गिरीको नेतृत्वमा टेवान

समाधान संवाददाता २०७९ पुष १२ गते १७:१५

पोखरा ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को पाँचौं साधारणसभा एवं तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिव अनिता खड्का भट्टराई, सचिव शोभा अधिकारी पौडेल र कोषाध्यक्षमा कमला गुरुङ छन् ।

समितिका सदस्यमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा छन् । सदस्य ईश्वरी पौडेललाई समितिको कानुन तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारीसमेत प्रदान गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक एवं टेवानका सल्लाहकार टीकाराम सापकोटा, निर्वतमान अध्यक्ष रेणु थापामगर, संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री लगायतले बधाइ दिए ।

सभामा महिला सीप विकास संस्थाका प्रबन्धक रामकलि खड्काले पछिल्लो समयमा महिला उद्यमशीलताका क्षेत्रमा अग्रसर बन्दै गएको बताउँदै सशक्तीकरणका लागि प्रत्येक महिला आयआर्जनसँग जोडिनुपर्ने आवश्यकता औंल्याइन् ।

Advertisement

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले पोखरा नेपालको पर्यटनको राजधानीमात्र नभई दक्षिण एसियाको नै उत्कृष्ट गन्तव्य रहेको जनाए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने अन्तिम तयारीमा रहेको बताउँदै उनले यसले पोखरालाई अन्तराष्ट्रिय बजारसँग जोड्ने अपेक्षा गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा महिला पर्यटन व्यवसायी संगठित बन्दै अघि बढेको उल्लेख गर्दै परिषद्ले हरेक पर्यटकीय गतिविधिमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

टेवानका अध्यक्ष रेनु थापामगरले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास टेवानको प्राथमिकतामा रहेको बताउँदै धेरै पर्यटन व्यवसायी महिला संस्थासँग आवद्ध बनेको उल्लेख गरिन् ।

कार्यक्रममा टेवानका उपाध्यक्ष कमला गिरी, सचिव प्रभा सुवेदी, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले बोलेका थिए ।

सो अवसरमा राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल र कान्तिपुर राष्ट्रिय दैनिकका कास्की समाचारदाता दीपक परियारलाई सम्मान गरिएको छ ।

पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएवापत उनीहरूलाई सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया