सम्भोग कि पुरुष भोग ?

पोखराकी शर्मिला मगर (नाम परिवर्तन)ले ५ वर्षसम्मको प्रेमलाई विवाहमा परिणत गरिन् । विवाह गरेको एक वर्षमात्र पुग्यो तर यौन सम्बन्धका विषयमा आफू अझै खुल्न नसकेको उनी बताउँछिन् । ‘विवाहअघि पनि हामीबीच सुरक्षित यौन सम्बन्ध भएको हो, विवाहपछि त झन् नहुने कुरै भएन तर मेरो इच्छा र सन्तुष्टिको विषयमा भने कहिल्यै खुल्न सकेकी छैन,’ उनी भन्छिन् । जहिले पनि श्रीमानको इच्छा र सन्तुष्टिका लागि मात्रै यौन सम्बन्ध राख्नुपरेको उनको भनाइ छ ।
४५ वर्षीया युना कार्की (नाम परिवर्तन) पेशाले वकिल हुन्, दुई सन्तानकी आमा । उनी भन्छिन्–७ वर्ष रिलेसनमा बसेरमात्रै करियर बनेपछि विहे गर्यौं, दुई सन्तान भइसके तर श्रीमान्लाई सेक्सका लागि अहिलेसम्म प्रपोज गर्न सकेकी छैन ।’ जहिले पनि पार्टनरको इच्छामा चल्नुपर्ने उनको भनाइ छ ।
‘मेरो पनि त इच्छा हुन्छ, आनन्द र सन्तुष्टि पाउने अधिकार मलाइ पनि छ तर न त श्रीमान्ले वास्ता गर्छन्, न त म नै प्रपोज गर्न सक्छु,’ उनी भन्छिन् । शिक्षित भएर पनि आफ्नो प्रजनन् स्वास्थ्यका बारेमा आवाज उठाउन नसक्ने यो अवस्थामा ग्रामीण क्षेत्र र कम शिक्षित महिलाको अवस्था कस्तो होला युना आफैं प्रश्न गर्छिन् ।
नेपाली समाजमा वर्षौ प्रेममा परेर विवाह गरेका जोडीले पनि यौन सम्बन्धलाई सम्भोगका रुपमा अपनाउन सकेका छैनन्
६० वर्षीया डिलमाया विक (नाम परिवर्तन) ५ सन्तानकी आमा हुन् । २० वर्षको उमेरमा विवाह अनि लगातार ५ सन्तान । ‘आफैं भागी विहे गरें, पाँच सन्तान जन्माए,’ उनी भन्छिन् । यौन आनन्द र सन्तुष्टिका बारेमा सोध्दा मज्जाले हाँस्छिन् र भन्छिन्, ‘यस्तो पनि हुन्छ र ? मलाई त थाहा नै छैन नानी ।’ विवाहको रातबाट नै सम्बन्ध सुरु भयो, त्यसपछि वर्षौटे जसो सन्तान जन्मिए अरु कुराको त याद नै छैन,’ उनले थपिन् ।
शर्मिला, युना र डिलमायाहरु त प्रतिनिधि पात्रमात्र हुन् । यस्ता अधिकांश नेपाली महिला छन्, जसले मेरो शरीर मेरो अधिकार भन्ने बुझेका छैनन् । आफ्नो शरीरसँग खेल्दा आफू पनि आनन्द र सन्तुष्टिको भागिदार हुन पाउनुपर्छ भन्ने बुझ्न सकेका छैनन् । यौन सम्बन्धको बेला महिला र पुरुष अर्थात् पति र पत्निबीच समान भोग र समान इच्छा हुनुपर्छ भन्ने बुझ्न नसक्नेहरुको संख्या उल्लेखनीय छ ।
यौन सम्बन्ध अर्थात सम्भोग । सम्भोगको अर्थ हो महिला र पुरुषले समान रुपमा भोग गर्ने । शारीरिक सम्बन्ध अर्थात् यौन सम्बन्ध राख्दा महिला र पुरुष दुवैले समान रुपमा भोग गरुन् भन्ने अर्थमा सम्भोग भनिएको हो । तर नेपाली समाजमा समान भोगको न्यूनतम अंश पनि महिलाले भोग गर्न नपाउने अवस्था विद्यमान छ ।
