यथार्थ र कल्पनाको मिश्रण कथा

पोखरा ।
‘म एउटा लाइनमा घन्टौं काम गर्छु । मेरो कवितादेखि कथा लेखनसम्म म आफैंलाई जटिल लाग्छ । घन्टौंसँग एउटै लाइनलाई खेलाइराख्छु । घोत्लिरहन्छु,’ कथाकार नवीन अभिलाषी आफ्नो कथा लेखनबारे अनुभव सुनाउँछन्, ‘स्टार्टिङ लाइन फुराउनै काम निकै पीडादायी हुन्छ ।’
साहित्यकार अभिलाषी बाह्रखरी मिडियाले हालै गरेको राष्ट्रिय कथा प्रतियोगिताका विजेता हुन् । उनको ‘दमाई’ नामक कथा प्रथम भएको थियो । सोही कथा प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय कथाकारलाई पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभलमा ‘१२खरी कथाका अन्तरकुन्तर’ विषयक सत्रमा वक्ताका रुपमा डाकिएको हो ।
पत्रकार गोविन्द अधिकारीले सहजीकरण गरेको सत्रमा वक्ता कथाकारले आआफ्ना कथालेखन अनुभव र दृष्टिकोण राखे । कथाकार अभिलाषीले आफूले अरुले जस्तो एकै बसाइँमा कथा लेख्न नसक्ने सुनाए ।
प्रत्येक मान्छेले कथा बाँचिरहेको छ । तर, सबैको लिपिबद्ध हुँदैन । त्यो लिपिबद्ध हुन कथाकारको मस्तिष्कले महसुस गर्नैपर्छ ।
नवीन अभिलाषी
साहित्यकार अभिलाषीका विचारमा यथार्थ र कल्पनाको सम्मिश्रण नै कथा हो । तर, आफूले कथा लेख्नुअघि आफूलाई पात्रका रुपमा उभ्याउने गरेको उनको कथन छ । भन्छन्, ‘पात्रको चरित्र, प्रवृत्ति पहिले म आफू भोग्छु । प्रत्येक मान्छेले कथा बाँचिरहेको छ ।
तर, सबैको लिपिबद्ध हुँदैन । त्यो लिपिबद्ध हुन कथाकारको मस्तिष्कले महसुस गर्नैपर्छ ।’
प्रतियोगितामा दोस्रो भएका कथाकार रमेशजंग थापा कथामा जीवन र जगतलाई नै प्रतिबिम्बित गरिने सुनाए । ‘जीवनमा दुख छ । सुख छ ।
आँसु छ, रोदन, पीडा छ । तर, पनि अतिसुन्दर छ । त्यसैलाई कथाले प्रतिबिम्बित गर्छ । कथा जीवन र जगतको प्रतिविबम्ब हो,’ थापाले भने, ‘साहित्य आफूले देखेका कुरालाई छर्लंग पार्ने ऐना हो भन्ने लाग्छ ।’
उनले कथामा यथार्थमात्रै हुँदा कथा नभई समाचार र खबरमात्रै हुने भएकाले लेखकले आफ्नो काल्पनिक सिर्जनशीलता पनि मिलाउनुपर्ने थापाको भनाइ छ । ‘यथार्थलाई कल्पनामा ढाल्न सक्यो भने कथा हुने हो । कल्पना र यथार्थको फ्युजन नै कथा हो,’ उनले भने ।
प्रतियोगितामा तेस्रो स्थान ल्याएकी रुमु न्यौपानेले आफ्नो कथाका पात्र यथार्थ नै हुने बताइन् । उनले पात्र यथार्थ भए पनि कथा भने काल्पनिक नै राख्न मन पराउने सुनाइन् ।
कथाकार अभिलाषीले आफूले कथाअनुसार नै पात्रको निर्माण गर्ने सुनाए । तर, कहिलेकाहीं पात्रको चरित्र अनुसार पनि कथा निर्माण गर्नुपर्ने उनको तर्क थियो ।
‘कथाकारले कसरी हेर्छ भन्ने हुन्छ होला । कथाको हेराइ, बोल्ने शैलीले गर्दा पनि यो पात्रलाई कतै न कतै राख्नुपर्छ भन्ने कथाकारलाई लाग्छ र कथानक निर्माण गर्न लाग्छ,’ उनले भने, ‘अर्को राजनीति, सांस्कृतिक, कथा हुन सक्छ ।’
कथाकार रमेशजंगले समाजबाटै पात्रको उठान गरे पनि लेख्नुपूर्व आफूलाई पात्रका रुपमा महसुस गर्ने सुनाए । कथाकारले पात्रको प्रवृत्ति बुझ्न नसके कथा हुन नसक्ने उनको दाबी थियो । ‘कथाकारले पात्र आफैं बनेर लेख्न सकेन भने कथाकार हुन सक्दैन,’ उनले भने, ‘कथाकारले कथालाई अक्षरद्वारा जीवन दिने हो ।’
कथाकार रुमुले आफूले पहिले पात्र भेट्ने र त्यसपछिमात्रै कथाको प्लट तयार पार्ने बताइन् । उनले पात्र भेटिइसकेपछि उसलाई कसरी डोर्याउने भन्ने कथा तयार पार्ने उनको भनाइ थियो ।
कथाकार नवीनले आफूलाई कथालाई काल्पनिकतामा लैजान मन नपर्ने सुनाए । ‘मैले लेख्ने धरातल यथार्थजादी कथा नै हो । कथालाई काल्पनिकतामा लैजान त्यति मन पर्दैन,’ उनले भने, ‘हजोको समयलाई आधार मानेर हिजो पञ्चायत, राणाकालीन मा छुटेको समाको कथा लेख्नुपर्छ भन्ने लाग्छ ।’









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया