्थ्यो ।’

Advertisement

तर, अहिले आफ्नै प्रस्तुतिले दर्शकको सोच बदल्न सकेकोमा भने उनी खुसी छिन् । पछिल्लो समय चर्चामा आएको सामाजिक सञ्जाल ‘टिकटक’लाई प्रयोग गर्दै बम कलाकारितामा प्रवेश गरेकी हुन् ।

सत्रमा बमलाई अनुवादक रश्मि निरौलाले सहयोग गरेकी थिइन् । उनले अहिले ‘लिपसिङ’कै आधारमा थुप्रै म्युजिक भिडियोमा मोडलिङ पनि गरिसकेकी छन् ।

सुदूरपश्चिमको डोटीबाट काठमाडौं आएर संघर्ष गरेकी बमले आफू बहिरा भएकै कारण थुप्रै ठाउँमा समस्या भोग्नुपरेको सुनाइन् । मिस एसइई २०१९ मा भाग लिएर चौथो स्थान ल्याएकी उनी त्यति बेला दोभाषे नहुँदा पनि आफू हिम्मत गरेर उक्त प्रतियोगितामा भाग लिएको बताइन् ।

‘१० कक्षापछि मिस एसईईमा भाग लिएकी थिएँ । त्यसमा पनि दोभाषेको व्यवस्था थिएन । दोभाषे नहुँदा धेरै समस्या भोग्नुपर्‍यो,’ बम सुनाउँछिन्, ‘तर, जे गरें आफ्नै बलबुत्ताले गरें । साथ बाबाको पनि रह्यो ।’

साथीहरुको सिको गर्दै नाच्न सिक्दासिक्दै कोरोना महामारीले कक्षा रोकियो । त्यसपछि उनले आफूलाई भुलाउन टिकटकमा नाचेको भिडियो पोस्ट्याउन थालिन् । गीत नसुने पनि ओंठको चालका आधारमा आफ्नो नृत्य चाल पहिल्याउन थालिन् ।

‘सुरुमा नाच सिक्छु भन्दा पनि बहिरा भनेर कसैले सहयोग गरेन । तर, कोरोनाका बेला टिकटकमा नृत्य गर्दै भिडियो हाल्न थालें । धेरैले मन पराइदिनुभयो,’ उनले भनिन् ।

कलाकार ढुंगानाले अपांगता भएका व्यक्तिहरुलाई अवसर सपांग व्यक्तिले नै दिनुपर्ने धारणा राखिन् । अपांगता भएका व्यक्तिहरु पनि अवसरकै खोजीमा हुने भएकाले त्यसमा व्यक्ति, समाज र राज्य सबै उत्तिकै जिम्मेवार हुनुपर्ने सुझाइन् ।

‘अवसर दिने अपांगता नभएकाले नै दिने रहेछ । जिम्मेवारीचाहिँ व्यक्ति, समाज र राज्य सबैको हुँदो रहेछ,’ उनले भनिन्, ‘जब हाम्रा मुद्दाहरु स्वीकारिन्छन्, तबमात्रै हाम्रो सम्मान हुन्छ । नत्र त विभेद कहाँ हुँदैन ? त्यसको पनि आफैं विरोध गर्न सक्नुपर्छ ।’

घरअगाडि गुम्बा भए पनि अमीर बोम्जन कहिल्यै त्यहाँ पुग्न पाएनन् । नजिकै हरियो फैलिएको पहाड थियो, उक्लिन पाएनन् । पाठशाला थियो, अक्षरसँगै यात्रा गर्न पाएनन् । कारण थियो, बोम्जनको जन्मजात घाँटीभन्दामुनिको भाग नचल्नु । जहाँ देख्थे अँध्यारोमात्रै देख्थे, जे सोच्थे एक्लोपनबाहेक केही पनि अनुभव गर्दैन थिए ।

तर, अमीर त्यही एक्लोपनको बलमा उभिएर आज अन्तर्राष्ट्रियस्तरको कलाकार बनाएका छन् । गीतकार, गायक बनाएका छन् । पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभलमा अमीरको चित्रकला पनि प्रदर्शनमा छ ।

तपाईको प्रतिक्रिया