कहिले कति बेला पेटमा बच्चा बस्यो भन्नेसम्म थाहा नपाउने नेपाली समाजका डिलमायाहरुलाई र नयाँ पिँढीका शिक्षित अधिवक्ता युनाहरुलाई हेर्ने हो भने यौनको सवालमा नेपाली समाज अझै खुल्न सकेको छैन । जति नै शिक्षित भए पनि यौनको सम्बन्धमा न त खुलेर कुरा गर्छन्, न त यौन सम्बन्धमा महिलाको पनि समान भोग हुन्छ भनेर नै बुझ्छन् ।
यौनको सम्बन्धमा नेपाली समाज पर्दाभित्र बसेरमात्र कुरा गर्न रुचाउँछ । अझ भन्ने हो भने यौनका विषयमा कुरा चल्दा आफूलाई भलादमी देखाउने र दुई/चार हात पर सर्ने अवस्था शिक्षित जगतमा पनि कायम छ ।
यौन सम्बन्ध अर्थातु मानिसका प्रजनन् र यौन स्वास्थ्यसम्बन्धी सम्पूर्ण विषय प्रजनन् स्वास्थ्य हो ।
मानिसका प्रजनन प्रणाली र प्रजनन् अंगहरुको विकास सही रुपमा हुन सके प्रजनन् स्वास्थ्य राम्रो हुन्छ । यौनमा आउने सकारात्मक सोच पनि प्रजनन् स्वास्थ्य हो । सुरक्षित रुपमा आनन्दमय यौन जीवनयापन गर्न सक्षम हुनु, सन्तान जन्माउने क्षमता, सन्तान कहिले, कसरी, कति जन्माउने भन्ने निणर्य गर्ने स्वतन्त्रताको सवाल प्रजनन् स्वास्थ्य भित्रका महत्वपूर्ण विषय हुन् ।
विश्व स्वास्थ्य संगठन र इजिप्टको राजधानी कायरोमा १९९४ मा सम्पन्न सम्मेलनले तयार गरेको अवधारणा अनुसार प्रजनन् स्वास्थ्य भन्नाले मान्छे निरोगी हुनुमात्र नभई शारीरिक, मानसिक एवम् सामाजिक दृष्टिकोणबाट स्वस्थ रहनु पनि हो । प्रजनन स्वास्थ्यमा महिलाको प्रजनन अंगहरु ठीक तथा सबल हुनुमात्र नभई प्रजनन तथा यौनसम्बन्धी मानसिकताको सकारात्मक विकास हुनु पर्दछ । साथै यौन दृष्टिकोण, अवधारणा, सोचमा पनि सकारात्मक हुनु जरूरी छ ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अन्तर्गत लैंगिक हिंसा विरुद्धको अधिकार, यौन सम्बन्धमा आनन्द र सन्तुष्टि, सुरक्षित गर्भपतन, गर्भ निरोधका साधनमा छनौट तथा पहुँच, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य, किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी शिक्षा, सूचना, परामर्श तथा सेवा, सुत्केरी र प्रजनन् स्वास्थ्य रुग्णताको उपचारलगायत विविध विषयवस्तु पर्दछन् । यौन स्वास्थ्य मानव जीवनको एक महत्वपूर्ण पक्ष हो ।
हरेक किशोरकिशोरीले आफ्नो यौनिकतालाई बुझ्नु नितान्त आवश्यक छ । यौन जोडी छान्न सक्ने अधिकार पाउनु पर्छ र चाहेको खण्डमा हरेक किशोरीले यौन अधिकार पाउनु पर्छ । मेरो ज्यान, मेरो अधिकार र मेरो निर्णय भन्ने भनाइलाई अंगिकार गर्दै हरेक प्रजनन् स्वास्थ्यमा महिलाको इच्छा अन्तिम हुनुपर्छ । विवाहपश्चात गर्भवती कहिले हुने या नहुने, कति बच्चा जन्माउने या नजन्माउने भन्ने अधिकार महिलालाई हुनुपर्छ ।
महिलाले खुलेर पार्टनरसँग कुरा गर्ने अधिकार बनाउन सक्नुपर्छ । यौन सन्तुष्टि या असन्तुष्टिका बारेमा पनि महिलाले आफ्नो पार्टनरसँग कुरा गर्न सक्ने क्षमताको विकास हुनु अत्यावश्यक छ । यसका लागि किशोरीलाई विद्यालय तहदेखि नै यौन शिक्षा दिनु आवश्यक छ । यौन शिक्षा प्राप्त भएमा उनीहरुले प्रजनन् स्वास्थ्यका बारेमा जानकारी पाउँछन् भने यौन र यौनिकताका बारेमा खुलेर कुरा गर्न सक्ने आत्मविश्वास बढ्छ ।
विद्यालयको पाठ्यक्रममा सिंगो विषयको रुपमा यौन शिक्षा राख्नु अहिलेको आवश्यकता हो । विद्यालयमा राखिने एउटा लेसनले मात्र यौन शिक्षाले पूर्णता पाउन सक्दैन । ‘कक्षा ११ र १२ को जनसंख्या शिक्षामा एउटा लेसन छ, यौन शिक्षाको बारेमा तर त्यत्तिले मात्र पूर्ण हुँदैन,’ महेन्द्र मावि नयाँबजारका शिक्षक अमृत भण्डारी भन्छन् । केही नहुनुभन्दा एउटा लेसनले समेत विद्यार्थीलाई केही ज्ञान प्राप्त भएको छ तर पाठ्यक्रममा सिंगो विषय समावेश भएमा उनीहरुले विस्तृत जानकारी प्राप्त गर्न सक्ने उनी बताउँछन् ।
गाउँ, टोलतिर पनि महिला र पुरुषको समूह बनाएर यौन शिक्षाका बारेमा छलफल र बहस चलाउन सके सर्वसाधारणसमेत लाभान्वित हुने अवस्था आउँछ । विवाहित महिलालाई एक्ला एक्लै वा आफ्ना पार्टनरसँग राखेर यौनका विषयमा शिक्षा दिनुपर्दछ ।
नेपाली समाजका अधिकांश विवाहित महिलाले यौन आनन्द लिन सकिरहेका हुँदैनन् । साँघुरो विचारधाराबाट हुर्किएको र खुलेर कहिले पनि यौनका बारेमा कुरा नगरिरहेकाले पनि नेपाली समाजका महिलाले यौन आनन्द लिन नसकेका हुन् । आफ्नो सन्तुष्टि र असन्तुष्टिका बारेमा आफ्ना पार्टनरसँग कुरा गर्न नसक्नु, आफूलाई यौन चाहना भए पनि यौन सम्बन्ध स्थापित गर्न पार्टनरलाई भन्न नसक्नु पनि यौन शिक्षाकै अभाव हो ।
यौन सम्बन्धको बेला आनन्द प्राप्त गर्न यौन जोडी मानसिक रुपमा तयार हुनुपर्छ । महिलाको पनि यौन अधिकार छ, उसले पनि यौनमा आनन्द र सन्तुष्टि पाउनु पर्छ भन्ने ज्ञान पुरुषलाई हुनुपर्छ । आफ्नो सन्तुष्टिमात्र होइन, महिलाको सन्तुष्टि र ईच्छालाई स्वीकार गर्न सक्नुपर्छ ।
यौन सम्बन्धका बेला शरीरका विभिन्न भागमा मायाले स्पर्श गर्ने, राम्रा र मिठा कुरा गर्ने जस्ता ज्ञान पुरुषमा हुनै पर्छ र मात्र यौन सम्बन्धलाई सम्भोगका रुपमा स्वीकार गर्न सकिन्छ । महिलाको आनन्द र सन्तुष्टिलाई स्वीकार गरी यदि सम्बन्ध स्थापित गरिन्छ भनेमात्र सम्भोग भन्न मिल्छ । नेपाली समाजमा वर्षौ प्रेममा परेर विवाह गरेका जोडीले पनि यौन सम्बन्धलाई सम्भोगका रुपमा अपनाउन सकेका छैनन् ।
यौन सम्बन्धका बेला लोग्नेले श्रीमतीको चाहनाका बारेमा सोध्ने, इच्छा भए/नभएको बुझ्ने र पार्टनरको यौन इच्छालाई आदर र सम्मान गर्न सकेमात्र महिलाले यौनमा सन्तुष्टि पाउन सक्छन् । अन्यथा, महिलाले इच्छा विपरीत यौन सम्बन्ध कायम गर्नुपर्ने र बिनाचाहना गर्भवती हुनुपर्ने बाध्यात्मक अवस्था सृजना हुन्छ । महिला र पुरुषलाई यौन र यौनिकताका बारेमा ज्ञान दिँदा यौन सम्बन्धको बेला पार्टनरको इच्छालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने सकारात्मक सोचको विकास हुनु जरुरी छ ।
