सम्पादकीय: एयरपोर्ट र आशा

समाधान संवाददाता २०७९ पुष १७ गते १३:४३

अन्ततः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदै छ । आजदेखि नयाँ एयरपोर्टबाट जहाज उड्न सुरु हुँदै छ । ४० वर्षभन्दा लामो समयपछि साकार भएको योजनासँग पोखरेलीका धेरै आशा र अपेक्षा जोडिएका छन् । सँगै थुप्रै चुनौती छन् । पहिलो चुनौती नै अन्तर्राष्ट्रिय भनिएको विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले सेवा दिनेबारेमा छ । के पोखराबाट सिधैं विदेशका एयरपोर्टम्म जहाज उडान होला ? संशय छ ।

Advertisement

त्यो किनभने अहिलेसम्म विदेशी जहाज कम्पनीले यहाँबाट उडानका लागि सम्झौता वा समझदारी गरेको थाहा छैन । चासोमात्रै राखेको सुनिन्छ । स्वदेशी वायु सवा कम्पनीहरुले भने भारतसम्ममात्रै भए पनि उडान गर्ने योजना छ । त्यतिचाहिँ पर्याप्त हुँदैन । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमै यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनुपथ्र्याे ।

नयाँ विमानस्थल चले पनि आन्तरिकमात्र उडान हुँदा अन्तर्राष्ट्रिय विमानस्थलको आभास सुरुआतमै हुन सकेन । यसका लागि आवश्यक गृहकार्य, तयारी र समन्वयमा सरकार र नागरिक उड्यान प्राधिकरण चुकेको देखियो । चाडै पोखराबाट अन्तर्राष्ट्रिय उडानका हुने वातावरण बनाउनैपर्छ ।

अन्तर्राष्ट्रिय उडान भएनन् भने एयरपोर्ट घाटामा जान्छ । त्यो भनेको देशलाई ऋण लाग्नु र हरेक नेपालीको थाप्लोमा बोझ बढ्नु हो । २२ अर्ब विदेशी ऋण सहयोगमा बनेको एयरपोर्टलाई वित्तीय रुपमा पनि सञ्चालन सफल बनाउने चुनौती छ । त्यो कार्यभार पूरा गर्ने पहिलो दायित्व संघ सरकारको हो ।

उसले भारतसँग कूटनीतिक पहल गरी पोखरा सिधासिधी आउन मिल्ने गरी हवाई मार्ग व्यवस्था गर्नुपर्छ । सिमराको आकाश हुँदैमात्र नेपालमा जहाज भित्रन मिल्ने व्यवस्था अहिले विद्यमान छ । त्यसले गर्दा पोखरा आउने जहाजलाई दुरी लामो पर्छ । गोरखपुरको आकाश प्रयोग भारतसँग कुरा गरी खुलाउनुपर्छ ।

Advertisement

अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न र गराउन भन्सार, क्वारेन्टाइन, अध्यागमनमात्रै होइन श्रम गन्तव्यमा जानका लागि श्रम स्वीकृतिको कार्यालय खोल्न जरुरी छ । जस्तो भैरहवा विमानस्थलमा त्यही समस्याका कारण वैदेशिक रोजगारीमा जानेहरू काठमाडौंकै भर परिरहनुपरेको छ । जसकै कारण त्यो विमानस्थलले अन्तर्राष्ट्रिय यात्रुहरु पाउन सकेको छैन । सुरुमै देखिएको छ कि त्यो विमानस्थल घाटामा जानेछ ।

यस्ता ठूला परियोजनाहरु घाटामा जाने भनेको श्रीलंका जस्तै मुलुक टाट पल्टिनेबाटोमा जानु हो । तसर्थ पोखरा विमानस्थललाई धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने गरी अन्तर्राष्ट्रिय वायुसेवाहरु जोड्न जरुरी छ । धेरैभन्दा धेरै पर्यटक यो विमानस्थलमार्फत पोखरामा ओराल्न सक्दामात्रै पोखरेली सपना साँच्चीकै साकार हुनेछ । पोखरेलीको आशा र अपेक्षा पनि त्यही हो ।

तपाईको प्रतिक्रिया