स्पेनिस क्लबसँग गण्डकी ११ भिड्दै

पोखरा ।
पोखरामा यही पुस १३ गते स्पेनको काथेरेन्यो फुटबल क्लब र गण्डकी प्रदेश ११ बीच हुने ऐतिहासिक मैत्रिपूर्ण फुटबल खेलको तयारी अन्तिम चरणमा पुगेको छ ।
लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजना, कास्की जिल्ला फुटवल संघको सहकार्यमा हुने उक्त मैत्रिपूर्ण फुटबल खेलको तयारी अन्तिम चरणमा पुगेको फाउन्डेसनका महासचिव एकराज गिरीले बताए ।
शान्तिका लागि फुटबल भन्ने नारासहित नेपालको पोखरा र काठमाडौंमा गरी २ ठाँउमा २ दिने हुने उक्त ऐतिहासिक खेल खेल्न स्पेनको टोली क्रिसमस पर्व मनाएसँगै नेपालतर्फ आउने छन् ।
वल्र्ड कप र युरो कपमा खेलेका खेलाडी पोखरा र काठमाण्डौंको मैदानमा खेल्नु नै नेपालको लागि ठूलो उपलब्धि र ऐतिहासिक हुने महासचिव गिरीले सुनाए ।
फुटबल खेलमा विश्वलाई नै आकर्षण गरेको स्पेनका रियल म्याड्रिड जस्तो टिमका चर्चित खेलाडीह पोखरा र काठमाण्डौंमा ल्याएर मैत्रिपूर्ण फुटबल खेलाउने आफूहरुको यो अभियान खेलाडीका लागि प्रोत्साहन हुने महासचिव गिरीले जनाए ।
गण्डकी प्रदेशको सहयोगमा हुने उक्त मैत्रिपूर्ण फुटबल खेल अवलोकनका लागि भने निश्चित शुल्क लाग्ने भएको छ ।
स्पेनका पूर्व राष्ट्रिय खेलाडीहरुसमेत संलग्न भएको स्पेनको बी डिभिजनको काथेरेन्यो फुटबल क्लबले बुधबार गण्डकी प्रदेश ११ सँग पोखरा रंगशालामा दिउँसो २ बजेपछि मैत्रिपूर्ण फुटबल खेल्ने तयारी गरेको उनले बताए ।
पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङको कप्तानीमा गण्डकी प्रदेशको टिमको तयारी भएको प्रशिक्षक राजेन्द्र तामाङले बताए । उनका अनुसार गण्डकीको टिमको हाल नियमित प्रशिक्षण पोखरामा भइरहेको भए पनि पछिल्लो ३ दीनको लागि भए पनि बन्द प्रशिक्षण हुने भएको छ ।
गण्डकीको टिममा राष्ट्रिय खेलाडी दीप कार्की, पूर्व राष्ट्रिय खेलाडी मनबहादुर तामाङ, एडिभिजनका खेलाडीको छनौट भएको प्रशिक्षक तामाङले बताए ।
मैत्रिपूर्ण फुटबल खेलका लागि गण्डकीबाट छनौट भएका खन्य खेलाडीमा रोशन रानामगर, राजाबाबु मगर, आशीष गुरुङ, रन्दीप पौडेल, जीवन गुरुङ, सुमित श्रेष्ठ, सरोज योञ्जन, बिसन गुरुङ, जय गुरुङ, कमलबहादुर थापा, विजय श्रेष्ठ, दिपेश आलेमगर, शान्तबहादुर गुरुङ, लक्ष्मण रुचाल, सुवास गुरुङ र सुरज गुरुङ रहेका छन भने टिम म्यानेजरमा रोसन रानामगर छन् ।
वल्र्ड कप र युरो कपमा खेलेका खेलाडी ऐतिहासिक मैत्रिपूर्ण फुटबल खेल्न स्पेनबाट नेपाल आउने भएका छन् । यही पुस १३ गते पोखरा रंगशालामा हुने मैत्रिपूर्ण फुटवल खेलमा सहभागी हुन स्पेनबाट विश्वकप तथा युरोकप खेलका जुलिओ सालिना, रुबेन दे ला रेद, मिचेल कार्रीलेरो लगायतका खेलाडी आउने पक्का भएको छ ।
जुलियो भने पोखरा र काठमाडौंमा हुने मैत्रिपूर्ण फुटबल खेलेर हिमाल आरोहणमा जाने भएका छन् । रुबेन रियल म्याड्रिडका पूर्व खेलाडी, २००८ को युरोकप जिताउन योगदान दिएका खेलाडी हुन् ।
मिचेल स्पेनका पूर्व खेलाडी तथा केवेत राष्ट्रिय टिमका पूर्व प्रशिक्षकसमेत हुन् । पोखरा आउने काथेरेन्यो फुटवल क्लबले स्पानिस किंङस कप(कोपा देल रेई) अन्र्तगत अबको खेल २०२३ को जनवरी ४ तारिखमा रियल म्याड्रिडसँग खेल्ने भएको छ ।
उक्त मैत्रिपूर्ण खेलका लागि खेलाडी, अफिसिलय, पत्रकारसहित ५२ जनाको टोली स्पेनबाट आइतबार नेपालतर्फ आउने आएको फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले बताए ।
फाउन्डेसनका महासचिव एकराज गिरीले बुद्ध र सगरमाथा जोडेर आफूहरुले विदेशमा नेपालको नाम राख्ने विभिन्न अभियान गर्दै आएको बताए ।
तपाईको प्रतिक्रिया