नेपाली समाजमा अझै पनि यौनका कुरा खुलेर नहुने जटिल परिस्थिति छ । किशोर किशोरीका अगाडि यौनका कुरा गर्यो भने उनीहरु बिग्रन्छन् भन्ने सोच अझैं विद्यमान छ । वास्तवमा किशोर किशोरीलाई युवावस्थामा प्रवेश गर्नुअगाडि नै यौन शिक्षा दिने हो भने यौनका लागि परिपक्व हुने उमेर, प्रेम गर्ने उमेर, कुन उमेरमा यौन सम्बन्ध राख्दा राम्रो हुन्छ भन्ने जानकारीका साथै असुरक्षित यौन सम्बन्धले निम्त्याउने जटिलताका बारेमा बुझाउन सकिन्छ ।
यौन स्वास्थ्य र प्रजनन् स्वास्थ्यका बारेमा जानकार भएमा किशोरावस्थामा आउन सक्ने समस्याको समाधान गर्न सहयोग पुग्छ । यौन सम्बन्धमात्र यौनिकता होइन, यौनिकताभित्र अन्य पाटो पनि पर्दछन् । किशोर किशोरी अवस्थामा एक अर्काप्रति हुने आकर्षण, प्रेम, शरीरलाई लिएर हुने कौतुहलता, यौन सम्बन्धका बारेमा आउने जिज्ञासा, आफूसँगका साथीको शरीरलाई लिएर हुने आकर्षण आदि यौनिकताका क्षेत्र हुन् ।
पछिल्ला केही वर्षयता नेपाली समाजमा यौनिकताको सवाल गम्भीर रुपमा उठ्न थालेका छन् । किशोर किशोरी विपरीत लिंगीतर्फ मात्र आकर्षण नभई एउटै लिंगीप्रति पनि आकर्षण बढ्दै गरेको पाइन्छ, जसलाई समलिंगी भनिन्छ । एक अर्काप्रति आकर्षित हुने र प्रेममा पर्ने अवस्था भनेको यौनिकता हो, यौनिकताकै कारण प्रेममा पर्ने र यौन सम्बन्धका लागि तयार हुने अवस्था सिर्जना हुन्छ ।
किशोरावस्थामा पैदा हुने एक विशेष खालको हार्मोनले विपरीत लिंगीसंग आकर्षण हुने र झुकाव राख्ने गर्छ भन्ने जानकारी यौन शिक्षाबाट प्राप्त हुन्छ । एक अर्काप्रति आकर्षित हुनु, माया गर्नु, यौन सम्बन्ध राख्नु अपराध होइन । तर सम्बन्ध राख्ने उमेर र सुरक्षित सम्बन्धको बारेमा ज्ञान दिनु यौन शिक्षा हो । किशोरावस्थामा उत्पन्न हुने यौन जिज्ञासा जस्तै यौन सम्बन्ध, चुम्बन, स्तन, हस्तमैथुन, योनी, वीर्य, विवाह, विवाह पूर्वको सम्बन्ध, परिवार नियोजनका साधानहरु कन्डम, पिल्स आदिका बारेमा जानकारी दिनु नै यौन शिक्षा हो ।
सुरक्षित यौन सम्बन्धका बारेमा जानकारी दिन, यौन रोगबाट बच्न सकिने तरिका, यौन सम्बन्धका बेला आफ्नो पार्टनरको इच्छा र सन्तुष्टिका बारेमा बुझ्ने कुरामात्र नभई यौन सम्बन्धबाट हुने फाइदाका कुरा जस्तै सुरक्षित यौन सम्बन्धले सम्बन्ध प्रगाढ बनाउने, एक अर्काप्रति माया बढाउने, रोगसँग लड्ने शक्ति निमार्ण गर्ने, आनन्द लिन सक्ने, आत्मविश्वास बढाउने जस्ता शिक्षा दिने र सुरक्षित यौन सम्बन्धका बारे शिक्षा दिने ध्येयबाट निर्देशित हुनु आवश्यक छ ।
तपाईको प्रतिक्रिया